नेपालको पर्यटन : हिजो र आज

376
Shares

देशले हरेक वर्ष असोज ११ गते पर्यटन दिवस मनाउँछ तर पर्यटन क्षेत्रलाई वृद्धि गर्ने मनसायले खुलेका यहाँका दुई ठूला विमानस्थलहरु खासै सञ्चालनमा आउन सकेका छैनन्। पोखरा र भैरहवामा निर्माण भएका यी नवनिर्मित विमानस्थलका लागि छोटो दूरीको रुट पर्मिट छिमेकीले दिएको छैन।

हालै मात्र पनि दिल्लीमा सम्बद्ध दुवै पर्यटनमन्त्रीहरुको भेटघाट भयो, कुराकानी पनि भयो तर आश्वासन मात्रै प्राप्त भएको छ । धेरै पर्यटक आएका छन् यहाँ तर तिनको औसत बसाइ र यहाँ गरिने खर्चमा वृद्धि हुन सकेको छैन । अथवा भनौँ नेपालीहरु विदेशिएर उतै गर्ने खर्चमा भने बढोत्तरी भएको छ।

वास्तवमा पर्यटन, टुरिस्ट, पर्यटक, टुरिजम आदि फ्रेन्च शब्द हो। १९ औं शताब्दीदेखि यो शब्दले प्रश्रय पाएको हो। पर्यटक भनौँ वा टुरिस्ट शब्द लेटिन भाषा हो, कुनै काम वा उद्देश्यले मुलुकभित्र वा बाहिर घुम्न जाने व्यक्ति वा समूह भनेको पर्यटक हो। पर्यटक आन्तरिक र बाह्य दुई थरीका हुन्छन्। पर्यटन भन्नु र पर्यटक भन्नु पर्याय हुन्। डब्लु.टी.ओ.को परिभाषामा स्वदेश वा विदेशमा बिदा, बिजनेस वा कुनै मिसनले भ्रमण गर्नेलाई पर्यटक भनिन्छ । समय भने १ देखि सय दिनसम्मको बसाइको उद्देश्य हुन्छ।

भ्रमणको क्रम वि.सं. १९०६ मा श्री ३ जंगबहादुर राणाको बेलायत यात्रा, उनका टिममा ५० औं जना यात्रु रहेका र त्यसपछि भारत–नेपाल, बेलायतमा दूतहरुको आदान–प्रदान भएको पाइए पनि वि.सं. २००७ सम्म नेपालले बाह्य क्षेत्रमा ठूलो प्रगति हासिल गरेको देखिँदैन । वि.सं. २००८ मा नेपाल विश्व पर्यटन संघको सदस्य बनेको र वि.सं. २०१४ मा पर्यटन बोर्ड, वि.सं. २०१६ मा पर्यटन निर्देशनालय, वि.सं. २०१८ मा पर्यटन विभाग, वि.सं. २०२८ मा पर्यटन विकास समिति, वि.सं २०३३ मा पर्यटन मन्त्रालय, वि.सं. २०३५ मा पर्यटन ऐन, वि.सं. २०५२ मा पर्यटन नीति आउनुले सांगठनिक स्वरुपको इतिहास तय हुँदै आएको हो।

पर्यटन क्षेत्रलाई वृद्धि गर्ने मनसायले खुलेका यहाँका दुई ठूला विमानस्थलहरु खासै सञ्चालनमा आउन सकेका छैनन्। पोखरा र भैरहवामा निर्माण भएका यी नवनिर्मित विमानस्थलका लागि छोटो दूरीको रुट पर्मिट छिमेकीले दिएको छैन। हालै मात्र पनि दिल्लीमा सम्बद्ध दुवै पर्यटनमन्त्रीहरुको भेटघाट भयो, कुराकानी पनि भयो तर आश्वासन मात्रै प्राप्त भएको छ।

