पाठक पत्र: दलालीको पछि नलागौँ, लगानी गर्नुपूर्व सोचौँ


केही समययता सुनको मूल्य निरन्तर बढिरहेको छ । अहिले बजारमा सुन व्यापारी तथा दलालीहरु सुनको मूल्य तीन लाखसम्म पुग्ने दाबी गरिरहेका छन् । पाँच दशकअघि अर्थात् २०२९ वैशाखमा सुनको मूल्य प्रतितोला ३१६ रुपियाँ रहेको थियो । तर, ०८१ भदौ ३० गते त्यही सुन एक लाख ५८ हजार ८ सय रुपियाँ पुग्यो । ५२ वर्षको बीचमा सुनमा एक लाख ५८ हजार ४८४ रुपियाँ प्रतितोलामा बढेको छ ।

यद्यपि, अहिले महँगोमा सुन किनेका सर्वसाधारण कहिले डुब्छन् ? ठेगान छैन । किनकि सुन दशकअघिको मूल्यमा पनि फर्किन सक्नेछ। मानिसहरु भन्छन्, ‘लोभले लाभ, लाभले विलाप।’ हिजो बढी ब्याजको प्रलोभनमा सहकारी, लघुवित्त, फाइनान्समा रकम राख्दा करोडौं सर्वसाधारणको खर्बौं रकम डुबेको छ। उनीहरु मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन्। ब्याजको लोभ गर्दा आज सावाँ नै गुमाउनुपरेको छ।

यति मात्र नभई आफ्नो पैसाले नै आत्महत्या गर्नुपर्ने अवस्थामा पुर्‍याएको छ। शेयर बैंकले सय रुपियाँ कित्तामा निष्कासन गरेको हो । तर, दलालीहरुले एकाएक मूल्य बढाएर ३२ सयसम्म पुर्‍याए । ३२ सयमा किनेको त्यो शेयर अहिले २५ सयमा बिक्री नहुने अवस्था आएको छ। शेयरको मूल्य निरन्तर घटिरहेको छ। दलालीहरु त आफ्नो शेयर महँगोमा बिक्री गरेर उम्किए । तर, यहाँ सोझासाझा सर्वसाधारण भने फसेका छन्।

उनीहरु अहिले पनि शेयरको मूल्य बढ्छ कि भनेर आशा गरिरहेका छन्। तर, कसलाई के थाहा कि ती दलाल, बिचौलियाहरु आफ्नो शेयर महँगोमा बेचेर भागिसकेका छन्। शेयर सम्बन्धित कम्पनीको वित्तीय अवस्था र नाफामा आधारित हुन्छ। कम्पनी नाफामा जाँदा शेयरको मूल्य बढ्छ तर घाटामा जाँदा घट्छ। तर, हाम्रोमा त शेयरमा दलालीहरु हाबी छन्।

यहाँ शेयरमा ५०/५५ जना ठूला दलाली रहेको बताइन्छ। अनि उनीहरुले आफ्नो शेयर बिक्री गर्ने समयमा ह्वात्तै मूल्य बढाउँछन् भने खरिद गर्ने समयमा घटाउँछन् । गत असार मध्यदेखि निरन्तर उकालो लागेको शेयर बजार भदौमा आइपुग्दा घटिरहेको छ। एक महिनाकै बीचमा शेयरबाट बाठाबाठा वा दलालीहरुले खर्बौं कमाए भने सोझासाधा सर्वसाधारण फसेका छन्।

