न्युयोर्क फेसन विकमा स्मिताको फेसन क्रियसनको चर्चा


काठमाडौं ।

नेपाली फेसन डिजाइनर स्मिता राईले विश्व चर्चित फेसन शो कुटोअर फेसन विक न्यूयोर्क –२०२४ मा आफ्ना सिर्जना प्रस्तुत गरेकी छन्।

अमेरिकाको न्यूयोर्कमा गत सेप्टेम्बर १४ देखि एक साता चलेको फेसन विकमा स्मिताले आफ्नो फेसन क्रियशनसँगै नेपाल र नेपालीको शान समेत बढाएकी छन्। फेसन विकमा स्मिताले करिब एक महिनाको समय लगाएर तयार पारेका पहिरनमा हलिउडका चर्चित मोडलहरूले क्याटवाक गरेका थिए। नेपाली आर्ट र कल्चर मिश्रित स्मिताको क्रियसनले चर्चा पाएको थियो।


फेसन सिटीका रुपमा चिनिएको न्युयोर्कमा आयोजित फेसन विकमा विख्यात फेसन डिजाइनर तथा मोडलहरूको प्रस्तुती रहेको थियो। उक्त फेसन सप्ताहको ४०औँ संस्करणमा नेपालको तर्फबाट स्मिता मात्र छनोट भएकी हुन्।

हलिउडकै चर्चित न्यूयोर्क कुटोअर फेसन विकजस्तो कार्यक्रममा आफ्नो सिर्जना प्रस्तुत गर्ने अवसर पाउँदा आफूलाई गौरम्वित महसुुस भएको स्मिताले प्रतिक्रिया दिइन।

‘यसको श्रेय आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनलाई दिन चाहन्छु। जसका कारण मैले उक्त फेसन सोमा सरिक हुने अवसर पाएँ। अन्तर्राष्ट्रिय मञ्चमा एकजना नेपालीले कला देखाउने अवसर पाउनु भनेको नेपालीकै लागि खुसीको कुरा हो’ उनले भनिन्।