‘पृथक् पहिचान बोकेको संविधान’


हेटौंडा । 

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, २०७२ जारी भएको दिन सारा नेपालीको लागि हर्षोल्लासको दिन रहेको भन्दै बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले इतिहासका विभिन्न कालखण्डमा नेपाली जनताको त्याग र बलिदानको उपज  संविधान नेपाली जनभावना र मर्मसापेक्ष रहेको बताएका छन् ।

संविधान दिवसको अवसरमा हेटौंडामा आयोजित प्रादेशिक कार्यक्रममा उनले संविधानले नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गरेको उल्लेख गरेका हुन् ।

नेपालको संवैधानिक इतिहासमा पहिलोपटक जनताद्वारा निर्वाचित जनप्रतिनिधिले संविधानसभामार्फत जारी संविधान आफैंमा उत्कृष्ट रहेको भन्दै उनले भने–जनताको प्रतिस्पर्धामक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानुनी राज्यको अवधारणा यसका मुख्य विशेषता हुन् । विविधतामा एकता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्द्धनमा नेपाल अधिराज्यको संविधानले जोड दिएको छ ।

‘लोकतान्त्रिक गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्नु संविधानको मार्गदर्शन हो । संविधानको मर्म र भावनालाई अक्षरसः पालना गरे देश समृद्धिको बाटोमा द्रुतगतिमा अघि बढ्नेछ,’ उनले समयअनुसार विभिन्न समयमा विभिन्न संविधान जारी भए पनि यो जनताको प्रत्यक्ष संलग्नतामा जारी भएकाले पृथक् पहिचान बोकेको संविधान हो ।

उनले थपे–संविधानले निर्दिष्ट गरेका पक्षहरुलाई कार्यान्वयन गर्दै जाँदा सकारात्मक परिणाम पक्कै आउँछ । कार्यान्वनको इमान्दारितामा सम्पूर्ण तह र तप्काबाट उचित पहल अनिवार्य छ । जनता आफैंले आफ्ना लागि जारी गरेको संविधान आफैंमा विशिष्ट छ । र, यो सम्पूर्ण देशवासीको उज्ज्वल भविष्यको द्योतक हुनेछ ।