शेयरमा ६५ लाख सर्वसाधारणको लगानी छ । र, उनीहरु डुबिसकेका छन् । साउनमा ३१ सय प्रतिकित्ता पुगेको शेयर अहिले २५ सयमा झरेको छ । यो निरन्तर ओरोलो लाग्ने देखिएको छ। अब ३१ सयमा शेयर किनेका सर्वसाधारणको बिजोग भएन र ! एक महिनाकै बीचमा दलालीहरुले खर्बौं कमाउँदा सोझासाधा नागरिकको पनि खर्बौं रुपियाँ शेयरमा डुबेको छ। त्यसैले, अब शेयरमा लगानी नगरौं । लगानी गर्नुपूर्व सयचोटि सोचौं । शेयरमा मात्र होइन, अन्य क्षेत्रमा पनि दलाली, बिचौलियाहरुको बिगबिगी छ । र, उनीहरुकै प्रभाव परेको छ । घरजग्गा र गाडी पनि यस्तै भएको छ।

चार दशकअघि जग्गाको मूल्य नै थिएन । कौडीको भाउमा समेत जग्गा बिक्री हुँदैनथ्यो । त्यति बेला पाँच हजारमा त एक रोपनी जग्गा नै आउँथ्यो। तर, ४० वर्षको अवधिमा दलालीहरुले जग्गाको मूल्य एकाएक बढाए । निमुखा किसानसँग रोपनीको पाँच हजारमा जग्गा किनेर त्यसमा डोजर चलाए । जग्गाको खण्डकीकरण गरियो । रोपनीको जग्गा आनामा बिक्री गर्न थालियो । त्यो पनि सय गुणा बढी मूल्यमा । पाँच हजारमा किनेको खेतीयोग्य जमिन दलालीहरुले आनाकै ६०÷७० लाखमा बिक्री गरे ।
यता, जग्गाको मूल्य बढेको शेयर त्यसमा लगानी गर्ने सर्वसाधारण भने आज चुर्लुम्मै भएका छन् । बैंक, वित्तीय संस्थाबाट ऋण लिई–लिई जग्गामा लगानी गरे । किनकि उनीहरुले सोचेका थिए– अहिले किनेको जग्गाको मूल्य पाँच महिना वा एक वर्षपछि दोब्बर/तेब्बरले बढ्छ । तर, त्यस्तो भएन । पछिल्लो समय जग्गाको मूल्य निरन्तर घटिरहेको छ । अहिले जग्गा बेच्न चाहने त धेरै छन् तर किन्ने शून्यझैँ ।

बैंकबाट ऋण लिएर घरजग्गामा लगानी गरेका ती सर्वसाधारण आज जग्गाको मूल्य घटेपछि छतबाट हामफालेजस्तै भएका छन्। दिनरात सावाँब्याज तिर्न बैंकले फोन गरेर धम्की दिन्छ तर तिर्नेचाहिँ कसरी ? ऋण तिर्न त पैसा चाहियो नि। एकातिर मानिससँग पैसा छैन, अर्कोतिर घरजग्गा पनि बिक्री हुन्न । यसले उनीहरु दुवैतर्फबाट असफल भएका छन्।

यस्तै, गाडीमा पनि यही भयो । छिमेकी मुलुक भारत र चीनमा एक लाखमा पाइने सवारीसाधन दलालीहरुले यहाँ ल्याएर लाखदेखि करोडमा बेचे । बैंकबाट ऋण लिएर गाडी किनेका सर्वसाधारण अहिले ऋण तिर्न नसकेर तनाव परेको छ । अर्कोतर्फ, गाडी पनि बिक्री हुँदैन । किनेको मूल्यको आधा भाउमा दिन्छु भन्दासमेत गाडी बिकेको छैन। ०४२/०४३ सालमा काठमाडौं उपत्यकामै सय रुपियाँ मासिक भाडामै एउटा कोठा पाइन्थ्यो। तर, अहिले दलालीहरुकै मिलिजुलीमा उपत्यकामा एउटा कोठाको भाडामा पाँच हजारदेखि २० हजारसम्म पुर्‍याइएको छ। त्यतिखेर एक हजार पर्ने सटर अहिले १९ लाख पुर्‍याइएको छ। यता, डेढ सय वा दुई सय मासिक भाडामा पाइने फ्ल्याट आज ३० हजारदेखि तीन लाखसम्म पुगेको छ।

