हालान्डको १०० गोल

752
Shares

लन्डन ।
म्यानचेस्टर सिटीका लागि नर्वेका स्ट्राइकर अर्लिङ हालान्डले १०० औं गोल गरेका छन् । गत आइतबार भएको आर्सेनलविरुद्धको खेलमा हालान्डले यो उपलब्धि हासिल गरेका हुन् । म्यानचेस्टरमा हालान्डको बसाई मात्र २ वर्ष मात्रै भएको छ र लगातार गोल बर्साएर उनी गोलको सेन्चुरीमा पुगे ।

यस सिजनको प्रिमियर लिगमा हालान्डले ५ खेलमा १० गोल गरिसके । उनले सिटीका लागि प्रिमियर लिगमा ७३, च्याम्पियन्स लिगका लागि १८, एफए कपका लागि ८ र काराबाओ कपका लागि एक गोल गरेका हुन् ।

यसको साथै २४ वर्षीय स्ट्राइकरको करिअर क्लब गोलसंख्या २३५ मा पुगेको छ । यसमा सिटीको मात्रै नभई उनले पहिले खेलेका क्लबहरु र नर्वेका लागि गरेको गोल समेत सामेल छ ।

हालान्ड २०२२ मा ५१ मिलियन पाउन्डमा बोरुसिया डर्टमन्डबाट म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । बुन्डेसलिगामा बोरुसियाका लागि उनले ८९ खेलमा ८६ गोल गरेका थिए । प्रिमियर लिगमा ११ भिन्न क्लबविरुद्ध गोल गरेका उनले वोल्भ्सविरुद्ध सर्वाधिक ११ गोल गरेका छन्

रोनाल्डो र मेसी भन्दा छिटो

शीर्ष लिगमा हालान्ड दुई लिजेन्ड क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीभन्दा छिटो देखिएका छन् । रोनाल्डोले २४ वर्षको उमेरमा स्पोर्टिङ र म्यानचेस्टर यूनाइटेडका लागि गरी कूल ११७ गोल गरेका थिए । उनको तुलनामा हालान्डले २४ वर्षको उमेरमा २७१ खेलमा २३५ गोल गरेका छन् । मेसीले यस उमेरमा २७४ खेलमा १८४ गोल गरेका थिए ।

हालान्डको रेकर्डहरु
—प्रिमियर लिगमा एकै सिजनमा सर्वाधिक गोल गरेको । उनले २०२२–२३ सिजनमा ३६ गोल गरेको ।
—प्रिमियर लिगमा छिटो ५० गोल (४८ खेलमा) गरेको । यसअघि एन्डी कोलले ६५ खेलमा ५० गोल गरेको छिटो रेकर्ड थियो ।
—च्याम्पियन्स लिगमा छिटो ४० गोल (३५ खेलमा) गरेको । यसअघि रूड भान निस्टेलरूएले ४५ खेलमा ४० गोल गरेको रेकर्ड थियो ।