नेपाल प्राकृतिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक हो । नेपालको संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि यहाँका कतिपय प्राकृतिक सम्पदाहरूमा धार्मिक र सांस्कृतिक गतिविधिहरू बढ्न थालेका छन्। यसपछि नै प्राकृतिक विविधतासँगै जोडिएका नेपालका यस्ता प्राकृतिक स्थलहरू धार्मिक एवं सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण बन्न थालेका छन्। प्राकृतिक स्थलहरूसँग जोडिएका विविध धार्मिक विश्वासले पनि ती स्थलहरू अझ लोकप्रिय बन्न थालेका हुन् । यस्ता प्राकृतिक सम्पदाहरूमा नदीनाला, तालतलैया, प्राकृतिक विविधतायुक्त स्थलहरू पर्दछन्। यस्तै प्रसिद्ध स्थलहरूमध्ये गोसाइँकुण्ड पनि एक रहेको छ । जसको प्राकृतिक महत्वसँगसँगै धार्मिक एवं सांस्कृतिक महत्व पनि रहेको पाइन्छ ।
गोसाइँकुण्डको दर्शन गरेमा मनोकांक्षा पूरा हुने कुराले स्थानीयहरूमा ठूलो विश्वास रहेको गोसाइँकुण्ड गाउँपालिकाकै स्थानीय दावा लामा बताउनुहुन्छ । ‘पहिले–पहिले प्रचारप्रसारको अभावमा यो क्षेत्रको पर्यटन खासै फस्टाएको थिएन तर वर्तमान समयमा प्राकृतिकभन्दा बढी धार्मिक आस्था लिएर आगन्तुकहरू आउने गरेको पाइन्छ’ –उहाँले भन्नुभयो । हिन्दुहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमाको अवसरमा त मेला भर्न र कुण्डको दर्शन गरी नुहाउन आउने पर्यटकहरूको भीडभाडले यो क्षेत्रको सांस्कृतिक महत्वलाई अझ बढाएको छ ।
गोसाइँकुण्ड पुग्न मुख्य चुनौती :
समुद्र सतहदेखि ४,३८० मिटरको उचाइमा अवस्थित यो कुण्ड लामटाङ राष्ट्रिय निकुञ्ज तथा लामटाङ हिमालको काखमा रहेको छ । काठमाडौंबाट करिब ४ दिनको समयमा गोसाइँकुण्ड भ्रमण पूरा गर्न सकिन्छ भने सवारीसाधनको यात्रा भने रसुवा सदरमुकाम धुन्चेसम्म मात्र गर्न सकिन्छ । गोसाइँकुण्ड भ्रमण गर्न यात्रुहरूले पैदल यात्रा अनिवार्यरूपमा गर्नुपर्ने हुन्छ । पैदल यात्रा गर्न नसक्नेहरूले धुन्चेभन्दा केही अगाडि घट्टेखोलाबाट पैदलको विकल्पमा घोडसवार गर्न सक्छन् । तर, घट्टेखोलाबाट माथि उकालो जानुपर्ने र फर्किंदा ठाडो ओरालो बाटो पर्ने भएकाले कतिपय ठाउँमा घोडामा अडिएर ओरालो यात्रा गर्न कठिन हुने देखिन्छ । यसर्थ उकालो जान पूरै घोडसवार सम्भव भए पनि फर्किंदा भने ती ठाउँमा पैदल हिँड्नुपर्छ ।