पहिला सटर किनबेच हुँदैनथ्यो । तर, अहिले एउटा खालीसमेत २० लाखदेखि ६० लाखमा किनबेच हुन्छ । तीन वर्षअघि उपत्यकामा एउटा कोठा, सटर वा फ्ल्याट खोज्न ६ महिना हिँड्नुपथ्र्यो । त्यत्रो समय खोज्दा पनि नपाएपछि दलालीलाई पैसा दिनुपथ्र्यो । दलालीमार्फत मात्र उपत्यकामा सटर, कोठा वा फ्ल्याट पाइन्थ्यो । तर, अहिले उपत्यकामा जताततै कोठा, सटर, फ्ल्याट खाली भएका छन् । घरहरुमा टुलेट, कोठा भाडामा, सटर खाली, फ्ल्याट भाडामा लगायत लेखिएका पोस्टरहरु थुप्रै देखिन्छन् । बूढापाका भन्छन्, ‘मानिसले धैर्य गर्नुपर्छ । १२ वर्षमा उँभो लागेको खोला पनि फर्किन्छ ।’

अहिले बजारमा मन्दी आएको भनिन्छ । तर, यो मन्दी होइन । दलालीहरुको रजगज अन्त्यको संकेत हो । अब जनता सचेत भएका छन् । हिजो पनि दलालीहरुले सोझासाधा सर्वसाधारणलाई मुर्गा बनाएर ठगिरहेका थिए । तर, अब जनतामा सचेतना अभिवृद्धि भएको छ । उनीहरुले बुझिसके कि दलालीहरुको लहैलहैमा लागेर जथाभावी लगानी गर्नुहुन्न, नत्र डुबिन्छ ।
हो, यति कुरा सर्वसाधारणले बुझे । उनीहरुले बजारमा जथाभावी लगानी गर्न छोडे । अनि दलालीहरुको रुवाबासीको दिन शुरु भएको हो । अब दलाली, बिचौलियाहरुले सर्वसाधारण ठग्न जतिसुकै जुक्ति लगाएसँगै जनता ठगिने छैनन् । अहिले घरजग्गा, गाडी र शेयरमा फसाउन नसकेपछि दलाली, बिचौलियाहरुले सुनमार्फत सर्वसाधारणा डुबाउन खोजिरहेका छन् । त्यसैले, अब जनता सचेत हुनुपर्छ ।

दलालीहरुको लहैलहैमा लागेर महँगीमा सुन किन्नुहुन्न, नत्र डुबिन्छ। बरु अहिले मूल्य बढिरहेको बेला आफूसँग भएको सुन बेचेर उम्किनुपर्छ । कहिलेसम्म दलालीलाई मात्र कमाउन दिने, कहिलेकाहीँ त जनता पनि बाठो हुनुपर्छ। भनिन्छ कि आफूले खनेको खाल्डोमा आफैँ परिन्छ । त्यसरी नै अब दलालीहरु पनि आफ्नो योजनामा आफैँ फस्नेछन्।

मानिसको आधारभूत आवश्यक भनेकै गाँस, बाँस र कपास हो। अहिले यसमा शिक्षा, स्वास्थ्य र रोजगारी पनि पर्छ। घरजग्गा, गाडी, शेयर, सुन विलासित वस्तु हुन्। त्यसैले, अब हामीले यो कुरा बुझ्न आवश्यक छ। सरकार आफैंले यस्ता वस्तुलाई विलासिता भन्छ । कानुनमै यस्ता वस्तु विलासिता भनिएको छ। अनि विलासिता वस्तुमा लगानी गर्नु भनेको जोखिम उठाउनु हो। यसैले, अब हामी नागरिकले सोचविचार गरेर मात्र कुनै पनि क्षेत्रमा लगानी गर्नुपर्छ ।
– रुषा थापा, भक्तपुर ।