मुलुककोे चौधौँ योजनाको अन्त्यसम्म विदेशी पर्यटक आगमनको संख्या १२ लाख पुर्‍याउने, विदेशी पर्यटकको बसाइ अवधि सरदर १५ दिन पुर्‍याउने, सरदर दैनिक खर्च ६० अमेरिकी डलर पुर्‍याउने लक्ष्य थियो। हिमाली, पहाडी र तराईका भौगोलिक विविधता, समुद्र सतहदेखि ७० मि. मात्रको उचाइ पनि यहीँ रहेको र विश्वका दुर्लभ पाटेबाघ, काँडेभ्याकुर, धेरै प्रजातीका चरा, जीवित देवी कुमारी र असंख्य चाडपर्व, जात्राहरुले नेपाल र नेपालीको छुट्टै चिनारी दिएको छ । हालसम्मका योजनाहरुले यसलाई निरन्तरता दिएका छन् तर देशको मौसमलगायत यहाँका पूर्वाधारहरुले विदेशीहरुलाई गिज्याइरहेका छन्, भयंकर दुर्घटना, विपत्ति, हवाई र स्थलमार्गहरुप्रति हाम्रो नेतृत्व बेखबर छ ।

धेरै पर्यटक आउने काठमाडौँ एयरपोर्टबाटै हो । यसको पुरानो नाम गौचर मैदान हो, जहाँ गाईवस्तुहरु चराउँथ्यौँ हामी, अहिलेको नेतृत्व काठमाडौँ पसिसकेको थिएन । सन् १९४९ मा यो हवाई मैदानमा परिणत भयो । अहिले यो सुन तस्करीको केन्द्र र सहकारीका ठेकेदारहरुलाई मलेसिया पठाउन केन्द्रित छ, मात्रै होइन घरगोठ खाली गराएर दैनिक हजारौँ युवा निर्यात गर्ने स्थल बनेको छ, युवा रोजगारीको फोस्रो नारा दिने लोकतन्त्रले गत आ.व.मा मात्रै पनि ७ लाख नेपालीलाई निर्यात गरेको छ, यो श्रावणमा मात्रै पनि ६० हजारलाई । तिनले पठाएका रकमले यहाँ चिल्ला गाडी चढ्ने गरेका छन् राजनीतिक कार्यकर्ताहरु, अनि विदेशमा मर्ने नेपालीहरु धेरै आत्महत्याका छन् । सुन्दर देशलाई लोकतन्त्रले कुरुप बनायो भन्दा कुनै अत्युक्ति हुन्न र यहाँको दैनिक खाद्यान्नलाई विदेशीले कोटा तोक्ने गरेका छन्, यहाँ तारे होटलको संख्या बढेको छ तर खासै प्रयोेगमा देखिन्न । यहाँ अवतरण भएको पहिलो विमान वीच क्राफ्ट बोनान्जा हो । यहाँबाट उडेको पहिलो विमान सन् १९५० को फेब्रुअरी २०, हिमालय एभिएसनको डकोटा हो, जसले कोलकाताको लागि उडान भर्‍यो । सन् १९५५ मा राजा महेन्द्रले यहाँको औपचारिक उद्घाटन गरे, अहिले विश्व विद्यालय, एकेडेमी, दलको पार्टी प्यालेस भएझैँ यो विमानस्थल पनि दलको भर्तीकेन्द्र भएको छ।

सन् १९६४ मा यसको नाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भयो । सन् १९६७ मा जर्मनीको लुफ्थान्सा एयरलाइन्सको बोइङ ७०७ जेट पहिलो अवतरण भयो यहाँ । सन् १९७२ देखि मात्रै यो विमानस्थल व्यापारिक प्रयोजनमा आयो। यसको कुल यात्रु क्षमता ९२ लाख हो र सन् २०१८ सम्ममा ७२ लाख यात्रुले सेवा लिएको तथ्यांक छ। कोभिडमा यो थला पर्‍यो । पंक्तिकार यो क्षेत्रको भुक्तभोगी हो र पुरानो बानेश्वर भीमसेनगोला हुँदै हालको एयरपोर्टबाट सीधै काँडाघारी निस्केर भक्तपुरको यात्रा तय गरिन्थ्यो । धेरै त पैदल नै। विमानस्थलको नाकैमा अस्ति श्रावणतिर विमान जल्यो, धेरैको रामनाम सत्य भयो । ३४–३५ सालतिर कोटेश्वरको बस्ती उठाइयो। विमानस्थलको क्षेत्र व्यापक भयो र त्यहाँका बासिन्दा नयाँ बस्ती वा हालको कपनतिर विस्थापित भए। हाल देशमा ३ नेपालीसहित अन्य ३ वटा वायु सेवाका कम्पनीहरुले अन्तर्राष्ट्रिय उडान भर्ने गरेका छन् यहाँबाट। आन्तरिकतर्फ दुईतर्फी दैनिक २७० वटासम्म उडानमार्फत १४ हजार बढी यात्रुले सेवा लिँदै छन्। गतवर्षको दशैँदेखि ७३ वर्षको इतिहासमा विमानस्थल पूर्ण क्षमतामा सञ्चालित भनियो, रातमा निद्रा बिगार्ने गरी कराउँछन् जहाजहरु हिजोआज यहाँका।

