साहित्यकार शर्माको अन्त्येष्टि, नेकपाका संस्थापकद्वारा अन्तिम श्रद्धाञ्जली


दाङ ।

 वरिष्ठ साहित्यकार गिरिराज शर्मालाई नेपाल कम्युनिस्ट पार्टी दाङका संस्थापक सेक्रेटरी नारायणप्रसाद शर्माले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका छन्। 

दाङको घोराही उपमहानगरपालिका १८ निवासी ८४ वर्षे साहित्यकार शर्माको हिजो निधन भएको थियो । नेपालको बामपंथी आन्दोलन तथा प्रगतिशील साहित्य क्षेत्रका अगुवा शर्माको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन ठूलो संख्यामा आफन्त र शुभेच्छुकहरुको उपस्थिति रहेको थियो । उनको पार्थिव शरीरमा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य रेखा शर्मा, छोरा अञ्जन पौडेल र अन्य छोरीहरुले दागबत्ती दिएका थिए।  

शर्माका दाउरेनी खण्डकाब्य, आचार–विचार बाल लघु काब्य, बुढा जोर सिमलका रुखहरु, केही कृति समीक्षा र विविध, बुढा भएछन् कलमहरु, मेरो गाउँ र मेरा भोगाइहरु, सम्झनामा मेरो अतीत र छोरीहरु (कविता संग्रह) लगायतका एक दर्जन कृति प्रकाशित छन् भने सयौँ कविता विभिन्न पत्रपत्रिकामा प्रकाशित छन् । उनले नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा ऐतिहासिक एवं नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । उनी निवृत्त शिक्षक पनि थिए ।

उनले मावि चौघेरामा प्रधानाध्यापकका रुपमा लामो समयसम्म सेवा गरेका थिए । दाङका विभिन्न विद्यालयहरु र अर्घाखाँचीको चुत्रावेशीसम्म शिक्षाको ज्योति फैलाउन महत्त्वपूर्ण योगदान गरे । विसं १९९७ साल जेठ १५ गते जन्मिएका  उनका  चार छोरी र एक छोरा छन् । उनकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भइसकेको छ । 

शर्माले राप्ती साहित्य परिषद्को स्थापनामा महत्त्वपूर्ण भूमिका खेल्नुका साथै अध्यक्षको रुपमा संस्थाको नेतृत्वगरेका थिए । शर्मा प्रगतिशील लेखक संघ दाङ शाखाको संस्थापक साथै अध्यक्ष भएका थिए । शर्माले नेपाल सरकारबाट भानुभक्त पुरस्कार र क्षेत्रीय प्रतिभा पुरस्कार प्राप्त गरेका थिए । राप्ती साहित्य परिषद्लगायतका संघसंस्थाद्वारा उनी पुरस्कृत र सम्मानित भएका थिए । 

राप्ती साहित्य परिषद्का अध्यक्ष डा. टीकाराम उदासीले शर्माको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शर्माको निधनले यस क्षेत्रको साहित्यिक, शैक्षिक र समाज रुपान्तरणको आन्दोलनमा अपूरणीय क्षति पुगेको बताएका छन् । पुस्तकालयका सल्लाहकारसमेत रहेका शर्माको निधनप्रति सर्वोदय पुस्तकालय तथा वाचनालयले दुःख व्यक्त गरेको छ । पुस्तकालयका अध्यक्ष सुशील गौतमले शोक विज्ञप्ति प्रकाशित गरी पुस्तकालयका लागि अतुलनीय योगदान दिनुभएको भन्दै उहाँको निधनमा दुःख व्यक्त गरेका छन्  ।