स्वस्थता र दीर्घ जीवनको रहस्य

3.38k
Shares

काठमाडौं ।

वरिष्ठ मानसिक रोग विशेषज्ञ डा. विश्वबन्धु शर्माले ‘अन्न बदल्ने भन्दा पकाउने तरिका सुधारौँ’ शीर्षकको मेरो अघिल्लो फिचरमा टिप्पणी गर्दै ‘चामल खाने यी (जापान, चीन, थाइल्यान्ड) देशमा अत्यधिक सागपात र माछा सेवन गरिन्छ, जसले मोटोपन हुन दिँदैन। भात मात्रै खानेहरूमा त भाते भुँडी लाग्छ’ भनेर लेख्नुभएको थियो।

वास्तवमा चामलको मात्रा धेरै खाने तर सागपात तथा हरिया तरकारी र फलफूल नखाने वा थोरै मात्रा खाने गर्दा शरीरमा मोटोपन हुने र मोटोपनका कारण विभिन्न रोगहरू उत्पन्न हुने कुरामा दुईमत छैन। इन्टरनेटमा प्राप्त पछिल्लो तथ्यांकअनुसार चामलका साथै हरियो तरकारी, फलफूल र माछा प्रशस्त खाने जापानमा अति मोटोपन (ओवीसीटी) को दर ७.६३ प्रतिशत छ भने थाइल्यान्डमा करिब १२.१० प्रतिशत र चीनमा मोटोपनको दर ८.९४ प्रतिशत छ ।

तर, गहुँ, जौ, आलु र मासुका विभिन्न परिकार ज्यादा खाने अमेरिकामा ४२.७ प्रतिशत वयस्कहरू अति मोटोपनको शिकार भएका छन् । यस्तै, किसिमको खानपान गर्ने बेलायतीहरूमध्ये २६ प्रतिशतमा अति मोटोपनको समस्या पाइन्छ भने २३ प्रतिशत जर्मनहरू र ३१ प्रतिशत अस्ट्रेलियनहरू अति मोटोपनको शिकार भएका छन् । उनीहरूमा मेटाबोलिक डिसअर्डरअन्तर्गतका रोगहरू पनि धेरै पाइन्छन् ।

तथ्यांकहरू तुलना गरेर हेर्दा दक्षिण एसिया तथा दक्षिणपूर्वी एसियाली देशहरूमा भन्दा कारखानामा उत्पादित तथा प्रशोधित खानालाई बढी प्राथमिकता दिने अस्ट्रेलिया, अमेरिका तथा युरोपेली देशहरूमा मोटोपनको समस्या र त्यसका कारण उत्पन्न रोगहरू बढी देखिने गरेको छ ।

मानिस स्वस्थ र दीर्घजीवी हुनका लागि खाना एउटा महत्वपूर्ण पक्ष भए पनि सबै कुरा भने होइन । त्यसका लागि अरू विभिन्न पक्षहरूको पनि ख्याल गरिएको हुनुपर्छ । १ सय वर्षभन्दा बढी उमेर बाँचेका विश्वका प्रमुख ५ वटा स्थानमा बस्ने मानिसहरूको खानपान हेर्दा उनीहरूले चिल्लो, चिनी र नुन बढी प्रयोग गरिएका प्रोसेस्ड खानालाई भन्दा प्राकृतिक स्वरूपको खाना त्यसमा पनि अन्न तथा फलको सम्पूर्ण भाग उपभोग गरेको देखिन्छ ।

नेसनल जोग्राफीसँग सम्बद्ध दान बट्लर र उनको टिमले गरेको अध्ययनअनुसार इटलीको सर्दिनिया, ग्रिसको इकारिया, कोस्टारिकाको निकोया, अमेरिकाको लोमालिन्डा र जापानको ओकिनावामा निरन्तर बसोबास गर्ने मानिसहरू विश्वका अन्य क्षेत्रका भन्दा औषत बढी उमेर बाँचेको पाइएको छ । अध्ययनकर्ताहरूले ती पाँचवटा क्षेत्रलाई ‘ब्लु जोन्स’ नामकरण गर्दै उनीहरूले खाने खानालाई ‘ब्लु जोन डाइट’ भनेका छन् ।

