संगीतमा फरक स्वाद दिँदै वाग्ले


काठमाडौं ।

नेपाली सांगीतिक आकाशमा फरक शैलीको संगीत सिर्जनात्मक क्षमताबाट छुट्टै पहिचान बनाएका छन् संगीतकार विपी वाग्लेले। शास्त्रीय एवं आधुनिक संगीतलाई आत्मसात गर्दै गुणात्मकतामा बढी जोड दिँदै आएका वाग्लेको सांगीतिक सिर्जनाले हिजोको अडियो भिडियोदेखि पछिल्लो समयको डिजिटल बजारसम्म फरक छाप छोड्न सफल भएको छ।

सन् २००६ मा भारतको नयाँ दिल्लीस्थित गन्धर्व महाविद्यालयबाट शास्त्रीय संगीतको प्रारम्भिक शिक्षा लिई सन् २०१० देखि भारतीय साँस्कृतिक केन्द्र, काठमाडौंमा शास्त्रीय संगीत तथा सुगम संगीतको प्रशिक्षण लिएका उनले गुरु पण्डीत ईन्दुप्रकाश त्रिवेदीबाट शास्त्रीय तथा सुगम संगीतको शिक्षा हासिल गरेका थिए।

त्यसो त बर्दियाको साविक जमुनी गाविस वडा नं. ७ ठुलो डाँफेमा २०४१ सालमा जन्मिएका वाग्ले सानैदेखि संगीतमा रुचि राख्थे। विद्यालयस्तरमा हुने सांस्कृतिक प्रतियोगितामा नयाँ शब्द लेखेर संगीत भर्ने र प्रस्तुति दिँदै पटकपटक उत्कृष्ट प्रतिभाको पुरस्कारसमेत जित्थे। उनी २०५९ सालमा बाँकेको नेपालगञ्जमा अवस्थित वेभ डिजिटल रेकर्डिङ स्टुडियोको प्रथम वार्षिकोत्सवको अवसरमा मध्यपश्चिमाञ्चल क्षेत्रव्यापी आधुनिक गीत प्रतियोगीतामा गायनतर्फ द्वितिय स्थान प्राप्त गर्न सफल भएका थिए।

०५९ सालबाट औपचारिक रुपमा सांगीतिक यात्रा अगाडि बढाएका उनले २०६० सालमा नेपालगञ्जमा आफ्नै संगीत, स्वर र शब्दमा पहिलोपटक यात्रा नरोज मसँग बोलको आधुनिक रेकर्ड गराएका थिए। पहिलो गीतबाटै चर्चा पाएपछि संगीतकार वाग्लेले विभिन्न कार्यक्रममा आफ्नो सिर्जना र प्रस्तुति दिने सुअवसर प्राप्त गरे। २०६७ सालमा सार्वजनिक मेरो देश, हे आमा किन तिम्रो बोलको देश भक्तिगीतले राष्ट्रिय स्तरमै चर्चा पाएपछि उनले कलेक्सन एल्बमका दर्जनौं गीतमा संगीत भर्न थाले। कतिपयमा आफैँले स्वर पनि दिए।

पहिलो म्युजिक एल्वमस्वरुप २०६९ सालमा मधुर बचन बजारमा ल्याएका वाग्लेले पृथक र नविनतम शैलीका सयौं गीतमा फरक–फरक स्वाद दिएका छन्। शब्द रचनाको भाव तथा मर्मलाई नमर्ने गरी संगीत सिर्जना गर्ने क्षमता राख्ने उनले आधुनिक, राष्ट्रिय भाव, लोक दोहोरी, पप, फिल्मी, सेमी क्लासिकल, भजन, बालगीत तथा सूचना सन्देशमूलक गीतमा फरक शैलीका सगीत भर्दै आएका छन्।

