सुख र दुःख जीवनका दुई पाटा हुन् । सुख हुँदा मानिसले यसबाट फाइदा लिन सकूँ भन्ने कोशिश गरिरहन्छ । दुःख भयो भने मानिस व्याकुल हुन पुग्छ । राम्रो–नराम्रोका बारेमा त सबै मानिसलाई थाहा छ तर एउटा सत्य राम्रो र नराम्रो दुवै कुराभन्दा पनि टाढा छ । त्यो सत्य हामी सबैको हृदयमा व्याप्त छ तथापि हामी त्यसमा अनभिज्ञ छौँ ।
कठिनाइ र समस्याहरूमा फसेर हामी जीवनको तराजुमा मैले के पाएँ अनि के गुमाएँ भनेर तौलिरहन्छौँ । मानिसहरू सोच्छन्– नोकरी छ, परिवार छ, जिम्मेवारीहरू छन् । यी सबै कुरा नै मेरो जीवन हो । तथापि, जीवन यत्ति मात्रै होइन । यो जीवनको सबैभन्दा मत्त्वपूर्ण चीज नै यो हामीभित्र आउने र जाने एउटा–एउटा श्वास हो । यो श्वासको आवागमन बन्द भएका दिन तपाईँका सबै मानसम्मान, नातागोता, तपाईँको जागिर, सबै धनवैभव अनि तपाईँले जीवन नै यही हो भनेर सोचेका सम्पूर्ण कुराहरू समाप्त हुनेछन् ।
यदि जीवनमा कुनै लक्ष्य हुनुपर्छ भने के त्यो लक्ष्य सर्वश्रेष्ठ हुनुपर्दैन र ! म त्यस चीजलाई चिनूँ जसको अभावमा म केही पनि होइन । त्यो चीज भएर नै म सबैथोक हुँ । यदि मैले त्यस्तो चीजलाई चिनिन भने त मेरो जीवन नै अधुरो हुन्छ।
जीवन छ भने समस्या पनि हुन्छ । मानिस यो समस्याबाट बच्नै सक्दैन । हामीसँग भएका सबै समस्या हामी स्वयंले नै निर्माण गरेका हौँ । यो दुनियाँको सबै कुरा सबैका लागि एक समानजस्तै छ । नयाँ रूपरंग लिएजस्तो गरे पनि समस्याको हथौडीले सबैलाई पीडा दिन्छ । यसको मुख्य कारण के हो भने मानिस आफ्नो काँधमा हरेक कुराको बोझ बोकेर बस्छ।
जीवनमा निराशालाई स्थान दिनुहुँदैन । यदि तपाईँको जीवनमा निराशा छ भने आशा पनि त छ । आशा के हो भने भोलि फेरि सूर्योदय हुनेछ । जसरी सूर्य उदाउँछ अनि अस्ताउँछ, दिन समाप्त हुन्छ र रात्रि प्रारम्भ हुन्छ । यसरी नै तपाईँको जीवनमा पनि नयाँ दिनको आगमन हुन्छ । त्यो नयाँ दिनलाई स्वागत गर्नुहोस् । आफ्ना आशाहरूलाई हेर्नुहोस् । आफ्नो आनन्दलाई हेर्नुहोस् । यो तपाईँका लागि आशाहरूले भरिएको नयाँ दिन हो । नयाँ बिहानी हो । हिजो तपाईँले गर्नुभएका सबै कुराहरू आज तपाईँका लागि बदलिन सक्छन् । तपाईँ आफ्नो जीवनमा आफ्नो वास्तविक आशालाई प्राप्त गर्नुहोस् । सृष्टिकर्ताले त तपाईँलाई यो शरीर, यो श्वास दिएका छन् । यो मौकाको फाइदा उठाउनुहोस् ।
तपाईँभित्र आइरहेको अनि गइरहेको यो श्वास अनमोल छ । भगवान्को कृपाले यो श्वास केही नसोचीकन, कुनै बटन नदबाईकन स्वतः आउँछ अनि स्वतः जाने गर्छ । यसले त्यसपछि के छोडेर जान्छ ? जिन्दगी छोडेर जान्छ ! एउटा कहिल्यै फर्केर नआउने समय छोडेर जान्छ । मानिसले अपनाउन चाहने एउटा उपहारलाई छोडेर जान्छ । त्यसलाई मानिसले स्वीकार गर्न चाहन्छ, लिन चाहन्छ । त्यो उपहार हो– जीवन !
