३० लाख असुल्ने प्रहरी निरीक्षक शाहीमाथि मुद्दा चलाउने तयारी

शाहीसँगको मिलेमतोमा तय भएको थियो ठगी धन्दा

13.16k
Shares

काठमाडौं ।

प्रहरी निरीक्षक बिनुकुमारी शाहीमाथि हनीट्रयाप गिरोहसँगको मिलेमतोमा ३० लाख असुल गरेको अभियोगमा प्रहरीले अनुसन्धान शुरू गरेको छ ।

ललितपुरको भैंसेपाटीमा रहेको प्रहरी प्रभागमा कार्यरत शाहीले अपराधी गिरोहसँग मिलेर रकम लिएको पुष्टि भएपछि जिम्मेवारी खोसेर अनुसन्धान शुरू गरेको प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ । शाहीकै योजनामा एक युवकलाई बलात्कारको मुद्दामा फसाउने भन्दै ३० लाख लिएको पुष्टि भएपछि कारबाही अघि बढाउन लागेको प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले जानकारी दिनुभयो ।

उपत्यका प्रहरी कार्यालय रानिपोखरी तानिएकी शाहीलाई निलम्बन गर्न सो कार्यालये सिफारिस गरेको छ । उपत्यका प्रहरी कार्यालयले निलम्बनले मात्र नहुने भन्दै थुनामा राखेर अनुसन्धान गर्नुका साथै मुद्दा नै चलाउने तयारी गरेको छ । उपत्यका प्रहरी कार्यालयले शाहीको मोबाइल नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरेको छ । प्रहरीका अनुसार ललितपुरका जग्गा व्यवसायी केही समयअघि इटहरी पुगेका थिए । त्यही बेला हाल ललितपुर प्रहरीको थुनामा रहेकी युवती सुष्मा विकसँग इटहरी र इलाम घुमफिर गरेका थिए । घुमफिरका साथै होटेलमा सँगै बसेका थिए ।


सुष्माले जग्गा व्यवसायी युवा पैसावाल भएको थाहा पाएपछि फसाउने योजना बनाएकी थिइन् । ती युवालाई फसाउने योजनामा रहेकी सुष्माले हनिट्रयापको योजनाकार दर्शन पोखरेललाई जानकारी गराएपछि उनीहरूले ती युवाबाट मोटो रकम असुल गर्ने योजना बनाएका थिए । सोही योजना मुताविक ती युवासँग ५ करोडबाट बार्गेनिड गरेका थिए । त्यसका लागि उनीहरू इलाका प्रहरी कार्यालय इटहरीसमेत पुगेका थिए ।

त्यहाँको प्रहरीले उनीहरूको कुरामा पत्यार नलागेपछि फर्काइ दिएको थियो । उनीहरू दुवैजना काठमाडौं फर्किएपछि ताज स्लामसँग भेटेर ती व्यवसायीलाई फसाउने योजना बनाएका थिए । काठमाडाैं आएका दर्शनले सुष्मा र आफूले चाल्न लागेको योजना बताएका थिए । त्यपछि ताजले भैंसेपाटी प्रहरी प्रभागकी प्रमुख शाहीलाई प्रयोग गरेर रकम असुल गर्ने र उक्त रकम बाँडेर खाने योजनासमेत बनाएका थिए ।

बलात्कारी भनिएका ती युवासँग रकम बार्गेनिड गर्ने र त्यसरी आएको पैसा इन्सपेक्टर शाहीलाई आधा दिने सहमति भएपछि शाहीले सुष्मालाई प्रयोग गरेर ती युवालाई कार्यालय बोलाएर बार्गेनिङ गरेर ३० लाखमा सहमति गरेको योजनासमेत परिसरले पत्ता लगाएको छ । त्यसमा इन्सपेक्टर शाहीको प्रत्यक्ष संलग्नता रहेको फेला परेको थियो । उक्त कुराको छानबिन गर्न प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीको संयोजकत्वमा छानबिन समितिसमेत बनिसकेको छ ।