पर्यटन विस्तारकै लागि वायु सेवा निगमले विमान किन्ने भन्छ, तर उसलाई अहिले नै ४८ अर्ब बढीको ऋणभार छ । उडान नियमित र भरपर्दो छैन, भाडादर महँगो छ । राजनीतिले यसलाई खोक्रो बनाइसकेको छ । निजी विमान नाफा नआउने भए चल्न मान्दैनन् । एसियाको ढोका भनिएको थाइल्यान्डको थाई एयर र हाम्रो एनए एकैपल्ट आएका हुन् तर थाई एयर संसारभरि चराझैँ लगातार उडिरहन्छ । यता भने आइकाओको सुरक्षा सूचीबाट नेपाल हटेको भनिए पनि युरोपेली संघ (इयु)को कालो सूचीबाट हट्न सकेको छैन । वातावरण प्रदूषणमै सहयोगी हुने बारामा अर्को विमानस्थल बनाउन पाइएन भनेर रोइलो गर्दै छन् नेताजीहरु, २४ लाख बढीको रुख नै कटान हुन्छ त्यहाँ एयरपोर्ट बनेमा । विदेशी आयात, स्वदेशी निर्यात, यही गोलचक्करमा फसेको छ हाम्रो लोकतन्त्र ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटनकै क्रममा विमान दूर्घटना भयो। दर्जनौँ यात्रुहरुको अवसान भयो । विमानस्थल बन्ने होडबाजी छ । देशैभरि ५३ विमानस्थलमध्ये २० वटा त सञ्चालनमै छैनन्। चलेको विमानस्थलबाट पनि २–४ जना यात्रु लिएर विमान उडेको अवस्था छ। विमानस्थलसम्म पहिले त सडककै पहुँच छैन। विराटनगर विमानस्थलको ४० कि.मि. दूरीमा धरानमा विमानस्थल बनाउने नेताहरुको प्रतिस्पर्धा सुनिन्छ। वाग्लुङलगायत दुर्गममा नियमित उडान छैन। जहाजहरु नचल्दै जीर्ण बन्ने गरेका छन्। रेल ल्याएर घुम्टो ओढाएर राखियो। चल्न थाल्दा घाटामा गएको छ । कन्चनपुर, दीपायलको विमानस्थलमा वस्तु चरेको पंक्तिकारले प्रत्यक्ष देखेकै हो। आन्तरिकमा निजीहरुका १५ बढी विमानहरुले यात्रु ओसारपसार गरे पनि सधैँ यात्रु पर्याप्त छैनन्। धनगढी–काठमाडौँको टिकट काठमाडौँ दिल्लीभन्दा महँगोमा यात्रा गरेको पंक्तिकारकै अनुभव छ। त्यो पनि भनेको बेला टिकट नपाएर तलबाटै आतेजाते धेरैपल्ट गरिएको हो ।

