नेपालको द स्कुल वाल रसियामा विजयी


काठमाडौं ।

नेपालको सर्ट फिल्म द स्कुल वाल रसियाको फिल्म महोत्सवमा विजेता बनेको छ। लाइट अफ द वर्ल्ड नाराका साथ आयोजित रसियाको किनो फेस्टिभलमा सहभागी विभिन्न १ सय २१ देशका ३ हजार ४ सय ९१ फिल्ममध्येबाट द स्कुल वालले पहिलो स्थान हासिल गरेको छ।

महोत्सव रसियाको रिबिन्स्क सिटीमा सेप्टेम्बर १२ देखि १६ सम्म चलेको थियो। फाइनल चरणमा अमेरिका, इन्डोनेसिया, भारत, ब्राजिल पनि सहभागी थिए। नेपालको तर्फबाट द स्कुल वाल पहिलो भएसँगै भारत दोस्रो र अमेरिकाले तेस्रो स्थान प्राप्त गरेको छ।

बालमनोविज्ञानमा आधारित द स्कुल वाल यसअघि नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल, इरानको रोसड इन्टरनेशनल एजुकेशन एण्ड साइन्टिफिक फिल्म फेस्टिभल, जिम्वाबेको भर्सिटी फिल्म एक्स्पो, बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्स र फस्ट टाइम फिल्म मेकर सेसन्समा छनोट भएको थियो। यसमा पर्खालको रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ।

लघु फिल्ममा श्लोक साहले मुख्य भूमिका निर्वाह गरेका छन् भने सुवासप्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्रप्रसाद पाण्डे, गीताश्री थापा, आयुषा गौतम, विदुरप्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेमराज कोइराला, उद्धव दंगाललगायत कलाकारले पनि अभिनय गरेका छन्। लघु फिल्ममा सुरेन्द्र क्षेत्रीको कास्टिङ डिरेक्सन र निर्माण तथा लेखन र निर्देशन मोहन अभिलाषीको रहेको छ।

कार्यक्रममा सहभागी हुनका लागि रसियन एम्बेसीले भिसा दिए पनि नेपाल सरकारले रसिया युक्रेन युद्धलाई कारण देखाउँदै रसिया प्रवेशका लागि रोक लगाएकाले सहभागी हुन नपाएको निर्माता क्षेत्रीले जानकारी गराए।

परराष्ट्रले पहिलोपटक रसिया जानेलाई एनओसी उपलब्ध नगराउने भन्दै नदिएको र सरकारले सहयोग नगरे पनि लघुफिल्ममार्फत देशको प्रतिनिधित्व गर्न पाएकोमा गर्व लागेको उनले बताए।