नेशनल डे कन्सर्टमा झुमे युवा


काठमाडौं ।

ठूला कन्सर्ट हराएर रेष्टुराँ, क्लब र लाउन्जहरूमा सीमित भइरहेकोे बेलामा सरकारले संविधान दिवसको अवसर पारेर बिहीबार राजधानीमा नेसनल डे कन्सर्ट आयोजना गरेको छ।

सरकारले संविधान दिवस मनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सहभागीतामा राजधानीको दरबारमार्गमा नेशनल डे कन्सर्ट आयोजना गरेको हो।

कन्सर्टमा गायकगायिकाहरू आनन्द कार्की, सुगम पोखरेल, दीपक लिम्बु, कुन्ती मोक्तान, देविका बन्दना, सुवानी मोक्तानलगायतले गीत संगीत प्रस्तुत गर्दा युवायुवती र किशोरकिशोरी उनीहरूको प्रस्तुतिमा झुमेका थिए। गायक दीपक लिम्बुले रातो र चन्द्र सूर्य बोलको गीत गाउँदा प्रधानमन्त्री ओली, उनकी पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायतले नेपालको राष्ट्रिय झण्डा फहराएका थिए।

कन्सर्टमा प्रधानमन्त्री ओलीले शुुभकामना दिएका थिए। ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ। कार्यक्रम अत्यन्त उल्लासका साथ भएको छ’ प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै भनेका थिए।

पूर्वनेपाल सुन्दरी सुगारिका केसीद्वारा सञ्चालित कन्सर्टमा सहभागी युवायुवती र किशोर किशोरीहरू पनि हातमा राष्ट्रिय झण्डा बोकेर रमाएका थिए। कन्सर्टका लागि सुरक्षा ब्यवस्था कडा बनाइएको थियो।