भैरहवाको कुरा गर्दा वि.सं. २०२३ फागुन १७ गते युवराज वीरेन्द्रले भैरहवा विमानस्थलको उद्घाटन गरे । अढाइ वर्षअघिदेखि यो गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भएको छ। पहिले भारतीय सहयोगमा बनेको हो यो । ०७१ माघमा प्र.म. सुशील कोइरालाबाट उद्घाटित यो विमानस्थल ०७४ पुसमै बनिसक्नुपर्ने थियो तर ०७९ असारमा मात्रै पूरा भयो, ५ वर्षपछि। एडीबीको ऋण सहयोगमा निर्मित यो विमानस्थल चिनियाँ कम्पनी नर्थ वेष्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सनबाट बनेको हो । शुरु लगानी अनुमान ६ अर्ब २२ करोड हो, जग्गा मुआब्जामै २३ अर्ब खर्चियो । सम्पन्न हुँदा ८ अर्ब ८२ करोड लाग्यो। यसका वरिपरि धेरै होटलहरु छन्। बजार थापेर बसेका तिनले नै ४० अर्ब बढी खर्चिए रे । समग्रमा त्यस आसपासको ६० अर्ब लगानी डुब्न लाग्यो। विमानस्थल सञ्चालनमा आएन भन्दै गतवर्ष नारा, जुलुस, धर्ना सबैथरी भयो।

उद्घाटनको डेढ वर्षमा ४२४ मात्र उडान भयो । विमानस्थलकै आम्दानी नगन्य रह्यो र अहिले पनि सिमराको आकाशबाट भैरहवा, पोखरा जाने गरेका छन् विमानहरु लामो दूरी पार गर्दै । छिमेकीसँग कुरा गर्ने साहस भएन हाम्रो । देशमा संघीयता, गणतन्त्र आएदेखि कुनै उद्यमी व्यवसायी सुरक्षित नभएको धेरै केसहरु छन् । भद्दा राजनीति घटाऊ भन्दै दैनिक सडकमा विरोध छ । इन्द्रजात्रामा महानगर प्रमुख उपस्थित भएनन् । विगतमा उनले विदेशी पर्यटकसमेत राखेर कुमारी जात्रा भव्यरुपमा सञ्चालन गरे। यस वर्ष उनका समर्थकलाई प्रहरीले नियन्त्रणमा लियो । सिंहदरबार र काठमाडौँको दूरी धेरै बढेको छ । शायद संघीयताको असल नमुना होला यो।

अन्त्यमा, आइकाओ भन्छ– नेपालको हवाई यात्रा सुरक्षित हुनुपर्छ । १० वर्ष बढी भयो आइकाओले समय दिएको, अल्टिमेटम नै थियो। सन् २०१३ देखि नै उसले भनेको हो, हवाई उडानको विश्वव्यापी मान्यता, मापदण्ड र तिनको सुरक्षा । ईयुले त युरोप उडान निषेध नै गरेको छ। कालो सूचीबाट हटेको छैन। हाम्रो सुरक्षा चासो कम रह्यो। उडानमा अनियमितता, सुरक्षा प्रणाली भरपर्दो नभएको, यसमा निजी कम्पनी पनि दोषी रहे। नियमन गर्ने निकाय हवाई उड्डयन प्राधिकरण नै गम्भीर बनेन। पहिले यो हवाई विभाग थियो, अब स्वतन्त्र भनिएको प्राधिकरण बनेको पनि दशकौँ भइसक्यो। नियमन गतिलो रहेन। उडानसम्बन्धी कमजोर नीति र उडानको योग्यतामै प्रश्न खडा भइरहेको छ।

कालो सूचीबाट हट्ला भन्ने अनुमान थियो, तर छैन । सानो देश सिंगापुरको अन्तर्राष्ट्रिय चाँगी विमानस्थल र त्यहाँका गगनचुम्बी महलहरूले विश्वकै मन खिचेको छ । छिमेकी हङकङ शहर र न्यूयोर्कको म्यानहाटभन्दा कम छैन सिंगापुर । इजरायल कृषिमा कति अब्बल छ । अमेरिकामा चरासरि हवाईजहाज उडिरहन्छन् । तर कीर्तिमानी आरोही, अक्सिजनविना नै १० पटकसम्म सगरमाथा आरोहण गर्र्ने सोलुका हिममानव आङ्रिता शेर्पालगायत पर्यटनमन्त्रीकै हवाई दुर्घटनाबाट मृत्यु हुने देश हो हाम्रो । हवाई दुर्घटना सबै बताउँदा आङ जिरिङ्ग गर्छ । यति भनौँ, महाभूकम्पभन्दा कम छैन यो । प्राकृतिक र मानवनिर्मित घटना बढेका छन्, यसमा नेतृत्वको चासो हुनुपर्छ ।