बजारमा कृत्रिम अभाव र कालोबजारी रोक्न मुख्य सचिवको कडा निर्देशन

अर्यालले चलायमान बनाए केन्द्रिय अनुगमन तथा मूल्यांकन समिति


काठमाडौं ।

मुख्य सचिव एक नारायण अर्यालले केहि महिनादेखि बस्न नसकेको केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिको बैठक राखेर बजारमा हुन सक्ने कृत्रिम अभाव र कालोबजारी रोक्न सम्वन्धित निकायलाई कडा निर्देशन दिएका छन् ।

मुख्य सचिवको अध्यक्षतामा रहने केन्द्रिय अनुगमन तथा मूल्यांकन समितिको बैठक केहि महिना देखि बस्न सकेको थिएन् । तर अर्यालले शुक्रबार सो बैठक राखेर समितिलाई चलायमान बनाउदै चाडपर्वको समयमा हुन सक्ने कृत्रिम अभाव, कालोबजारी र मिसावट गर्ने जस्ता अस्वस्थ्य गतिविधिलाई नियन्त्रण गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रमुख जिल्ला अधिकारीहरुलाई आपसमा समन्वय गरी स्थानीयस्तरसम्मै अनुगमनलाई प्रभावकारी बनाउन निर्देशन दिएका हुन् ।

साथै मुख्य सचिव अर्यालले सार्वजनिक सवारी साधनको भाडा दर र सडक दुर्घटना न्यूनीकरण सम्वन्धमा यातायात व्यवस्था विभाग र सडक विभागले समन्वयत्मक रुपमा कार्य गरी हुन सक्ने ठगी र जनधनको क्षतिलाई रोक्न तथा संयुक्त बजार अनुगमनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्नुपर्ने गरी निर्देशन दिएका छन् ।

बैठकले यस अघिका बैठकका निर्णयहरु कार्यान्वयन भएनभएको बारेमा समेत गम्भीर समीक्षा गर्दै बैठकका निर्णयहरु कार्यान्वयन गर्न सबै पक्षले संवेदनशील बन्नुपर्ने ठहर गरेको छ ।

सो अनुसार धेरै पहिला बसेको समितिको ६९ औ बैठकले गरेको निर्णय कार्यान्वयनको समीक्षा गर्दै डेंगी लगायत मौसमजन्य रोगहरुको नियन्त्रण तथा प्रतिकार्य, चाडपर्वमा वस्तु तथा सेवाको सहज आपूर्ति तथा व्यवस्थापन, सुरक्षा र यातायात, अखाद्य वस्तुको प्रयोग एवं विक्री वितरण र कालोबजारी नियन्त्रण तथा संयुक्त बजार अनुगमनको कार्यसूचीमाथि छलफल भएको थियो ।

बैठकमा सरोकारवाला निकायका सचिवहरु तथा सुरक्षा निकायका प्रमुखहरु र विभागीय प्रमुखहरुले आ आफ्नो निकायको कार्यप्रगति बारेमा प्रकाश पार्दै आगामी दिनमा गर्ने अनुगमन कार्य र योजनाका बारेमा प्रकाश पारेका थिए ।