कांग्रेसले थाल्यो सय दिने सांगठनिक अभियान

2.44k
Shares

काठमाडौं ।

सत्ताको प्रमुख सहयात्री दल नेपाली कांग्रेसले सय दिने संंगठन व्यवस्थापन, विस्तार र जनजागरण अभियान बिहीबारदेखि शुरू गरेको छ । सरकारका काम कारबाहीलाई प्रभावकारी बनाउँदै मन जितेर आगामी निर्वाचनमा पहिलो दल कायमै राख्नुपर्ने चुनौतीलाई ख्याल गर्दै कांग्रेसले बिहीबार बाट शुरू गरेको सय दिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्यहरूलाई जिम्मेवारीसहित खटाएको हो ।

पछिल्लोपटक जनतामाझ पार्टीको साख खस्कदै गएको छ । नयाँ दलहरूको हल्ला र प्रचारबाजीकाबीच संगठनमा क्षयीकरण भइरहेको कुरालाई समेत मध्यनजर गर्दै पार्टीले केन्द्रीय तहका नेता खटाएर भूगोलको संगठन बलियो बनाउने रणनीति लिएको हो । पार्टीका सञ्चार सूचना तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले तय गरेको सय दिनको अभियानका लागि प्रतिनिधि खटाइसकेको जानकारी दिनुभयो ।

विश्वकर्माले नेपाल समाचारपत्रसँग भन्नुभयो–‘यो अभियानमा जिल्ला तहमा पार्टीभित्र देखिएको विवाद मिलाउने, समसामयिक राष्ट्रिय राजनीतिबारे जिल्ला तहका नेता कार्यकर्तालाई प्रशिक्षित गर्ने, भ्रातृ तथा सुभेच्छुक संस्थामा विवाद भए मिलाउने, उनीहरूलाई विश्वासमा लिएर पार्टी हितमा परिचालन गर्ने, जिल्ला, क्षेत्र तथा पालिका तहमा पदाधिकारी रिक्त भए रिक्त भएको पद पहिलेकै प्रक्रियाबाट पूर्ति गर्नेसहितका काम हुनेछ ।

भूगोलमा खटेका प्रतिनिधिले संंगठन व्यवस्थापन, विस्तार र जनजागरणको काममा सहजीकरण गर्ने र संगठनलाई मजबुत बनाउने छ ।’ यसका लागि पार्टीले अधिकांश केन्द्रीय सदस्यहरूलाई पत्रसहित आफू खटिएको जिल्लामा गएर गर्नुपर्ने कार्यादेश (टीओआर) र आवश्यक अध्ययन सामग्री दिइसकेको छ । अभियानमा खटिएका प्रतिनिधिले कांग्रेसबाट निर्वाचित भएका स्थानीय तहहरूलाई उनीहरूको अडिटसहित सुधारका सुझावहरू दिने, जनताका पक्षमा भएका कामको अध्ययन मूल्यांकन गर्ने र स्थानीय मुद्दामा उनीहरूको चासोबारे जानकारी लिने तथा पार्टीका तर्फबाट आवश्यक सुझाव एवं निर्देशन दिने कार्यादेशसमेत प्राप्त भएको जनाएका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीभित्र देखिएका बैमनश्यता र गुटगत राजनीतिलाई खुम्च्याउन यो अभियानले सहयोग पु¥याउने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पार्टीले थालेको यो अभियानले गुटबन्दी अन्त्य गर्ने, निष्क्रिय रहेका पार्टीका साथीहरूलाई सक्रिय बनाउने, नागरिकका समस्याहरू बुझ्ने, पार्टी सत्तामा रहँदा गर्न नसकेका काम र जनगुनासाहरूलाई समेट्ने काम हुन्छ । पार्टीभित्र मौलाएको गुटगत राजनीतिलाई निष्क्रिय गर्दै गुटभन्दा पार्टी ठूलो हो भन्ने सन्देश दिन पनि यो अभियानले काम गर्नुपर्छ ।’

आगामी पौष १६ सम्म चल्ने उक्त अभियानमा खटिएका प्रतिनिधिले दशैं तिहारसहितका चाडपर्वसमेत फिल्डमै मनाउनेछन् । यद्यपि, चावपर्वका लागि १० दिन कटाएर बाँकी ३ महिनाको पूरा समय भूगोलमै बिताउनुपर्नेछ । अभियानमा पार्टी पदाधिकारी र मन्त्रीबाहेक केन्द्रीय सदस्यहरू ख्टिएका छन् ।, यो अभियानमा सांसदहरूलाई भन्दा केन्द्रीय सदस्यमात्रै रहेका नेताहरू बढी छन् । संसदीय समितिका सभापति र संसद्मा महत्वपूर्ण भूमिका खेल्ने सांसद तथा पार्टी पदाधिकारीले सत्ता सञ्चालनमासमेत सहयोग गर्नुपर्ने भएकाले केन्द्रीय समितिलाई संगठन विस्तारमा खटाइएको सहमहामन्त्री जीवन परियारले बताउनुभयो ।


केन्द्रीय प्रतिनिधिले स्थानीय तहका जनप्रतिनिधि र जिल्ला तथा पालिका तहको पार्टीसँग समन्वयका लागि आवश्यक सहजीकरणसमेत गर्ने छन् । त्यसबाहेक स्थानीय तहका जनप्रतिनिधिहरूलाई पार्टी विधान र केन्द्रीय समितिको निर्णयअनुसार बुझाउनुपर्ने लेबी बुझाउन पनि निर्देशन दिने छन् ।