काम गर्न नसक्नेहरूलाई पदमा बसिरहने छुट छैन : पर्यटनमन्त्री पाण्डे


काठमाडौँ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले काम गर्न नसक्ने कर्मचारीहरूलाई पदमा बसिरहने छुट नरहेको बताएका छन्।

पर्यटन दिवसको अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा उनले आफू पनि काम गर्न नसके एक निमेष पनि मन्त्री भएर नबस्ने बताए।

कोही पनि निकायका प्रमुखहरूले काम गर्न नसके निकायमा बस्ने अधिकार नभएको उनको भनाइ थियो। गार्हस्थ्य उत्पादन (जीडीपीमा पर्यटन क्षेत्रको योगदानलाई बढाउन चाहेको बताउँदै मन्त्रीपाण्डेले निजी क्षेत्र अघि नलागेसम्म मन्त्रालयले कुनै काम गर्न नसक्ने धारणा पनि राखे।

उनले भने, ‘हामी जोजो जुनजुन ठाउँमा छौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको हैसियतले मैले काम गर्न सक्दिनँ भने मलाई यो मन्त्री पदमा बस्ने छुट छैन। कोही पनि निकायको प्रमुख यदि काम गर्न सक्दैन भने त्यसले त्यो निकायमा बस्ने छुट राख्दैन। त्यसका लागि कानुन हेरिरहनुपर्दैन, कुनै व्यवस्था हेर्नुपर्दैन। जनता छ, जनता सार्वभौमसत्ता सम्पन्न छ। सार्वभौम सत्ता जनताले भन्यो भने म मन्त्रीको पदबाट एक निमेष पनि नरहेर निस्किने त्यो नैतिक तागत मैले देखाउनुपर्छ। त्यो दिशामा म सबै निकायका प्रमुखहरूलाई र त्यसमा रहनुभएका साथीहरूलाई पनि आग्रह गर्न चाहन्छु।’