यो श्वास तपाईँभित्र आउँछ र जान्छ । यो सृष्टिकर्ताको कृपाका कारण नै आउँछ । तर, कसैको पनि ध्यान यो श्वासतिर जाँदैन । यो आइरहन्छ अनि गइरहन्छ । यो श्वास जान्छ अनि जब आउँदैन नि, तब मात्र मानिसको ध्यान यसतर्फ जान थाल्छ । त्यस बेला एउटै कुराको मात्र चिन्ता हुन्छ– कसरी अर्को एउटा श्वास लिन सकूँँ !
‘आज’ आउँछ र गइहाल्छ । तर, ‘भोलि’ का लागि जुन आशा साँचेका हुन्छौँ, त्यो कहिल्यै पनि आउँदैन । भोलि जहिल्यै पनि भोलि नै हुन्छ । कहिल्यै ‘आज’ बन्न सक्दैन । तपाईँ कुन समयमा जीवित हुनुहुन्छ ? भोलि या हिजोमा ? तपाईँ आज जीवित हुनुहुन्छ । यस समयमा जीवित हुनुहुन्छ । तपाईँ न एक सेकेन्ड अघि, न एक सकेन्ड पछि नै जान सक्नुहुन्छ । यो तपाईँको जीवन हो । यही समयमा अटुट शान्ति छ । जुन शान्ति तपाईँलाई बाहिर होइन तपाईँभित्रै प्राप्त हुन्छ । कुनै काम तुरुन्त गर्ने तथा कुनै काम भोलिका लागि छोड्ने मानिसको बानी हुन्छ । प्रश्न के उठ्छ भने, मानिसले कस्तो प्रकृतिको काम तत्कालै गर्दछ र कस्तो खालको कामलाई भविष्यका लागि छोडिदिन्छ ? प्रायजसो बाहिरबाट हेर्दा त्यति महत्त्वपूर्ण नलाग्ने कामलाई भोलिका लागि छोड्ने गरिन्छ ।
मानिसले के–के भौतिक उपलब्धिहरू हासिल गरेको छ भन्ने आधारमा आफ्नो दिनको सफलताको मूल्याङ््कन गर्ने गर्दछ । विचारणीय पक्ष के छ भने भौतिक सुखको प्राप्तिका लागि मात्र ऊ रातदिन लागिरहेको छ । तर, ‘उसलाई यो जीवन किन प्राप्त भएको छ ? उसको जीवनको उद्देश्य के हो त ?’ एकापट्टि संसारका सबै जिम्मेवारीहरू छन् र अर्काेतिर तपाईँको आफ्नो जीवन छ ! जुन जीवन तपाईँलाई दिइएको छ, त्यो तपाईँका लागि हो । यदि तपाईँले यो कुरालाई स्वीकार गर्नुहुन्छ भने प्रश्न यो पनि उठ्दछ– जुन चीज तपाईँलाई प्राप्त भएको छ, त्यसलाई आजसम्म सदुपयोग गर्ने कोशिश गर्नुभएको छ कि छैन ?
