राष्ट्रिय नाटक महोत्सवमा कोशीको घरजम विजयी

हरिप्रसाद रिमालको शतवार्षिकीमा ८ कलाकर्मी र सञ्चारकर्मी सम्मानित


कलाकर्मी र सञ्चारकर्मीलाई सम्मान पुरस्कार प्रदान तथा नाटक महोत्सवका विजयीलाई पुरस्कार प्रदान गर्दै राजधानीमा रेडियो नेपालका प्रथम गायक, ख्यातिप्राप्त रंगकर्मी, अभिनेता तथा गीतकार स्व. हरिप्रसाद रिमालको शतवार्षिकी मनाइएको छ।

स्व.रिमालको शतवार्षिकीको अवसर पारेर राष्ट्रिय नाचघर जमलमा पहिलोपटक आयोजना गरिएको राष्ट्रिय नाटक महोत्सव २०८१ का विभिन्न विधाका विजयी तथा कला र पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कार र सम्मान प्रदान गरेर उनको शतवार्षिकी कार्यक्रम बुधबार सम्पन्न गरिएको हो।

स्व. रिमाल र उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले आइतबारबाट आयोजना गरिएको तीनदिने नाटक महोत्सवअन्र्तगत कोशी प्रदेशबाट चेतना नाट्य समूह इलामको प्रस्तुतिस्वरुप माधव भण्डारीको लेखनको नाटक घरजमले प्रथम पुरस्कार जितेको छ। विजयी नाटकलाई एक लाख रुपियाँ पुरस्कार प्रदान गरिएको छ।

सोही नाटकबाट सुरेश पोर्तेल र अन्वेश थुलुङ राईले निर्देशक तथा भावना खपाङ्गी मगरले अभिनेत्रीको अवार्ड चुमेका छन्। उनीहरूलाई पुरस्कास्वरुप जनही १५ हजार रुपियाँ प्रदान गरिएको छ।

त्यस्तै, लुम्बिनी प्रदेशबाट सहभागी गणेशप्रसाद पौडेलको लेखन र विशालकुमार केसीको निर्देशन रहेको नाटक निब ५० हजार रुपियाँसहित द्वितीय भएको छ। सोही नाटकबाट सोमनाथ खनालले १५ हजार रुपियाँसहित अभिनेताको अवार्ड चुमे। त्यस्तै, बागमती प्रदेशबाट सहभागी श्रीकृष्ण शाहीको लेखन, निर्देशन र प्रस्तुतिको नाटक सिल्भियाले तृतीय भई २५ हजार रुपियाँ प्राप्त भएको छ।

समारोहमा कार्यक्रमका सभाध्यक्ष एवम् प्रतिष्ठानका अध्यक्ष वासुदेव त्रिपाठी, रिमालकी सञ्चारकर्मी पत्नी कल्याणी रिमाल, सदस्यसचिव सम्राट सापकोटालगायतले विजयी हुनेहरूलाई ट्रफी, नगद र सम्मानपत्रसहित पुरस्कार प्रदान गरे।
सोही अवसरमा कलाकर्मी र सञ्चारकर्मीलाई हरेक वर्ष प्रदान गरिँदै आएको सम्मान पुरस्कार पनि प्रदान गरियो।

अभिप्सा सापकोटाद्वारा सञ्चालित कार्यक्रममा वर्ष २०७९ को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारबाट गणेश रसिक, हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट गायक सुदेश शर्मा, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट पुरुषोत्तम सापकोटा र हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट सञ्चारकर्मी भाष्करराज राजकर्णिकारलाई पुरस्कृत गरियो।

त्यस्तै २०८० को हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत सम्मान पुरस्कारबाट मदनदास श्रेष्ठ सम्मानित भए भने हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत विशेष पुरस्कारबाट रंगकर्मी अनुप बराल, हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मानबाट सूर्यकुमारी पन्त र हरिप्रसाद कल्याणी विशेष सञ्चार सेवा सम्मान पुरस्कारबाट पत्रकार अनन्त वाग्ले सम्मानित भए।

हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत पुरस्कारको राशी ३१ हजार एक र अन्य पुरस्कारको राशी २१ हजार एक रुपियाँ रहेको छ। समारोहमा सम्मानित व्यक्तित्वबारे अभिनेता तथा रंगकर्मीत्रय सम्राट सापकोटा, वीरेन्द्र हमाल र पुष्कर गुरुङ, पत्रकार विदुर गिरी र सञ्चारकर्मी सोमराज पोखरेलले प्रकाश पारेका थिए।

स्व.रिमालको शतवार्षिकी महोत्सवको प्रतिस्पर्धाअन्तर्गत महोत्सवमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका विभिन्न स्थानबाट प्रतिस्पर्धाका लागि सहभागी नाटकमध्ये निर्णायक समूहले चयन गरेका ६ नाटक प्रतिस्र्धाका लागि मञ्चन गरिएको थियो। नाट्यकर्मी अषेश मल्ल, हरिबहादुर थापा र पुष्कर गुरुङ निर्णायक रहेको महोत्सवमा सती कलसा, निब, नाच नौवरंगीे, लासको खेती र सिल्भियानामक नाटकले प्रतिस्पर्धाको अवसर पाएका थिए। नाटकका विजेता कलाकारले निर्णायकमध्येका एक पुष्कर गुरुङको आगामी फिल्ममा अभिनयको मौका पाउनेछन्। त्यसैगरी प्रथम भएको नाटकलाई व्यावसायिक मञ्चनमा ल्याइने भएको छ।

समारोहमा शिखर कलाकार हरिप्रसाद रिमानामक पुस्तक पनि लोकार्पण गरिएको थियो। प्रतिष्ठानका उपाध्यक्ष तथा प्राध्यापक प्रयागराज भट्टराई वशिष्ठले समारोहलाई स्वागत गर्दै रिमालको योगदानको चर्चा गरेका थिए। प्रतिष्ठानका अध्यक्ष एवं साहित्यकार प्राडा वासुदेव त्रिपाठीले रिमालको सम्झनामा उनकै कर्मथलोमध्ये एक सांस्कृतिक संस्थानमा उनको शतवार्षिकीको अवसरमा नयाँ पुस्ताका कलाकारलाई प्रतिष्ठानले सम्मान र पुरस्कार प्रदान गर्दा प्रतिष्ठान गौरवान्वित भएको बताए। प्रतिष्ठानका सदस्यसचिव एवं अभिनेता सम्राट सापकोटाले प्रतिष्ठानले व्यक्तिगत फाइदाका लागि नभई नाट्य क्षेत्रमा नवकलाकार, लेखक निर्देशक आदि जन्माउन र सम्मानका लागि महोत्सव आयोजना गरिएको बताए।

समारोहमा निर्णायकको तर्फबाट बोल्दै नाट्यकर्मी अशेष मल्लले नाटकको प्रस्तुतीकरण, कथावस्तु आदिको आधारमा विजयी नाटक चुनिएको बताए। सम्मानित कलाकर्मी र सञ्चारकर्मीको तर्फबाट मन्तव्य राख्दै कलाकार मदनदास श्रेष्ठले रिमाल आफ्नो कर्म दिने पिता रहेको जनाए। उनकै नामको सम्मानबाट सम्मानित हुन पाउँदा गौरव महसुस भएको उनले बताए।