दशैं–तिहारका लागि धमाधम नुन ‘प्याकिङ’गरिँदै



–  हिमाली जिल्लामा नौ रुपियाँमा नुन
–  नुनभन्दा ढुवानी महंगो

बाँके ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगञ्जका कर्मचारीलाई यतिबेला भारतबाट नुन ल्याउने र प्याकिङ गरेर हिमाली तथा पहाडी जिल्लामा पठाउन भ्याई नभ्याई भइरहेको छ ।

भारतको गुजरातबाट सीतापुरसम्म रेल र त्यहाँबाट ट्रकमा नुन आउँछ। त्यो नुनलाई कार्यालयमा ल्याएर प्याकिङ गर्दै ढुवानी गर्ने गरिन्छ । ट्रकमा आएको नुन झार्न र प्याकिङ गर्न कर्मचारी (करार)लाई भ्याई नभ्याई भइरहेको छ। दशैं, तिहारजस्ता ठूला चाडबाडमा नुनको अभाव हुन नदिन कार्यालय चनाखो भएको छ।

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, मुकाम नेपालगञ्जले बाँके र बर्दिया तथा कर्णाली प्रदेशका जिल्लामा नुन पठाउने गर्दछ। कर्पोरेसनले आयो नुन २६ र न्यू शक्ति २० रुपियाँ प्याकेटमा बेच्ने गरेको छ। हुम्ला, जुम्ला, डोल्पा, मुगु, कालिकोट, जाजरकोट, रूकुम र रोल्पामा उसले ढुवानी अनुदान दिइएको ‘भानु नुन’ बिक्री गर्ने गर्दछ। यो नुनको मूल्य प्रतिप्याकेट नौ रुपियाँ रहेको छ। भानु नुन बजारमा बिक्री वितरण गर्न पाइँदैन।

जनसंख्याको आधारमा कोटा छुट्याएर सरकारले यी जिल्लामा सहुलियतमा भानु नुन दिँदै आएको छ। भानु नुन वर्षमा ३५ हजार क्विन्टल जाने कर्पोरेसनका प्रवन्धक मनोज चौधरीले जानकारी दिनुभयो।

सरकारको सहुलियतले गर्दा हिमाली जिल्लामा नुन आधा बढी सस्तो रहेको छ । सरकारले नुनको मूल्य भन्दा ढुवानी खर्च बढी व्यहोर्ने गरेको छ । कार्यालय प्रमुख चौधरीले ५० लाख नुनको मूल्य पर्दा ढुवानी खर्च डेढ करोड हुने बताउनुभयो । सहुलियतमा दिइएको नुन बजारमा बिक्री वितरण हुने जोखिम रहने गर्दछ । त्यसका लागि कर्पोरेसनले निगरानी गरिरहन्छ।

हुम्लामा समेत स्थलमार्गबाट नुन पठाउन थालेपछि ढुवानी खर्च केही कम हुन थालेको चौधरीको भनाइ छ। प्रतिकिलो जहाजमा एक सय ३३ रुपियाँ परेकोमा अहिले प्रतिकिलो २० रुपियाँ ढुवानी खर्च भएको छ। एक जनालाई एक दिनमा चार ग्राम नुन आवश्यक पर्छ। तर, दशग्रामसम्म खाने गरेको पाइन्छ। वर्षमा एक व्यक्तिलाई ६ किलो नुन चाहिन्छ। कार्यालयले प्रतिव्यक्ति दश किलोको हिसाबले नुन पठाउने गरेको छ।

केही वर्षयताको तथ्यांक हेर्दा नुनको खपत घट्दो क्रममा रहेको छ । उपभोक्ताको संख्या कम हुँदा खपत कम भएको अनुमान गरिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा ४३ हजार १ सय ९२ क्विन्टल नुन ढुवानी भएको थियो ।

अर्को वर्ष साढे ६ हजार क्विन्टल नुन कम ढुवानी भयो । यो आव २०७६/७७ मा ३७ हजार ८ सय ५२ क्विन्टल नुन ढुवानी भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ४१ हजार ६ सय २५ क्विन्टल नुन ढुवानी भयो । आर्थिक वर्ष २०७८/८९ मा ३८ हजार २ सय ४१ क्विन्टल, आर्थिक वर्ष २०८९/८० मा ३४ हजार ४ सय ६८ क्विन्टल, आर्थिक वर्ष २०८०/८१ म ३७ हजार ८ सय ११ क्विन्टल नुन ढुवानी भएको थियो । आर्थिक वर्ष २०८१/८२ मा ३५ हजार क्विन्टल नुन ढुवानी गर्ने कोटा निर्धारण गरिएको छ।

प्रवन्धक चौधरीले चाडबाडमा मात्रै होइन, अरू बेला पनि नुनको अभाव नहुने बताउनुभयो । ‘हामीले सबै जिल्लाका डिपोमा नुन पर्याप्त राख्ने गरेका छौं, प्रबन्धक चौधरीले भन्नुभयो, डिपोमा नुन कम हुनेबित्तिकै फेरि पठाइहाल्छौं ।’

दशैंमा चिनी बेच्दै कर्पोरेसन

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, कर्णाली प्रदेश कार्यालय, नेपालगञ्जले दशैंलाई लक्षित गरेर ६० मेट्रिक टन चिनी ल्याएको छ।
साल्ट ट्रेडिङले सुर्खेतमा पु¥याएर डिलरलाई प्रतिकिलो एक सय ६ रुपियाँमा चिनी दिने बताएको छ । तर, खुल्ला नाकाबाट भित्रिने चिनी सुर्खेतमा व्यापारीले ९५ रुपियाँ प्रतिकिलोमा पाइरहेको बताउँदै आएका छन् ।

खुल्ला नाकाबाट अवैध रूपमा भित्रिने चिनी सस्तोमा बिक्री वितरण हुने गर्दछ । साल्ट ट्रेडिङले वीरगञ्ज नाकाबाट भित्र्याएको ६० मेट्रिक टन चिनी बिक्री हुनेमा शंका बढेको छ। ‘हामीले एक सय ६ रुपियाँमा दिएर व्यापारीले एक सय दश रुपियाँसम्ममा बिक्री गर्ने हो, प्रबन्धक चौधरीले भन्नुभयो, व्यापारीले योभन्दा सस्तोमै चिनी पाइरहेको बताएका छन्। हाम्रो चिनी बिक्री हुन्छ कि हुँदैन ?’

सीमा क्षेत्रमा बिक्री हुने चिनी गुणस्तरही नहुने चौधरीको भनाइ छ। साल्ट ट्रेडिङले बेच्ने चिनी सल्फरलेस हुने भएकाले गुणस्तरीय हुन्छ । विगतमा साल्ट ट्रेडिङले ४ सय ६२ मेट्रिक टनसम्म चिनी बिक्री गरे पनि अहिले त्यो अवस्था देखिँदैन। चिनीमा ढुवानी अनुदान दिइएको छैन ।