काठमाडौं ।
सहकारी संस्थामा सर्वसाधारण नागरिकले बचत गरेको रकम अपचलन भएको सम्बन्धमा छानबिन गर्न गठित संसदीय समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको संलग्नता पुष्टि गर्दै कारबाहीका लागि सरकारलाई सिफारिस गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीप्रति जनताको जुन भरोसा थियो अब त्यो छताछुल्ल भएर सार्वजनिक भएको छ।
पार्टीभन्दा पनि व्यक्ति केन्द्रित रहेको सो पार्टीका अध्यक्ष लामिछानेको मिलेमतोमा ६५ करोडभन्दा बढी रकम अपचलन भएको निष्कर्षसहित सूर्य थापा संयोजक रहेको समितिले कारबाही सिफारिस गरे पनि लामिछानेसहितका मण्डलीले भने आफूले समितिबाट क्लिन चिट पाएको भन्दै अझै भ्रमको खेतीका लागि आसेपासे प्रयोगलाई निरन्तरता दिएको देखिन्छ। समितिले कारबाहीका लागि सरकारलाई सिफारिस गर्ने प्रतिवेदन सार्वजनिक गरेको भए पनि लामिछानेसहितका नेताहरु भने अझै जनतालाई ढाँट्न सकिन्छ कि भन्ने दाउमा लाग्नु राजनीतिका लागि लज्जाको विषय हो।
परम्परावादी दलका कारण मुलुक बिग्रिएको भन्दै नयाँ दल खोलेर राजनीतिमा आएका लामिछाने केही वर्षमा नै आलोचित हुन पुगेका छन् । वाकपटुताको कला भए पनि ठाउँ–ठाउँमा ‘अपराध’ गर्दै हिँड्ने लामिछानेका कारण सो पार्टीमा लागेका केही इमानदार नेता तथा कार्यकर्तामाथि भने दाग लाग्न पुगेको छ। आफू सिसाको घरमा बसेर अर्काको घरमा ढुंगा हान्दै आएका लामिछानेको दलमाथि अहिले जुन गम्भीर आरोप लागेको छ, यसले उनीहरुको राजनीतिक भविष्यमाथि प्रश्न उठाइदिएको छ। ‘जसको जन्म जसरी हुन्छ उसको पतन पनि त्यसै गरी हुन्छ’ भन्ने नेपाली भनाइलाई रास्वपाको जन्म र पतन पनि त्यसरी नै हुन थालेको टिप्पणी विश्लेषकहरुले गर्न थालेका छन्।
राजनीतिभन्दा पनि गालीगलौज गरेर राजनीतिमा स्थापित हुने चरणमा रहेको लामिछानेको पार्टी रास्वपाको भविष्यमाथि समेत प्रश्न उठ्न थालेको छ। लामिछानेको विगतलाई सूक्ष्म विश्लेषण गर्ने हो भने पनि उनको छवि विवादै विवादमा रहेको देखिन्छ। विभिन्न सञ्चारमाध्यममा कार्यरत रहँदा उनले खेलेको भूमिका नै शंकास्पद देखिन्छ। अस्थिर स्वभावका लामिछाने आफ्नो पूजा गर्नेहरुलाई मात्रै चेपेर हिँड्ने र आलोचकलाई भने उसको जीवन नै बरबाद बनाइदिने खालको चरित्र रहेको विगतका काम–कारबाहीले पुष्टि गरेको छ।
पुराना दलको विकल्पको रुपमा आफूलाई प्रस्तुत गर्दै आएका लामिछानेको पछिल्लो हर्कतले उनी के हुन् भन्ने आम नागरिकमा छर्लंग बनाइदिएको छ। अब यो वा त्यो जे भने पनि लामिछाने ‘चोखो’ छैनन् भन्नेमा कुनै शंका बाँकी रहेन । हिजो राणा–शाही, पञ्चायतविरुद्ध लडेर आएका पार्टीका नेताहरु व्यक्तिगत स्वार्थमा लाग्दा मुलुकको अवस्था कहाँ पुर्याइदिए, यो सोचनीय विषय बनिरहेको बेला कुनै राजनीतिक उद्देश्य नै नबोकी स्थापना भएको रास्वपाको भविष्यमाथि समयमा नै प्रश्न उठाउने काम स्वयं लामिछानेबाट छोटो समयमा छरपस्ट भएपछि जनता धेरै दिन भ्रममा बस्नुपरेन।
सहकारी प्रकरणमा दोषी देखिएका लामिछाने मात्र होइन, अब नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादीका नेता तथा कार्यकर्तालाई पनि कारबाहीको दायरामा ल्याइनुपर्छ । जनताको डुबेको पैसा फिर्ता गराउनेतर्फ सरकार सजग भएर लाग्नुको विकल्प छैन ।
प्रतिक्रिया