यससँगै उचाइ बढ्दै जाँदा लेक लाग्ने र यात्रुहरूलाई अक्सिजनको कमी महसुस भई अल्टिच्युड सिकनेसको समस्या पनि देखिने जोखिम रहन्छ । यसैले दीर्घ रोग भएका र दमको समस्या भएका यात्रुहरूले यात्रामा विशेष सावधानी अपनाउन जरुरी छ । यसका लागि आवश्यक औषधी साथमै लानुपर्ने हुन्छ भने एकै दिन धेरै माथिल्लो उचाइसम्म यात्रा नगरी क्रमशः उचाइमा जानु उपयुक्त मानिन्छ ।
यसरी पुग्न सकिन्छ गोसाइँकुण्ड :
सामान्यतया रसुवा सदरमुकाम धुन्चेबाट करिब एक दिनको यात्रामा गोसाइँकुण्ड पुग्न सकिने भए तापनि ३,९०० मिटर उचाइमा अवस्थित लौरीविनायकसम्म पुगेर बास बस्नु उपयुक्त हुन्छ । किनकि, त्यहाँबाट भोलिपल्ट बिहानै करिब साढे दुई घण्टा ठाडो उकालो यात्रा पूरा गरेपछि गोसाइँकुण्ड पुगिन्छ भने बिहानको समयमा त्यहाँबाट देखिने प्राकृतिक सौन्दर्य निकै मनमोहक हुन्छ । यसै गरी गोसाइँकुण्डभन्दा करिब दुई सय मिटर बढी उचाइमा अवस्थित सूर्यकुण्ड र यसवरपर रहेका अन्य विभिन्न कुण्डहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ । दिउँसो १२ बजेपछि गोसाइँकुण्ड आसपासको मौसममा एकाएक परिवर्तन आउने भएकाले पनि त्यहाँ बिहानीको समयमा पुगेर दर्शन गर्नु र त्यसवरपरको दृश्यावलोकन गर्नु उपयुक्त हुन्छ।
गोसाइँकुण्ड जान मुख्य मार्ग भने रसुवाको सदरमुकाम धुन्चे भएर नै हो । यद्यपि, काठमाडौंको सुन्दरीजल हुँदै चार दिनको पदयात्रा गरेर पनि ४,६१० मिटरको उचाइमा अवस्थित सूर्यकुण्ड हुँदै गोसाइँकुण्ड पुग्ने वैकल्पिक पदमार्ग रहेको छ।
काठमाडौंबाट गाडीमा जाने यात्रुहरू भने रसुवा सदरमुकाम धुन्चेमा पहिलो दिन बास बसेपछि भोलिपल्ट बिहानै पैदल यात्रा प्रारम्भ गर्छन् । यहाँबाट अघि बढेपछि करिब ४५ मिनेट तेर्सो र केही ओरालो यात्रापछि मिनी गोसाइँकुण्ड पुगिन्छ । माथि वास्तविक गोसाइँकुण्ड दर्शन गर्न नसक्ने यात्रुहरू यही मिनी गोसाइँकुण्डसम्म मात्र पुगेर दर्शन गरी फर्किने पनि गर्दछन् । यसभन्दा अगाडि घट्टेखोलाबाट उकालो बाटो प्रारम्भ हुन्छ । १,९६० मिटर उचाइ रहेको घट्टेखोलामा सामान्य खाजा र चिया खाने पसलहरू पाइन्छन् । यहाँबाट माथि उकालो चढेपछि करिब डेढ घण्टामा २,३०० मिटर उचाइमा अवस्थित खेन्दी पुगिन्छ । खेन्दीमा पनि यात्रुहरूका लागि खान–बस्न मिल्ने केही होटलहरू रहेका छन् । यहाँका होटलहरूमा माथि जाने पर्यटकहरूभन्दा बढी फर्किने पर्यटकहरू खाने र बास बस्ने गर्दछन् । खेन्दीबाट करिब डेढ घण्टा ठाडो उकालो चढेपछि देउराली पुगिन्छ, जुन २,५०० मिटरको उचाइमा रहेको छ । यहाँ पनि खान–बस्न मिल्ने होटलहरू रहेका छन् ।
