लौके झरना : एकदिने मनोरम हाइकिङ

0
Shares

हाइकिङ गरेर स्वास्थ्य र मनोरञ्जन प्राप्त गर्न चाहनेहरूका लागि काठमाडौंबाट नजिक पर्ने लौके (छहरे) झरनाको भ्रमण निकै लाभदायक हुन्छ ।

संभवतः काठमाडौं उपत्यकाबाट नजिकमा पर्ने सबैभन्दा ठूलो झरना हो छहरे झरना । छहरे झरनामा सँगसँगै दुईवटा झरना छन् र त्यसको नजिक अर्को एउटा सानो झरना पनि छ । शिवपुरी निकुञ्ज तथा शिवपुरी गाउँपालिकाअन्तर्गत पर्ने यो झरना नुवाकोट जिल्लामा पर्छ ।

काठमाडौं सामाखुसी चोकबाट टोखा हुँदै जाँदा करिब १३ किलोमिटरको दूरीमा गुर्जे भञ्ज्याङ पुगिन्छ । यो भञ्ज्याङ नुवाकोट र काठमाडौंको सिमाना पनि हो । ऐतिहासिक तथा सांस्कृतिक महत्वको पुरानो बस्ती तथा बजार टोखा कटेको केही समयमा नै हरियालीमय जंगल शुरू हुन्छ । एकातिर काठामाडौं उपत्यका शहरको दृश्य नियाल्दै उकालो चढिन्छ भने अर्कोतिर स्वच्छ हावा खाँदै हरियालीका मनोरम दृश्य अवलोकन गर्न पाइन्छ ।

गुर्जे भञ्ज्याङमा निकुञ्जको चेकपोस्टबाट अनुमति लिएर देब्रेतिर करिब दुई किलोमिटरको दूरीमा रहेको सुइरे चौरतिर लाग्न पनि सकिन्छ । गुर्जे भञ्ज्याङबाट सुइरे चौरसम्म अनुमति लिएर मोटरसाइकल लान सकिन्छ । तर, हाइकिङ नै गर्न जाँदा हिँड्नुको मज्जा नै अर्को हुन्छ । सुइरे चौर साच्चिै दृश्यावलोकनका लागि प्रकृतिले सृर्जना गरिदिएको मनै लोभ्याउने संरचना हो । यहाँबाट उत्तरतिर अर्धवृत्ताकार रूपमा पहाडी र हिमाली शृङ्खलाका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँ दृश्यावलोकन गर्ने र फोटो खिच्ने, टिकटक बनाउने युवायुवतीको भीड नै लागेको देखिन्छ ।

सुइरे चौरबाट पुनः गुर्जे भञ्ज्याङ आएर केही किलोमिटर नुवाकोटतिर तल झरेपछि देब्रेतिर लौके झरना तथा थानापती मन्दिर जाने संकेत बोर्ड र सँगै मोटर बाटो देखिन्छ । यो बाटोमा साना कार लान उपयुक्त हुँदैन, किन कि बिचबिचमा बाटो बिग्रिएको छ । तर, मोटरसाइकल भने लान सकिन्छ ।

काठमाडाैंबाटै कार लिएर जानेहरूले यही दोबाटोमा गाडी राखेर हिँडेर जान्छन् । यही दोबाटोबाट हिँडेर जाँदा करिब तीन किलोमिटरमा लौके झरना अवस्थित छ । सामाखुसी चोकबाट टोखा हुँदै जाँदा लौके झरनासम्म करिब २९ किलोमिटर हुन्छ । गुर्जे भञ्ज्याङबाट लौके झरनासम्म जाँदा बाटोमा अरू पनि सानातिना झरना देखिन्छन् । तर, लौके झरना साच्चिकै अद्भुत छ ।

झरनाको पानी तल खस्दा उडेका पानीका छिटाले बादलजस्तो बनेर २०–२५ मिटर टाढासम्म पानी परेजस्तै हुन्छ । यति टाढा बसेर फोटो चिच्दा र टिकटक बनाउँदा पनि मानिस निथु्रक्क भइसकेका हुन्छन् । यसले दिने आनन्द, मनको प्रफुल्लता बयान गरिनसक्नु हुन्छ । यो ठूलो झरनाबाट बगेको पानी र यसको सँगै रहेको अर्को सानो झरनाले बनाएको दहमा युवायुवती रमाउँदै नुहाउने गर्छन् । दिउँसोतिर काठमाडौंबाट धेरै युवायुवती यहाँ पुग्ने भएकाले निकै भीडभाड हुन्छ । बिहानै जाने हो भने हाइकिङको आनन्द प्रचुर मात्रामा लिन सकिन्छ ।

गुर्जे भञ्ज्याङबाट तलतिर लागेपछि खाना खान तथा बस्ने होटल तथा रिसोर्ट भेटिन्छन् । मूल बाटो छोडेर लौके झरनातिर लागेपछि भने खानाको व्यवस्था देखिँदैन । यो हिँड्ने बाटोमा पुगेपछि मानिसले विभिन्न खाना, खाजाको चाहना गरेको देखिन्छ । तर, यो बाटोमा खासै कुनै स्थानीय उत्पादन बेच्न राखेको पाइँदैन । स्वास्थ्यलाई हानि गर्ने शहरिया जंकफुड भने भेटिन्छ । बिदाका दिनहरूमा थुप्रै पर्यटकको आगमन हुने भए पनि स्थानीय बासिन्दाले त्यसको लाभ लिन सकेको देखिन्नँ । यसमा स्थानीय सरकारले चासो दिएको पाइएन ।

लौके झरना जानका लागि उपयुक्त मौसम भदौ असोज हो । किनभने यस सिजनमा झरनामा पानीको मात्र धेरै हुन्छ । हाइकिङ तथा दृश्यावलोकनका लागि भने अरू महिनामा पनि जान सकिन्छ । लौके झरना जानका लागि सार्वजनिक बसको सुविधा पनि छ । आफ्ना सवारी साधन लिएर पनि जान सकिन्छ । जंगलको मूल बाटो पूरै ढलान भएकाले सुविधाजनक छ ।