कर्मचारी नै उपाध्यक्षका लागि लबिङ गर्दै

काफ्लेको दौडधुप तीब्र

564
Shares

काठमाडौं ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)को उपाध्यक्षमा १३ जनाले आवेदन दिएका छन् । आवेदन दिएका मध्ये दुई जना बहालवाला कर्मचारी रहेका छन् । त्यस्तै, चारजना पूर्व कर्मचारीले समेत उपाध्यक्षका लागि निवेदन दिएका छन् ।

आवेदन दिएका सबैको शनिवारबाट कार्ययोजनासहितको सोचपत्र प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । सबैको मन्त्रालयमा प्रस्तुतीकरण हुने बताइएको छ । समितिका अनुसार आवेदन दिनेमा टैलेन्द्रप्रसाद आचार्य, ओमप्रसाद बराल, डा. कुस्माकर भट्ट, राजबहादुर गिरी, भुवनेश्वर ढुंगाना, मिस्टरकान्त मैनाली छन् । त्यस्तै, जीवनारायण काफ्ले, हरीशंकर प्रसाद साह, डा. ज्ञानबहादुर थापा, डा. महेन्द्रप्रसाद भट्ट, शौरभराज जोशी र विमला भट्ट रहेका छन् । आवेदन दिनेमा सीटीईभीटीका कर्मचारी टैलेन्द्र आचार्य र भुवनेश्वर ढुंगाना रहेका छन् । आचार्य यसअघि निर्देशक हुनुहुन्थ्यो ।

सम्बन्धन दिँदा आर्थिक लेनदेन भएको आशंका भएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले उहाँलाई अनुसन्धान निर्देशकमा सरुवा गर्नुभएको थियो । त्यसपछि उहाँ कार्यालय आउनुभएको छैन । आवेदन दिनेमा पूर्वकर्मचारी कुस्माकर भट्ट, मिस्टरकान्त मैनाली, शौसभराम जोशी र पूर्व सदस्य सचिव जीवनारारण काफ्ले रहेका छन् ।

सीटीईभीटीलाई अस्तव्यस्त बनाएको आरोप खेप्दै आउनु भएका काफ्ले दुई महिनादेखि उपाध्यक्षको दौडमा हुनुहुन्छ । उहाँ हाल एमाले नेता पद्मा अर्याल, नेपाली कांग्रेसका गोपालमान श्रेष्ठ र अर्थमन्त्री विष्णु पौडेलकहाँ धाइरहनुभएको छ ।
सबै राजनीति दलसँग पहुँच राख्न सक्ने काफ्लेले सबै दलका नेताको घर पुगी सक्नुभएको छ । उहाँ आफूबाहेक अरू उपाध्यक्ष हुनै नसक्ने भन्दै सबै कमजोर भएको बताउने गरेको सीटीभीटीका एक कर्मचारीले जानकारी दिनुभयो । उहाँ उपाध्यक्ष भए सीटीईभीटीको अस्तित्व नै खतरामा पर्नेसम्मको सम्भावना रहेको ती कर्मचारीले दाबी गरे ।

आर्थिक चलखेलको कारण संस्थालाई धराशयी बनाएको आरोप लागेका काफ्ले उमेर हदको कारण साउन ४ गते अवकास पाइसक्दा पनि मन्त्रिपरिषद्ले आफूलाई ४ वर्षका लागि नियुक्ति गरेको भन्दै कानुनी आडमा केही समय सदस्यसचिवमा निरन्तर काम गनुभएको थियो । उपाध्यक्षमा आवेदन दिनुभएका राजबहादुर गिरी सीटीईभीटीको सम्बन्धनमा रहेको निजी संस्था काठमाडौं ट्रेडिङ सेन्टरका सञ्चालक हुनुहुन्छ ।
आवेदन दिएकामध्ये पहिलो नम्बरमा डा. खेमराज जोशी रहनुभएको छ । त्यस्तै, अघिल्ला उपाध्यक्ष खगेन्द्र अधिकारीको साउनमा कार्यकाल सकिएपछि उपाध्यक्ष मनोनयन सिफारिस समितिले खुला प्रतिस्पर्धाबाट छनोटका लागि भदौमा आवेदन माग गरेको हो ।
उपाध्यक्ष हुन राजनीतिक दलको सदस्य नभएको र सीटीईभीटीबाट सम्बन्धन प्राप्त संस्थाको सञ्चालक समितिमा नरहेको हुनुपर्ने छ । उपाध्यक्षका उम्मेदवारले सीटीईभीटीको बारेमा ५ हजार शब्दमा कार्य योजनासहितको सोचपत्र पेस गरिसकेको छ ।
उपाध्यका लागि स्नातकोत्तर गरेको, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको क्षेत्रमा कम्तीमा १५ वर्ष काम गरेको, ४० वर्ष पूरा भई ६० वर्ष उमेर ननाघेको व्यक्तिले आवेदन दिन सक्ने व्यवस्था रहेको छ ।

साथै प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमका क्षेत्रमा विद्यावारिधिको उपाधि हासिल गरेको, सरकारी क्षेत्र, विश्वविद्यालय परिषद् वा सार्वजनिक क्षेत्र, प्रतिष्ठान वा अन्य कुनै क्षेत्रमा व्यवस्थापकीय पदको जिम्मेवारीमा रहेको, सार्वजनिक पदमा मनोनयनका लागि अयोग्य नभएको, परिषद्सँग कुनै स्वार्थ नबाझिएको हुनुपर्ने व्यवस्था छ । त्यस्तै, सहसचिव वा सोसरह, त्योभन्दा माथिल्लो पद, सीटीईभीटीको उपाध्यक्ष, सदस्य सचिव, निर्देशिकले पनि उम्मेदवारी दिन सक्नेछन् । सोही व्यवस्थाअनुसार सीटीईभीटीका निर्देशक आचार्य, मैनाली र ढुंगानाले निवेदन दिनुभएको हो ।