स्त्री २ ले बनायो नयाँ रेकर्ड


एजेन्सी ।

बलिउड फिल्म स्त्री २ ले भारतीय बक्स अफिसको इतिहासमा नयाँ रेकर्ड बनाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार अभिनेता राजकुमार राव र श्रद्धा कपुर अभिनित फिल्म भारतमा ६ सय करोड भारू कमाउने पहिलो फिल्म बनेको छ।

फिल्मले ३९ दिनमा ६ सया ४ करोड २२ लाख भारू कमाएसँगै नयाँ रेकर्ड हो। फिल्मले भारतीय बक्स अफिसमा पहिलो साता ३ सय ७ करोड, दोस्रो साता १ सय ४५ करोड ८० लाख, तेस्रो साता ७२ करोड ८३ लाख, चौथो साता ३७ करोड ७५ लाख, पाँचौं साता २५ करोड ७२ लाख र छैटौं सप्ताहन्तमा १४ करोड ३२ लाख भारतीय रुपियाँ कमाएको छ।

अमर कौशिकले निर्देशन गरेको फिल्ममार्फत अभिनेत्री श्रद्धा कपुरले निकै तारिफ पाइरहेकी छन्। सन् २०१८ मा रिलिज भएको स्त्रीको सिक्वेलको रुपमा बनेको फिल्मले प्रदेशस्थित चन्देरी भन्ने ठाउँको भूताहा कथा भन्छ। सन् २०१८ मा पनि अनपेक्षित रुपमा हिट भएको यसको दोस्रो सिरिजले पनि रेकर्ड राखेको हो। हरर कमेडी विधाको फिल्म भनिए पनि यो फिल्मले खासै दर्शकलाई डराउँदैन। यसको संवादलाई दर्शकले निकै रुचाइरहेका छन्।

‘यसलाई धेरैले फेमिनिस्ट फिल्म भने पनि यो एउटा मनोरञ्जनका लागि बनाइएको फिल्म हो। किशोर किशोरीले यसमा ठट्टा मन पराउलान्, युवाहरूले यसका संवाद रूचाउलान् तर पाकाहरूले यसमा अन्तर्निहित सन्देश मन पराउनेछन्’ फिल्मका संवाद लेखकले स्त्री २ सफल हुनुका कारणबारे भनेका छन्।

फिल्ममा राजकुमार र श्रद्धासँगै पंकज त्रिपाठी, अभिषेक बनेर्जी, अपारशक्ती खुरानालगायत कलाकारको अभिनय छ। बलिउडमा सन् २००७ मा जब भूलभुलैया नामक भूतप्रेत विषयको फिल्म रिलिज भएको थियो। बलिउडमा तत्काल त्यो हिट भयो। मन्जुलिका चरित्रमा विद्या बालन निकै चर्चित भइन्।

यो फिल्मको सफलतापछि भूलभुलैया २ पनि चर्चित बन्यो। यसपाला तब्बु अन्जुलिकाका रूपमा देखा परिन्। यो फिल्म रिलिज हु“दा उति धेरै हिट नभए पनि निर्मातालाई घाटा नभएकाले अहिले भूलभुलैयाको तेस्रो भाग बनेर तयार भएको छ र यसै वर्षको अन्त्यमा रिलिज हुने तयारीमा छ। यस पटक भने विद्या बालन पुनः मन्जुलिका बनेर आउँदै छिन्।