छक्का पञ्जामा पूर्वप्रेमिकालाई गालीको वर्षा


काठमाडौं ।

दशैंको अवसर पारेर आगामी २४ गते फूलपातीको दिनदेखि प्रदर्शनमा आउन लागेको फिल्म छक्का पञ्जा ५ को ब्रेकअप सङ बल्ल बुझेँ चाला तेरो त्रिताले सार्वजनिक गरिएको छ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा बाबुल गिरी र दिपाश्री निरौलाको स्वर तथा बाबुल गिरीको संगीत र शब्द रचना रहेको छ। गीतको भिडियोमा फिल्मका कलकारहरू दीपकराज गिरी, केदार घिमिरे, दीपाश्री निरौला, वर्षा सिवाकोटी, मेक्सम गौडेल, सुरवीर पण्डित र रामेश्वर केसीले अभिनय गरेका छन्।

गीतमा पूर्वप्रेमिका र प्रेमीबीचको आक्रोशलाई रमाइलो शैलीमा प्रस्तुत गरिएको छ। गीत सार्वजनिक हुना साथ यसका छोटा भिडियोहरू सामाजिक सञ्जाल फेसबुकदेखि टिकटकसम्म भाईरल बन्न पुगेको छ। गीतका शब्दलाई लिएर नकरात्मक र सकरात्मक दुबै थरी प्रतिक्रिया आइरहेको छ।
कमेडी शैलीको गीतमा केदार घिमिरे लिप्सिङ गर्छन्
बल्ल बुझेँ चाला तेरो रैछ त्रिताले
तँलाई सपिङ गरदिएको पैसा फिर्ता ले।
तँलाई सम्पत्तीको स नभाको भिखारीले पाओस्।
मलाई जुत्ती हान्ने खुट्टा तेरा मर्कीएर जाओस्।
मलाई पिठ्युँ देखाई हिँड्ने तेरा ढाडै सर्की जाओस्।
तेरो कहीँ नभाको रुपको खेती धमीराले खाओस्।
मलाई छोडी अर्कै हेर्ने तेरा आँखै पड्की जाओस्।
त्यसको जवाफमा गीतको अन्त्यतिर दीपाश्री निरौला आफैँले गाएको गीतमा लिप्सिङ गर्छिन्
बल्ल बुझँ चाला तेरो त्रिताले
तेरो पैसा लैजा मेरो वैंश फिर्ता ले
त“लाई संसारकै कोही केटीले मनै नपराओस्
मलाई अनेकथरी भन्ने मुखमा किरै परी जाओस्।
गीतको अन्त्यमा केदार भन्छन् ‘गाली गर्नु सामाजिक अपराध हो।’

लोकप्रिय अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाद्वारा निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा लेखन छ भने कथा र संवादमा उनलाई केदार घिमिरे र दीलिप तामाङले साथ दिएका छन्।

फिल्ममा आर्यन सिग्देल, निर्मल शर्मा, तेज गिरीलगायले पनि अभिनय गरेका छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन र विपिन मल्लको सम्पादन रहेको छ।