स्थानीय तह उपनिर्वाचन कार्यतालिका सार्वजनिक


काठमाडौं ।

निर्वाचन आयोगले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।

आयोगका अनुसार २०८१ मंसिर २ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुनेछ भने सोही दिन बेलुका ५ बजेदेखि ६ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुने छ ।

त्यस्तै, उम्मेदवारको विरोधमा उजुरी दिने अवधि मिति मंसिर ३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ । सोही दिनको दिउँसो ३ बजे उपरान्त मंसिर ४ गते बेलुका ५ बजेसम्ममा मनोनयनपत्र र उजुरीउपर जाँचबुझ एवम् निर्णय गरी मंसिर ४ गते बेलुका ५ बजेदेखि ६ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

मंसिर ५ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिने छ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ बजेदेखि ५ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम रहेको आयोगले जनाएको छ ।

निर्वाचन कार्यक्रमअनुसार मंसिर १६ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा मतदान हुनेछ र मतदान शुरू हुनुभन्दा ४८घण्टा अगाडि मंसिर १३ गते राति १२ बजे पछि प्रचार प्रसार निषेध अवधि लागू हुने आयोगले जानकारी दिएको छ ।