९ वर्षपछि खुल्यो धरहरा

846
Shares

काठमाडौं ।

संविधान दिवसको अवसर पारेर मुलुकको राष्ट्रिय प्रतीकको रूपमा रहेको धरहरा सर्वसाधारणका लागि खुल्ला गरिएको छ।
संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको धरहरा केही दिनका लागि निःशुल्क घोषणा गरिएको छ।

सहरी विकास मन्त्रालयले सर्वसाधारणका लागि औपचारिक रूपमा धरहरा खुल्ला भएको घोषणा गरेको हो। गत भदौ २७ गतेको मन्त्रिपरिषद्को बैठकले धरहरा खुला गर्ने निर्णय गरेलगत्तै मन्त्रालयले बिहीबारबाट खुला गरेको हो।

२०७२ सालको भूकम्पअघि धरहरा सञ्चालन र व्यवस्थापनको जिम्मा कामपालाई दिएको थियो । हाल नयाँ धरहरा संघ सरकार आफैँले सञ्चालन गर्ने तयारी गरेको छ। मन्त्रिपरिषद्को बैठकले धरहरासम्बन्धी अघिल्ला सबै निर्णय खारेज गरेको छ। अर्थात् कामपालाई व्यवस्थापनको जिम्मा दिनेसम्मको निर्णय खारेज गरेको छ।

सहरी विकास मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास)ले धरहरा चढ्ने व्यवस्था गरेको हो । करिब १० मिनेट टुप्पोमा बसेर अवलोकन गर्न पाउने व्यवस्थासहित दैनिक करिब ५ सयजनालाई चढ्नेगरी व्यवस्था गरेको हो । धरहरा परियोजना प्रमुख कोषनाथ अधिकारीले व्यवस्थित रूपमा चढ्नका लागि प्रवेशद्वारमा निःशुल्क टिकटको व्यवस्था गरेको जानकारी दिनुभयो । वेबसाइटमा टिकट बुकिङ सहज नभएसम्म धरहरा परिसरबाटै व्यवस्था मिलाएको छ।

परियोजनाले ‘धरहरा एप’ तयार गरी टिकट काट्ने व्यवस्था गर्ने तयार गरेको थियो । तत्काल सम्भव नभएपछि टिकट बुक गरेर चढ्ने व्यवस्था गरेको हो। वेबसाइट तयार भएपछि वेबसाइटबाटै इन्ट्री गर्न, बुक गर्न र क्यूआर कोड लिने व्यवस्था गर्न लागेको परियोजनाले जनाएको छ ।

बिहीबार ११ बजेबाट चढाउने तयारी गरे पनि बिहान ८ बजेबाटै सर्वसाधारणको भीड लागेको थियो । धरहरामा माथि पुग्न र तल झर्न दुईवटा विद्युतीय लिफ्टको प्रयोग गर्न पाउने व्यवस्था गरेको छ । पुरानो ११ तलेबाट २२ तले नयाँ धराहरा बनेपछि सरकार आफैँ सञ्चालन गरेको हो ।

धरहरामा तीनतले भूमिगत पार्किङ छ । यहाँ प्रशासनिक भवन र संग्रहालय तथा बगैंचासमेत बन्दै छ । हालसम्म निर्माण कम्पनीले धरहरा पुननिर्माण सम्पन्न गरेर हस्तान्तरण गरेको छैन । सबै हस्तान्तरणको काम सकिएपछि मात्रै परियोजनाले व्यवस्थापन गर्नेछ।

यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले २०७८ वैशाख ११ मा आधा काम पनि नसकिँदै धरहराको उद्घाटन गर्नुभएको थियो । त्यतिखेर धरहराको अधिकांश काम बाँकी थियो । अहिले पनि करिब ५ प्रतिशत काम बाँकी हुँदै खुला गरिएको कर्मचारीको भनाइ छ ।

तीन वर्षअघि उद्घाटनपछि पनि निर्माण चलिरहेकाले धरहरा चढ्नका लागि खुला गरिएको थिएन । धरहरा चढ्न वृद्ध, अशक्त, अपाङ्गता भएकालाई छुट्टै व्यवस्था गरिएको छ । वृद्ध अशक्त र अपाङ्गता भएका १ सय जनालाई चढ्न मिल्ने व्यवस्था गरेको छ।

धरहरा परिसरमा रहेको पुरानो धरहराको ठुटोलाई छोपेर संरक्षण गरेको छ । त्यसमा पानी, हावाहुरीले नबिग्रने गरी संरक्षण गरिएको छ । त्यस भागलाई ‘भुइँचालो स्मारक’ का रूपमा सिसाको फ्रेम (टेम्पर्ड ग्लास) ले छोपेर राखिएको छ। नयाँ धरहरा हेर्न आउनेले पुरानो धरहराको खण्डहर पनि हेर्न पाऊन् भन्ने उद्देश्यले उक्त खण्डहरलाई जोगाइएको हो। सरकारले भूकम्पले धरहरा ढलाएको ३ वर्षपछि २०७५ पुस १२ मा शिलान्यास गरेकोे थियो । हाल निर्माण भएको नयाँ धरहरा भूकम्प प्रतिरोधात्मक छ।

साढे ४२ रोपनी क्षेत्रफलमा फैलिएको गजुरसहितको नयाँ धरहराको उचाइ ७७ मिटरको छ। धरहरामा पहिलाको जस्तै भर्‍याङसँगै दुईवटा लिफ्ट छन्। त्यसैले यो धरहराको मोटाइ पहिलाको धरहराभन्दा ठूलो छ। न्युरोडक्षेत्रमा पार्किङ निषेधित क्षेत्र घोषणा गरेपछि कामपाले धरहराको भूमिगत पार्किङ क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालन गरेको छ । त्यहाँ करिब ३ सय ५० वटा गाडी र करिब ५ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने छ।

धरहरा निर्माण गर्न जीआईईटीसी–रमन जेभीसँग २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। सो ठेक्का सम्झौताअनुसार दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न हुनुपर्ने थियो। सम्झौता भएको करिब ५ वर्षपछि बल्ल ९५ प्रतिशत काम सम्पन्न भएको छ । धरहरा निर्माण लागत करिब साढे ३ अर्ब हुने अनुमान गरिएको छ।