भिडियोमा तिमीसँग बोल्न मन लाग्यो


काठमाडौं ।

गीतकार डब्बु क्षत्रीद्वारा रचित तिमीसँग बोल्न मन लाग्यो बोलको आधुनिक गीत भिडियोसहित सार्वजनिक गरिएको छ।
गायिका केन्जुमा सुब्बाको स्वर रहेको गीतको भिडियो बिन्ध्यवासिनी म्युजिकको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। गीतमा संगीत र संगीत संयोजन जुगल डंगोलको छ।

सात वर्षअघि रेकर्ड गरिएको गीतको भिडियो यतिबेला सार्वजनिक गरिएको हो। गीत उनकै अडियो एल्बम गुलाबी स्वरहरूमा संगृहित थियो। अहिले भने रिमिक्सिङ गरेर यसलाई भिडियोको रूपमा बजारमा ल्याइएको गीतकार क्षत्रीले बताए। यो गीतको भिडियोको निर्देशन पनि डब्बु क्षत्रीले गरेका छन्।

भिडियोमा अभिनेता यशराज गराच र ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की विजेता शर्मिला बुढाथोकीले अभिनय गरेका छन्। भिडियो सर्लाहीको बागमती र नुनथर क्षेत्रमा छायाँकन गरिएको छ। भिडियोमा कोरियोग्राफी कृष्ण रसालको रहेको छ।