बाबु छोराको सम्बन्धमा काँधेकुरी


काठमाडौं ।

सल–ड्रामा जनरामा गन्धर्व परिवारको कथामा आधारित फिल्म पूर्ण बहादुरको सारंगीमा समावेश काँधेकुरी बोलको गीत युट्युबबाट सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा प्रशान्त शिवाकोटीको शब्द, संगीत र स्वर रहेको छ। छोरो सहर जाँदै गरेको बस हेर्दै गरेको बिछोडको दृश्यबाट सुरू हुने गीतमा फिल्मका मुख्य कलाकार विजय बरालका अनुहारमा छोरालाई पढ्न सहर पठाउँदा देखिएको वियोग देखिन्छ। गीतमा बाउबाजेको पालादेखि नै सारंगी रेटेर माग्दै हिँड्नु परे पनि छोराले मागेर हिँड्नु नपरोस् भन्ने अपेक्षा छ। गीतको भिडिओमा विजयसँगै चलचित्रका अर्का मुख्य कलाकार प्रकाश सपूत फिचर्ड छन्।

प्रकाशले गाउँ छोडेर सहर गएको, पढेको, गाउँ फर्किएर सारंगी बजाउन सिकेको दृश्य छ। गीतले बुबा र छोराको सम्बन्धको कथाल देखाउने प्रयास गरेको छ।

सरोज पौडेलको लेखन तथा निर्देशनमा निर्माणाधिन फिल्ममा विजय बराल र प्रकाश सपूतका साथमा मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, अलिसा बास्तोला, श्याम केसी, जानवी पौडेललगायतले अभिनय गरेका छ।

सेभेन सिस सिनेमा र बाँसुरी फिल्म्स्को व्यानरमा विनोद पौडेल र प्याट्रिक सुवेदीद्वारा निर्मित फिल्मलाई नेपाल र अन्तर्राष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ।

आगामी कात्तिक १५ गते रिलीज हुने फिल्ममा पटकथा र संवाद महेश दवाडी, संगीत प्रशान्त सिवाकोटी, सारंगी हेमन्त कान्छा रसाइली तथा स्वर प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको छ। फिल्ममा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल कार्यकारी निर्माता रहेका छन्।