यस क्षेत्रको भ्रमण गर्न शरद ऋतु उपयुक्त रहेको छ। बाटोमा भेटिने विभिन्न झरना, जंगलमा चरिरहेका चौँरीहरू, यस भेगमा पाइने लेकाली वनस्पति एवं जडिबुटीहरू, माथिल्लो उचाइबाट देखिने हिमाली सौन्दर्य आदि नै गोसाइँकुण्ड यात्राका प्रमुख आकर्षण हुन्। गोसाइँकुण्ड दर्शन गर्न जाने यात्रुहरूले शरद ऋतुमा जानु उपयुक्त हुन्छ।
देउरालीबाट माथि चढ्न निकै ठाडो उकालो बाटो पर्दछ भने यस क्षेत्रमा ठूलो वनक्षेत्र पनि पर्दछ, जहाँ कहिलेकाहीँ चितुवा आक्रमणको जोखिम पनि हुने गर्दछ । यसैले यो बाटोमा समूहमा सँगै यात्रा गर्दा बेस हुने देखिन्छ भने बिहान–बेलुकी नियमित यात्रा गर्ने र एकल यात्रुले भने चितुवा आक्रमणबाट सुरक्षित रहन ठूलो आवाजमा स्पिकरमा गीत बजाएर हिँड्दा जोखिम कम हुने स्थानीय व्यवसायी पेम्बा शेर्पा बताउनुहुन्छ । देउरालीबाट करिब डेढ घण्टाकै उकालो बाटो पार गरेर ३,१०० मिटर उचाइको ढिम्सा पुगिन्छ । २,५०० मिटरको देउरालीबाट ३,१०० मिटर उचाइमा रहेको ढिम्सा पुग्ने बाटोको दूरी छोटो भए पनि निकै ठाडो उकालो रहेको छ । यसैले यात्रुलाई बढी उकालो बाटो र उचाइ बढ्दै गएपछि ढिम्सा पुुग्दा थकाइ महसुस हुन्छ । ढिम्सामा बस्न चाहने यात्रुहरूका लागि पनि होटल–लजको व्यवस्था रहेको छ । यहाँबाट अगाडि करिब एक घण्टा उकालो चढेपछि ३,३०० मिटर उचाइमा रहेको चन्दनबारी पुगिन्छ, जहाँ खान–बस्न राम्रो सुविधा भएका होटलहरू पाइन्छन् । हाल चन्दनबारीसम्म बिजुलीको सुविधा पुगेकाले इन्टरनेटको सुविधा पनि यात्रुहरूले उपयोग गर्न पाउँछन् ।
चन्दनबारीमा नै दुग्ध विकास संस्थानले सञ्चालन गरेको फ्याक्ट्रीमा चौँरीको दूधबाट उत्पादित घिउ, छुर्पी र चिजजस्ता वस्तुहरू खरिद–बिक्री हुने गर्दछन् । यहाँबाट करिब एक–डेढ घण्टा दम्स्याइलो उकालो यात्रापछि ३,५०० मिटर उचाइमा रहेको चोलाङपाटी पुगिन्छ । चोलाङपाटीमा पनि यात्रुहरूको सुविधाका लागि खाने–बस्ने सुविधासहितका होटलहरू पाइन्छन् । चन्दनबारी र चोलाङपाटीमा चौँरी गाईको शुद्ध दूध पनि किनेर खान पाइने सुविधा रहेको छ । ३,००० मिटरदेखि ३,५०० मिटरको उचाइमा चौँरीपालन व्यवसाय फस्टाउने भएकाले पनि यात्रुहरूले यो सुविधा पाउने गर्दछन् । चौँरीको दूध र दुग्धजन्य पदार्थहरू उत्पादन र बिक्री यस क्षेत्रको मौलिकता रहेको छ । चोलाङपाटीबाट करिब दुई घण्टा उकालो चढेपछि लौरीविनायक पुगिन्छ । चोलाङपाटीबाट उकालो चढ्न थालेपछि अक्सिजनको कमी पनि महसुस हुने गर्दछ । किनकि, उक्त क्षेत्रमा उचाइ बढ्दै जाँदा स–साना बुट्यानहरू मात्र पाइने र त्यसबाट अक्सिजन उत्पादनमा कमी हुने गर्दछ । यसैले दूरी छोटो भए पनि पार गर्दा आरामसँग शरीरलाई सहज महसुस हुने किसिमले यात्रा गर्नु उपयुक्त हुने देखिन्छ ।
