एन्फाको योजना नयाँ रंगशाला बनाउने

नयाँ बन्ने रंगशालामा २५ देखि ४० हजार दर्शक अट्ने

4.51k
Shares

काठमाडौं ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा एउटा रंगशाला बनाउन तयारी गरिरहेको छ। गत कार्यसमितिको बैठकमा यो एजेन्डा राखिएको थियो। नयाँ रंगशाला बनाउन २२ लाख अमेरिकी डलर विनियोजन गर्ने समेत एन्फाले खुलाएको छ। यो भनेको नेपाली करिब २६/२७ करोड रकम हो।

एन्फा २५ देखि ४० हजार दर्शक अट्ने रंगशाला बनाउने योजनामा छ । यो रंगशाला अन्तर्राष्ट्रिय मापदण्डको हुने र आधुनिक शैलीमा बन्ने एन्फाले जनाएको छ । हाल त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला, ललितपुरमा रहेका च्यासल मैदान र एन्फा कम्प्लेक्समा रहेको एन्फा मैदान उपत्यकामा रहेका रंगशाला हुन् ।

दशरथ रंगशाला अन्तर्राष्ट्रिय मापदण्ड नभएपछि विश्वकपका केही छनौट खेल नेपालमा हुन सकेन । अन्तर्राष्ट्रिय मापदण्डको कारण खेल नभएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एन्फासँग दशरथ रंगशालाको अधिकार खोसियो र राखेपले नै रेखदेख गरियो । यसको बावजुद केही महिनाअघि एएफसी च्यालेन्जको लिग खेलमा मैदान हिलाम्ये भएपछि आलोचना खेप्नुपरेको थियो।
नयाँ रंगशाला बनाउन सोच सकारात्मक हो।

अहिले नेपालमा एउटा नयाँ रंगशाला आवश्यक नै भइसकेको छ । एन्फाले रंगशाला बनाउने तयारीको लागि सरकारसँग जग्गा उपलब्धि गराउन समेत निवेदन राखेको छ । काठमाडौंमा जग्गा त कतै बाँकी छैन, बने पनि शायद काठमाडौंबाहिर नै बन्नेछ । एकपटक कर्मा छिरिङ शेर्पाको कार्यकालमा एन्फाले भक्तपुरतिर रंगशाला बनाउने योजना बनाएको थियो । शेर्पाको एन्फा अध्यक्षबाट पद गएपछि यो योजना भताभुंग भएको छ ।

तर, एउटा प्रश्न यो छ कि रंगशाला बनाउँदैमा फुटबलको विकास हुन्छ भनेर ठोकुवा गर्न सकिँदैन । यसको लागि चीनको ज्वलन्त उदाहरण दिन सकिन्छ । चीनसँग पर्याप्त धन छ, तर चाइनिज फुटबल टिमले विश्वमा कुनै नाम फैलाउन सकेन । अरु खेलमा राम्रै पकड भएको चीनको फुटबल हालत दयनीय छ ।

चीनले २००२ मा विश्वकप फुटबलमा सहभागिता जनाएको थियो । यसपछि भने चीनले विश्वकपमा खेल्न सकेको छैन । २००२ मा पनि जापान र दक्षिण कोरियाले संयुक्तरुपमा विश्वकप आयोजना गरेपछि चीनले सहभागिता जनाउन मौका मिलेको थियो । चीनसँग नजिकका प्रतिद्वन्द्वी राष्ट्रहरु जापान र दक्षिण कोरियासँग प्रतिस्पर्धा गर्ने नै सक्षम छैन । यहाँसम्म कि उत्तर कोरियासँग पनि चीन कमजोर नै छ ।

नेपालमा अन्तर्राष्ट्रिय मापदण्डको रंगशाला बनाउँदैमा फुटबलको विकास रातारात हुने होइन । पहिले त एन्फाले खेलाडी बचाउनेतिर हेर्नुपर्छ । राष्ट्रिय खेलाडीको तलब ३० हजार बनाएपनि एन्फा पदाधिकारीहरुले लाखौं तलब खान्छन् । यो दुरीले नै नेपाली खेलाडीलाई हतोत्साहित गर्न पर्याप्त हुन्छ । अर्को नेपालमा लिग नै नियमित हुँदैन । लिग नभएपछि खेलाडी पलायन हुन्छन् नै । अनि, विरान रंगशालाको के नै औचित्य होला ?

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले खेलाडी पलयान हुनबाट रोक्न व्यस्त राख्नुपर्ने श्रेष्ठले बताए। ‘खेलाडीलाई मुख्य रुपमा व्यस्त राख्नुपर्छ । खेल वर्षमा चार पाँच वटा नियमित रुपमा आयोजना गरिराख्नुपर्छ । यसले खेलाडीलाई विदेश पलायनबाट रोक्न धेरै मद्दत गर्छ । यदि, खेलाडीलाई खेल्न नदिएमा उनको दिमागमा विभिन्न खालको कुरा आउँछ । खेल्न नपाएपछि उनीहरु निरास हुन्छन् । यसले गर्दा खेलाडी पलायन हुने हो । यसैले संघहरुले खेलाडीलाई व्यस्त राख्नै पर्छ यदि नेपाली खेलकुद बचाउने हो’ उनले भने ।