१० वर्षपछि देशभर महजात्रा


ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) लाई दर्शकले दश वर्षपछि एकसाथ पुरानो शैलीको प्रहशनमा देख्न पाउने भएका छन्।

बिहीबार राजधानीमा पत्रकार भेटघाटको आयोजना गर्दै महले महजात्रानामक प्रहसन प्रदर्शनको घोषणा गरेका छन्। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कातिक २९ देखि सुरु हुने कार्यक्रम उपत्यकाबाहिरका विभिन्न स्थानमा मंसिर १८ गतेसम्म चल्नेछ। मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ आयोजना हुने महजात्रा शो काठमाडांैमा १२ र जिल्लामा १२-१३ शो हुनेछन्।

मह जोडी
आफ्ना प्रहसनमार्फत दर्शकलाई भरपुर मनोरञ्जन प्रदान गर्नेछन् भने प्रहसनमा हास्य व्यंग्य कलाकारहरू किरण के.सी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिंम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायतले महलाई साथ दिनेछन्। सुश्री मिडियाले आयोजना गर्न लागेको कार्यक्रममा विशुद्ध मनोरञ्जनात्मक प्रस्तुतिका साथै प्यारोडी गीत तथा नृत्यको समिश्रण रहने कलाकार किरण केसीले जानकारी गराए।

यसअघि नेपालमा सन् २०१४ मा महजात्रा आयोजना गरिएको थियो भने सोहिताका अमेरिकाका ३८ राज्य, क्यानडाका ६, अस्ट्रेलियाका ७ र न्युजिल्याण्डका २ राज्यमा महजात्रा आयोजना गरिएको अभिनेता केसीले जानकारी गराए।‘केही महिनाअघि पनि दर्शकको डिमाण्डमा अस्टे«लियाको ६ र न्युजिल्याण्डका दुई स्टेटमा कार्यक्रम गरेपछि नेपालमा पनि गर्नुपर्छ भनेर शो गर्न लागिएको हो,’ केसीले भने।

दर्शकलाई हसाउ“दै समाजप्रति सोच्न बाध्य पार्ने उद्देश्य लिएको महजात्रा दमक, विर्तामोड, इटहरी, धरान, विराटनगर, हेटौंडा, जनकपुर, वीरगञ्ज, नारायणगढ, बुटवल, भैरहवा, नेपालगञ्ज, धनगढी, पोखरा गायत पूर्वदेखि पश्चिम नेपालका विभिन्न सहरमा आयोजना गरिनेछ।