यशकुमारले ल्याए आँखा बन्द गरेर


काठमाडौं ।

लोकप्रिय गायक यशकुमारले राजधानीमा आयोजित एक कार्यक्रमबीच आँखा बन्द गरेर बोलको नयाँ गीत सार्वजनिक गरेका छन्। गायक यशकुमारले यसअधिको सुपहिट गीत तिमी छौ र तको दोस्रो भागका रूपमा आँखा बन्द गरेर सार्वजनिक गरेका हुन्।

गीतमा यशकुमारलाई गायिका शशिकला राईले साथ दिएकी छन्। निकेश खड्काले निर्देशन गरेको गीतको भिडियोमा सडक दुर्घटनाले निम्त्याएको अकल्पनीय निधन र त्यसले भर्खरमात्रै गम्भीर बिरामीबाट निको भएकी प्रेमिकामाथि परेको बज्रपातको पीडादायी कथा प्रस्तुत गरेको छ। गीतको भिडियोमा लिम्बू संस्कृति र पालमलाई सुन्दर ढंगले देखाइएको छ।

भिडियोमा गायक यशकुमार, अनु थापा, प्रेम सुब्बा र राजेश घतानीले अभिनय गरेका छन्। १५ मिनेट लामो यो सांगीतिक फिल्ममा हाङ चेम्जोङको कोरियोग्राफी, हरि हुमागार्इंको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।