३१ वर्षमै भारानेद्वारा सन्यास


लन्डन
फ्रान्सका स्टार डिफेन्डर राफाएल भारानेले ३१ वर्षमै फुटबल करियरबाटै सन्यासको घोषणा गरेका छन् ।


स्पेनी क्लब रियल मेड्रिड तथा इंग्लिस क्लब म्यानचेस्टर यूनाइटेडका पूर्वस्टार भारानेले चोटका कारण ३१ वर्षमै फुटबलबाट सन्यास लिनु परेको बताए । पछिल्लो समय इटालियन क्लब कोमोमा हारेका उनले नयाँ क्लबमा सुरुआतमै गम्भीर चोट बेहोरेपछि उनले अप्रत्यासित रूपमा फुटबलबाट संन्यास घोषणा गरेका हुन् ।

उनले सार्वजनिक रूपमा यसको जानकारी गराउँदै फुटबलबाट बिदा लिएको पुष्टि गरेका छन् । यूनाइटेड छाडेर केहि समयअघि मात्रै इटालियन क्लबमा अनुबन्ध भएका उनले डेब्यू खेलमै चोट बोकेर मैदान छाडेका थिए ।


स्वास्थ्य परीक्षणपछि भारानेले लामो समय फुटबल खेल्न नसक्ने चिकित्सकले बताएपछि उनले फुटबलबाट बिदा लिने निर्णय गरेका हुन् । भारानेले आफ्नो लामो करियर दौरान फ्रान्सको राष्ट्रिय टिमका साथमा एक विश्वकप जितेका छन् । फ्रान्सको राष्ट्रिय टिमका साथमा उनले ९३ म्याच खेल्दै ५ गोल गरेका थिए ।


क्लब फुटबलतर्फ चार च्याम्पियन्स लिग, चार क्लब फिफा विश्वकप, तीन ला लिगा, तीन युईएफए सुपर कप उपाधि जितेका उनले एफए कप, कोपा डेल रे कप,स्पेनिस सुपर कप र काराबाओ कप एक–एक पटक जितेका थिए । यूनाइटेडमा तीन सिजन बिताएका उनले त्यसअघि रियल मेड्रिडमा लामो समय बिताएका थिए ।

रियलमा उनले १० सिजन बिताउने क्रममा ३६० म्याच खेल्दै १७ गोल गरेका थिए । यूनाइटेडमा उनले ९५ म्याच खेल्दै केवल दुई गोल गरेका थिए ।