अध्ययनकर्ताहरूका अनुसार ब्लु जोनमा बसोबास गरिरहेका दीर्घजीवीहरूको ९० प्रतिशत खाना वनस्पतिमा आधारित र परम्परागत हुन्छ । उनीहरूको खानामा धेरै प्रशोधन नगरिएको अन्नको सम्पूर्ण भाग जस्तोः मैदा नभई चोकरसहितको आँटा, मिलमा कुटेर टल्काएको चामल नभई भुस मात्र निकालिएको खैरो चामल, उसिना चामल, चना, बोडी, राजमा आदि हुने गरेको छ। यस्तै, गरी बियाँहरू, हरिया खाना र अन्य बारीमा फलेका हरिया तरकारी, कन्दमूलहरू एवं सिमी, बोडीहरू, माछा र थोरै मासु हुने गरेका छन् ।

यसका साथै ब्लु जोनमा बस्नेहरू हल्का र थोरै खाना खाने गर्छन्। पेट अटेसमटेस हुने गरी नखाई पेटको ८० प्रतिशत भागमात्र भरिने गरी खान्छन्। उनीहरू साँझ नपर्दै खाना खाने गर्छन् भने बिहान सखारै तर करिब १२ घण्टाको ग्याप राखेर खाने गर्छन्। दीर्घ जीवनका लागि तौल नियन्त्रणका साथै कहिले र कति खाने भन्ने कुरा धेरै नै महत्वपूर्ण हुने अनुसन्धानकर्ताहरूको निष्कर्ष छ।

विभिन्न अध्ययनकर्ताहरूले सकारात्मक सोच र जीवनप्रतिको मोह कायम राख्नुलाई पनि दीर्घ जीवनको एउटा महत्वपूर्ण कारण मानेका छन् । सन् २०१९ मा भएको एक अध्ययनअनुसार सकारात्मक सोच राख्ने र आशावादी बन्नेहरूमा ११ देखि १५ प्रतिशतसम्म ८५ वर्ष वा सोभन्दा लामो आयु भएको पाइएको छ । सन् २०२२ मा भएको यस्तै अर्को एउटा अध्ययनअनुसार सकारात्मक सोच राख्ने र आशावादी बन्नेहरूमा दीर्घ रोग लाग्ने जोखिम कम हुने तथा ८५ वर्षभन्दा बढी उमेरसम्म जीवित रहने सम्भावना धेरै हुने हुन्छ । उनीहरूमा तनाव पनि कम हुन्छ, जबकि नकारात्मक सोच राख्नेहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कमजोर भएको पाइएको छ ।

‘जब हामी सकारात्मक सोच राख्छौँ र सकारात्मक कार्यमा व्यस्त हुन्छौँ जस्तो : व्यायाम गर्ने, ध्यान गर्ने, आफ्नो धार्मिक कार्यमा व्यस्त हुने, बाहिर घुम्न जाने, हिँड्ने, ताजा हावाको आनन्द लिने गर्दा तनाव तथा चिडचिडाहटपन कम हुन्छ’ –अनुसन्धानकर्ताहरूको भनाइ छ ।

यसका साथै मानिसहरूले सामाजिक सम्बन्ध पनि प्रगाढ बनाउनुपर्छ । अनुसन्धानकर्ता डा. करेन भन्दछन्– ‘जो व्यक्तिहरू मानिसहरूको सम्पर्कबाट टाढा रही एक्लिएका हुन्छन् उनीहरूमा सामाजिक सम्बन्ध बढी रहेका व्यक्तिहरूमा भन्दा छिटो मृत्यु हुने सम्भावना ज्यादा हुने गरेको पाइएको छ । यस्ता मानिसको रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने र क्यान्सर, मुटुसम्बन्धी रोग लाग्ने सम्भावना बढी हुने गरेको छ ।’

सन् २०२० मा भएको अर्को अध्ययनअनुसार धूमपान नगर्ने र वृद्धावस्थामा पनि सामाजिक रूपमा सक्रिय हुने व्यक्तिहरूमा १ सय वर्षभन्दा बढी बाँच्दा पनि दीर्घ रोगहरू नहुनु सामान्य भएको पाइएको छ ।

साथै, शारीरिक सक्रियता कायम राख्ने र तौल नियन्त्रण गर्नेहरू पनि स्वस्थ एवं दीर्घ रोगबाट मुक्त भएको पाइएको छ । नियमित व्यायामले दीर्घ जीवन प्राप्त हुन्छ। सन् २०२२ अगस्टमा प्रकाशित प्रतिवेदनअनुसार ठिक्क खालको व्यायाम तथा शारीरिक गतिविधि गर्ने वृद्ध महिलाहरूमा मृत्युको जोखिम कम भएको पाइएको छ, जबकि निस्क्रिय जीवन जिउनेहरूमा मृत्युको जोखिम बढी हुने गरेको छ। व्यायामका लागि हिँड्नु निकै लाभदायक मानिएको छ।