म छहारी हूँ तिम्रो, यो ज्यान मेरो नेपाल, आजभोली आउँदिनौं तिमी, बरिलै माइतीकै याद आको, कोरेर मिठा भावहरु, बनौँ सहारा, सबै मिली बनाउँ साक्षर नेपाल, मेरो प्राण तिमी नै, पक्कै अब बन्नेछ, साक्षर नेपाल, हामी खेलाडी, रारा ओ रारा, अशान्तमा म थिएँ, आऊआऊ साथी हामी नेपाल हेर्न जाउँ, जता जान्छु केहि सिक्छु, आकाशमा हेर साथी, आऊ साथी भेट्न जाऊँ प्यारा फुललाई, आजका हामी बालक, गाई पाली भैँसी पाली, तिम्रो यादमा, सञ्जोगले भेटेको फेरी, ख्यालै ख्यालैमा हजुर भैयो बन्धकी, म म नै रहन्, म त हजुर भै गए प्रदेशी, सिकाइदेउ न पिरतीको मलाई बाह्रखरीलगायतका गीत यसका उदाहरण हुन्।

त्यस्तै रेडियो जिंगल, विज्ञापनलगायतका विविध विधामा उत्तिकै न्याय दिँदै आएका उनले नेपालीका साथमा भोजपुरी, मैथली, हिन्दी, नेवारीलगायतका भाषाभाषीका गीतमा समेत संगीत भर्दै आएका छन्। शिक्षा, युवा तथा खेलकूद, पर्यटन, कृषि, महिला तथा बालबालिकालगायतका लागि आफ्नो संगीत सिर्जना मार्फत सामाजिक जागरण रुपान्तरण र सचेतनासँगै सन्देश प्रवाह गर्ने उनले खोज र अनुसन्धानपछि बालगीतमा संगीत भरेर एनिमेटेड कार्टुन भिडियो सार्वजनिकसमेत गरेका छन्।

उनको गीत संगीतप्रतिको नविनतम खोज र अनुसन्धानको कदर गर्दै विभिन्न संघ संस्था एवम् नेपाल सरकारले उनलाई सम्मानित र विभूषित गरेको छ। वाग्लेले संगीतमा पुर्‍याएको योगदानको कदरस्वरुप तेस्रो राष्ट्रिय रापती म्युजिक अवार्ड २०७०, शिखर सम्मान–२०७५, मिडिया ल्याव प्रोडक्सन नेपालगञ्ज बाँकेद्वारा सम्मान २०७६, नेपाल सेन्टर ईन्टरनेशनलद्वारा कदर पत्र २०७९, लुम्बीनी प्रदेशबाट प्रदेश रत्न पदक, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट प्रशंसा पत्र, मैतिदेवी मिडियाद्वारा कालो झोला संगीत सम्मान २०८०, अमेरिकाको टेक्सासका सांसद सलमान भोजानीद्वारा प्रशंसापत्र, छायाँछवि तिज म्युजिक अवार्ड २०८०, विराट म्युजिक एण्ड फिल्म अवार्ड २०८०, नेपाल युवा परिषद्, काठमाडौंद्वारा युथ आइकन–२०२४, युवा तथा खेलकुद मन्त्रालयबाट एक लाख राशीसहितको राष्ट्रिय युवा प्रतिभा सम्मान– २०८१, नेपाल साँगीतिक संघ तथा सांस्कृतिक संस्थानद्वारा सांगीतिक सम्मानलगायतका अवार्ड र सम्मान प्राप्त गरेका छन्।

वाग्ले बर्दियाली कलाकार समाज केन्द्रीय समितिको महासचिव, भारद्वाज संस्कृति संबद्र्वन केन्द्र केन्द्रीय कार्यसमितिका सचिव, संगीतकार संघ नेपालको आजीवन सदस्य, रोयल्टी संकलन समाज नेपालका सदस्यलगायत गीतसंगीत क्षेत्रका संघसंस्थामा क्रियाशील छन् भने सार्क राष्ट्रको कलासंस्कृतिलाई आदानप्रदान गर्न स्थापित सार्क म्यूजिक फाउण्डेसनको केन्द्रिय अध्यक्ष रहेका छन्।