कला, संगीत तथा साहित्य मानव सभ्यताका उपज हुन् । यी तत्वहरू मानवकै सिर्जना अनि हाम्रो जीवनको अभिन्न अंग हुन्। विश्वप्रसिद्ध कलाकार आन्नी अल्बरका भनाइमा ‘कला एउटा यस्तो तत्व हो जसले तिमीलाई फरक किसिमको खुशीको शिखरमा पु¥याउँछ ।’ वास्तवमा ललितकला र चित्रकलामा पोख्त चित्रकारले मान्छेको जीवनकै विभिन्न आयामलाई आफ्नो चित्र–कृतिमार्फत दर्शाइरहेका हुन्छन् । त्यस अर्थमा चित्रकला मानवजीवनको सूक्ष्म दर्शन हो भन्न सकिन्छ ।
आजको आधुनिक समाजमा मानसिक रोग एक प्रबल समस्याका रुपमा देखा परेको छ । युद्ध, अशान्ति, घातक महामारी, कामको चाप आदि कारणले मानवलाई विक्षिप्त बनाउँदै लगेको छ । नेपालमा पनि कोभिड महामारीपछाडि मानसिक रोगका सिकार बिरामीका संख्या निकै बढेको छ । नेपालको कुल जनसंख्यामध्ये करिब ९.९ लाख प्रतिशत जनसंख्यामा कुनै न कुनै प्रकारको मानसिक विकार देखिएको छ, जसमा ५.२ प्रतिशत त १३ वर्षदेखि १८ वर्ष उमेर समूहका युवा पर्दछन् ।
मानसिक समस्या बढ्दै गएपछि विश्वमा योगाभ्यास र कलाको प्रयोगबाट मानसिक रोगीको उपचार गर्ने विधि आर्ट थेरापीको प्रयोग व्यापक बनेको छ । पछिल्लो समयमा अन्तर्राष्ट्रिय योग संस्थाबाट प्रतिपादित सिद्धान्त ‘दि होल यु’ अर्थात् ‘सम्पूर्ण तिमी’ ले निकै व्यापकता पाएको छ । यस दृष्टिकोणको प्रमुख कुरा भनेको विश्वका कुनै पनि मानिस आफैंमा सबल र सम्पूर्ण छ भन्ने नै हो।
यस विचारधाराले हामीलाई आफू एकल व्यक्तिमात्र नभएर धेरैजना अथवा विश्वका पूरै एक मानव भएकाले एउटा व्यक्तिले धेरै समूहको प्रतिनिधित्व गर्छ भनेर सोच्नु बाध्य बनाउँछ । यस सोचले एक्लिँदै गएका कैयौं बालबालिकाका मानसिक कमजोरीलाई उपचार गर्ने मनोचिकित्सकहरुलाई निकै सघाउ पु¥याएको छ । चित्रकला, धातुकला र मूर्तिकला आदिले पनि मानव सभ्यतामा विविध विचारधारा तथा सिद्धान्त वा दर्शन (फिलोसफी) बनाउन मद्दत गरेको छ ।
विश्व इतिहासमा कला थेरापी (आर्ट थेरापी) भन्ने शब्दको उद्घोष पहिलोपल्ट ब्रिटिस कलाकार ऐड्रियनले सन् १९४२ मा गरेका हुन् । दोस्रो विश्वयुद्धमा अमेरिकी एवं जर्मनी सेनाले युद्धमा मानसिकरूपमा सुषुप्त भएर आएका आफ्ना सैनिकलाई दिनभरि घटेका घटनाका चित्र कोर्न दिएर यसको वास्तविक प्रयोग गरेका थिए । एड्रियनले पनि आफू क्षयरोगबाट ग्रसित बनेर थला परेका बेलामा चित्रहरू कोरेर तङ्ग्रिन सफल भएपछि आर्ट थेरापी भन्ने प्रविधिको प्रयोग थालेका हुन् । आधुनिक विश्वका डाक्टरहरुले के समस्या रहेको भन्ने बोलेर, आफूभित्र रहेको पीडा बोल्न नसक्ने, खुलस्त समस्या राख्न नसक्ने बिरामीका लागि चित्र कोरेर आफ्नो समस्या अभिव्यक्त गर्न सकिने एक मुख्य माध्यम मानेर यसको सफल प्रयोग विभिन्न मानसिक विचलनका रोगीमाथि गर्दै आएका छन् ।
हाल अमेरिकामा ‘आर्ट थेरापी’ को अभ्यास वयष्कदेखि बालकसम्मका मानसिक रोगीका उपचारका निमित व्यापकरूपमा प्रयोग गरिँदै आएको छ । कला अभिव्यक्तिसँगको नाटक, मूर्तिकला, माटाका सामान बनाउने आदि विषयलाई मनोचिकित्सकले तनाव, व्यक्तिगत सम्बन्ध विच्छेदका कारण हुने मानसिक रोग, भावनात्मक आवेगका समस्या, खानपानले ल्याउने विकार, पोस्ट ट्रमाटिक डिसअर्डर (पीटीएसडी) जस्ता मानसिक रोगी उपचारका लागि असाध्यै भरपर्दो विधिका रुपमा प्रयोग गर्ने गरेका छन्।
विश्वका अधिकांश डिप्रेसनका रोगी भएको मुलुक अमेरिकामा मानसिक रोगका बिरामीलाई डुडिलंग अर्थात् स–साना चिजका चित्र कोर्न, पेन्टिङ र रेखाचित्र आदि कोर्ने अनेक तरिकामा संलग्न गराउँदा बिरामीहरू लामो समयसम्म आफूले भोगेका समस्याका बारेमा चित्र बनाउन व्यस्त हुने र त्यसले गर्दा बिरामीको दिमाग सक्रिय हुने हुँदा आधा रोगको उपचार त्यही माध्यमबाट हुने धारणा मनोवैज्ञानिकहरु राख्दछन् । साथै चित्र बनाई सिध्याउँदा बिरामीलाई एउटा ठूलो उपलब्धि र सफलताको आभास हुने हुँदा तिनको उपचारमा त्यस्ता सकारात्मक सोचले पनि निकै ठूलो अन्तर पार्ने तथ्य उजागर गर्छन् ।
चितवन मेडिकल कलेजमा कार्यरत मनोविद् अर्चना पोखरेलका अनुसार नेपालमा पनि आर्ट थेरापीको प्रयोग भएको थियो । तर हाल भने यसको अवस्था अज्ञात छ। जे होस्, कलाको माध्यमबाट एउटा घातक मानसिक रोगीको उपचार हुनु भनेको सुखद विषय भने पक्कै हो ।
प्रतिक्रिया