कंगनाद्वारा हिरोहरुमाथि शोषणको आरोप


एजेन्सी ।

बलिउड कलाकार कंगना रनावतले बलिउडमा शोषण हुने गरेकोे र मेसेज गरेर घरमा बोलाउने गरेको आरोप लगाएकी छन्।
भारतको दैनिक जागरणका अनुसार एक कार्यक्रमका दौरान कंगनाले बलिउड फिल्म नगरीका महिलाका साथ भइरहेको शोषणका बारेमा चर्चा गरेकी छिन्।

‘बलिउडका हिरोहरू महिलाको सम्मान गर्दैनन्’ दैनिक जागरणको अनलाइन सेवाका अनुसार कंगनाले कार्यक्रममा भनेकी थिइन् ‘तपाईंलाई थाहा छ यिनीहरू महिलाको शोषण कसरी गर्छन्? यिनीहरूलाई मेसेज गरेर महिलाहरूलाई घरमा डिनरको लागि बोलाउँछन्। तपाईं कोलकात्ता दुष्कर्मवाला मामलालाई नै लिनुस्। मलाई धेरैपल्ट रेपको धम्की आयो। हामीलाई थाहा छ कि हामी महिलाको इज्जत गर्दैनौं। फिल्म इन्डस्ट्री पनि यसबाट अलग छैन। कलेजका केटाहरू महिलाप्रति कमेन्ट गर्छन्। हिरोहरू पनि यसबाट पर छैनन्। वर्कप्लेसमा उनीहरूको साथ के हुन्छ हामी सबैलाई थाहा छ।’

कंगनाले कोरियोग्राफर सरोज खानको पुरानो अभिव्यक्तिको सम्झना पनि गराइन्। ‘सरोज खानलाई एकपटक बलिउड फिल्म इन्डस्ट्रीमा हुने बलात्कार र यौन उत्पीडनको बारेमा सोधिएको थियो। उनले भनेकी थिइन् बलात्कार त गर्छन्, तर रोटी पनि दिन्छन्। बलिउड फिल्म इन्डस्ट्रीमा हाम्रा छोरीहरूको यही स्थिति छ’ कार्यक्रममा कंगनाले भनेको कुरा उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ।

कंगना हाल फिल्म इमरजेन्सीलाई लिएर चर्चामा छिन्। उनी फिल्म र करियरभन्दा पनि विभिन्न विषयमा टिप्पणी गरेर र अभिव्यक्ति दिएर चर्चामा आउने गर्छिन्।