तपाईँ जीवित हुनुहन्छ । तपाईँको जीवनमा जे भइरहेको छ र जे पछि होला, ती सबै अहिलेको रूपमा नै भइरहेका छन् । तर, मानिसहरूको ध्यान पूर्वजन्म र पछिको जन्मतिर जान्छ । जीवनमा के भएको थियो या पछि के हुनेछ भन्नेतिर जान्छ । यदि तपाईँले रेलमा यात्रा गर्नुप¥यो र तपाईँसँग टिकट छ– तपाईँले स्टेसनमा गएर ‘पहिलाको रेल कहाँ गएको थियो’ र ‘अब आउने कता जान्छ’ भनेर सोध्नु आवश्यक हुन्छ र ? होइन ! तपाईँ त यो सोध्नुहुन्छ, ‘ऊ त्यो रेल कता जान्छ ?’ ठीक त्यसै गरी यो श्वास तपाईँभित्र आउँछ र जान्छ । यो सृष्टिकर्ताको कृपाका कारण नै आउँछ । तर, कसैको पनि ध्यान यो श्वासतिर जाँदैन । यो आइरहन्छ अनि गइरहन्छ । यो श्वास जान्छ अनि जब आउँदैन नि, तब मात्र मानिसको ध्यान यसतर्फ जान थाल्छ । त्यस बेला एउटै कुराको मात्र चिन्ता हुन्छ– कसरी अर्को एउटा श्वास लिन सकूँँ !
पानीको अभाव नहुँदा मानिसहरूले पानीलाई खेर फाल्छन् । तर, पानीको अभाव भएपछि कसैले पनि पानीलाई खेर फाल्दैनन् । तपाईँको श्वास पनि त्यस्तै छ । एकदिन आएका थियौँ । त्यस दिन पहिलो श्वास आएको थियो । एकदिन जानुपर्छ । त्यो अन्तिम श्वास हुनेछ । यसको बीचमा छ– आजको दिन ! संसारका सबै कार्यलाई पूरा गर्नका लागि हामी आजको दिनलाई उपयोग गर्दछौँ । यो अनमोल श्वास प्राप्त भएको त छ तर यसलाई हामी ध्यान दिँदैनौँ । किनभने, व्यापार राम्रो भएको र राम्रो जागिर प्राप्त भएको दिनलाई मात्रै हामी राम्रो मान्दछौँ । वास्तवमा सबैभन्दा राम्रो दिन त त्यो हो जुन दिन तपाईँ भन्नुहुन्छ– ‘आजको दिन मैले यो जीवनलाई पाएको छु । मेरो श्वास चलिरहेको छ । म जीवित छु । मैले यो मौका पाएँ । अब म यसलाई गुमाउन चाहन्न । आज मैले त्यो कुरालाई बुझेँ जसको चर्चा सबै महापुरुषले आफ्नो जीवनभरि गर्दै आएका छन् ।’
यो कुरालाई बुझेको दिनदेखि यो जीवन व्यर्थ जाँदैन । त्यो दिन तपाईँ आफ्नो हृदयरूपी भाँडोलाई खेर गइरहेको पानीको धारामुनि राखिदिनुहुन्छ । त्यो पानी बच्नेछ । जिन्दगी सुध्रिनेछ । त्यो चीज पाइनेछ जसबाट हामी आफ्नो जीवनलाई पूर्ण बनाउन सक्छौँ । प्रत्येक दिन हृदयबाट आभारी भएर भन्न सक्छौँ– ‘हे सृष्टिकर्ता, तपाईँलाई लाखौँलाख धन्यवाद छ !’ अनि, यो भन्नुहुनेछ– आजको दिन नै मेरो पहिलो दिन हो । भोलि फेरि यो दिन आयो भने म त्यसलाई खेर जान दिन्न । यसरी नै हामीले हरेक दिनलाई स्वागत गर्नुपर्नेछ । भोलिलाई होइन । न त हिजोलाई नै । बरु आजलाई सधैँका लागि स्वागत गर्नुपर्नेछ ! किनभने, जीवनमा जति पनि दिनहरू आउँछन्, ती सबै ‘आज’ को रूपमा नै आउँछन् । तपाईँ भोलिभित्र वा पर्सिभित्र प्रवेश गर्नुपर्छ भन्ने पनि होइन । प्रवेश गर्नुपर्दैन ! यो त स्वतः आउँछ र आपैmँ जान्छ । यसमा तपाईँका लागि के लुकेको हुन्छ ? त्यो हरेक श्वासको आउनु–जानुमा अनि हरेक ‘आज’ को आगमन र प्रस्थानभित्र तपाईँको ‘आनन्द’ लुकेको छ । तपाईँको जीवनको आनन्द । तपाईँको हृदयको आनन्द । त्यो सुख, सन्तुष्टि, आनन्द, जुन शङ्काबाट पर, दुःखबाट पर– जहाँ अँध्यारो हैन, प्रकाशै प्रकाश छ ! जहाँ प्रश्न हैन उत्तरै–उत्तर छ ।
अहिले हामीसँग समय छ । त्यसैले हामी भोलिलाई सुधार्ने कुरामा भन्दा आजलाई ध्यान दिऊँ । आज नै आफ्नो हृदयलाई शान्ति र आनन्दले भरौँ । भोलि आउँछ कि आउँदैन भन्ने कुरामा हामीले चिन्ता गर्नु आवश्यक छैन । यदि भोलि आयो भने त्यसलाई पनि आजलाई जस्तै स्वागत गर्नेछु । ताकि मेरो हृदय दिन–प्रतिदिन भरिँदै जाओस् र मेरो जीवन सफल होस् । त्यसैले भोलिमा होइन आजमा जिउन शुरु गरौँ । गएको वा आउने समयलाई होइन, आजसँग रहेर जिउन शुरु गरौँ । आजको महत्त्वलाई बुझौँ । ‘आज’ के हो, ‘आजको दिन’ के हो भन्ने कुरा तपाईँले बुझ्नु भएपछि तपाईँले भोलिको आशालाई छोड्नुहुनेछ । अनि, आफ्नो आशालाई ‘आज’ नै पूरा गर्ने कोशिशमा लाग्नुहुनेछ । किनभने, भोलिमा जति पनि आशा हुन्छ, त्यति नै निराशा पनि रहेको हुन्छ । ‘आज’मा जति आशा गरिएको हुन्छ, त्यसलाई पूरा गर्न सकिन्छ ।
तपाईँ यो संसारमा खाली हात आउनुभएको थियो तर तपाईँले खाली हात जानु आवश्यक छैन । केही लिएर जानुहोस् । आफ्ना साथमा के लिएर जान सक्नुहुन्छ ! आफ्नो हृदयमा प्रेम लिएर जान सक्नुहुन्छ । आफ्नो हृदयरूपी भाँडोलाई भरेर लैजान सक्नुहुन्छ । यदि यो मेरो जीवन हो, यो मेरो श्वास हो, मसँग एउटा अनमोल चीज छ भन्ने कुराको याद रह्यो अनि म त्यसलाई गुमाउन चाहन्न भन्ने भयो भने मेरा लागि त सबै कुरा बदलिनेछ । चाहे बाहिरबाट केही नै बदलिएन भने पनि भित्रबाट सबैथोक बदलिनेछ।
तपाईँले आफ्नो श्वासलाई बुझ्नुभएका दिन तपाईँले आपूmले आपूmलाई बुझ्नुहुनेछ । त्यस दिन तपाईँमा शङ्का रहनेछैन । तपाईँमा स्पष्टता हुनेछ । तपाईँले आपूmभित्र आइरहेको अनि गइरहेको चीजलाई प्रेम गरेपछि यो जीवनसँग प्रेम हुनेछ । यो तपाईँको अनमोल चीजरूपी जिन्दगीसँग प्रेम भएका दिन तपाईँ स्वतन्त्र हुनुहुन्छ अनि त्यो दिन तपाईँको वास्तविक स्वतन्त्रताको दिन हो ।
मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण : डा. प्रेमराज ढुङ्गेल
प्रतिक्रिया