लौरीविनायकबाट आकाश खुलेको अवस्थामा हिमालका मनोरम दृश्यहरू अवलोकन गर्न पाइन्छ भने छिन्–छिन्मा बदली भइरहने प्रकृतिले पनि थप आनन्द प्रदान गर्दछ । लौरीविनायकमा बास बसेपछि यात्रुहरूलाई ३,९०० मिटरको उचाइमा घुलमिल हुन सहज हुन्छ र अगाडिको यात्रा तय गर्न पनि सहज हुने भएकाले धेरै यात्रुहरू यहीँ बास बसेर भालिपल्टमात्र गोसाइँकुण्ड पुग्ने गर्दछन्। धर्ती र आकाशमा देखिने विविध सुन्दर दृश्यहरू नियाल्न पनि लौरीविनायक उपयुक्त मानिने धारणा स्थानीय होटल व्यवसायी याङ्जी शेर्पा बताउनुहुन्छ।
लौरीविनायकबाट माथि बुद्धमन्दिरसम्म निकै ठाडो उकालो छ, जुन हेर्दा नजिकै देखिए पनि पार गर्न कठिन हुन्छ र बुद्धमन्दिर पार गरेपछि मात्र बाटो दम्स्याइलो हुँदै जान्छ । बुद्धमन्दिरबाट करिब एक घण्टाको पैदल यात्रामा गोसाइँकुण्ड पुगिन्छ । बुद्धमन्दिरबाट गोसाइँकुण्डसम्म फलामको बार लगाएर यात्रुहरूलाई यात्रा सहज बनाइएको छ। लौरीविनायकभन्दा माथि कुनै प्रकारका बोटबिरुवाहरू देख्न पाइँदैनन् भने यहाँको जमिन करिब ६ महिना हिउँले ढाकिने भएकाले गर्मी महिनामा मात्र उम्रने विभिन्न झारहरू र केही लेकाली फूलहरू मात्र पाइन्छन्। यस क्षेत्रमा काला–काला र अग्ला चट्टानहरू मात्र देख्न सकिन्छ । ४,३८० मिटरको उचाइमा अवस्थित गोसाइँकुण्ड पुग्दा चारवटा खान–बस्न मिल्ने होटलहरू पाइन्छन् । गोसाइँकुण्डमा उसिनेको एउटा अण्डाको १५० र सादा दालभातको ६५० रुपियाँ तिरेर खानुपर्दा त्यस ठाउँको विकटता र बाध्यता त्यहाँ जाने हरेक यात्रुले सहजै महसुस गर्न सक्छन्।
भ्रमणको महत्व उपयुक्त मौसम :
रसुवा भौगोलिक, प्राकृतिक दृष्टिले जटिल प्रकृतिको हिमाली जिल्ला हो । यसैले यस क्षेत्रको भ्रमण गर्न शरद ऋतु उपयुक्त रहेको छ । बाटोमा भेटिने विभिन्न झरना, जंगलमा चरिरहेका चौँरीहरू, यस भेगमा पाइने लेकाली वनस्पति एवं जडिबुटीहरू, माथिल्लो उचाइबाट देखिने हिमाली सौन्दर्य आदि नै गोसाइँकुण्ड यात्राका प्रमुख आकर्षण हुन् । गोसाइँकुण्ड दर्शन गर्न जाने यात्रुहरूले शरद ऋतुमा जानु उपयुक्त हुन्छ । किनकि शरद ऋतुमा मौसम सफा हुने र हिमाली र पहाडी दृश्यहरूमा रमाउन सहज हुने देखिन्छ । यसै गरी शरद ऋतुमा नै पर्ने हिन्दुहरूको महत्वपूर्ण पर्व जनै पूर्णिमाको अवसरमा यहाँ लाग्ने मेला पनि गोसाइँकुण्डको अर्को सांस्कृतिक महत्व रहेको छ ।
प्रतिक्रिया