किशोरावस्थामा साइबर बुलिङको खतरा


किशोरावस्था एक संवेदनशील समय हो । यस उमेरमा किशोरकिशोरीले विभिन्न किसिमका सामाजिक, शारीरिक र भावनात्मक परिवर्तनको सामना गर्नुपर्छ । डिजिटलउन्मुख युगमा किशोरकिशोरीले साइबर बुलिङ अर्थात् इन्टरनेट वा डिजिटल माध्यमबाट हुने दुव्र्यवहारको पनि सामना गर्नुपरिरहेको हुन्छ । यसले गर्दा उनीहरूले तनाव, डर र एक्लोपन महसुस गर्न सक्छन् । साथै ब्ल्याकमेलिङ, आर्थिक, शारीरिक शोषण र यौन तथा भावनात्मक दुव्र्यवहारको सामना गर्नुपरिरहेको हुन्छ । त्यसकारण केही उपाय अपनाएर साइबर बुलिङबाट जोगिने प्रयास गर्नुपर्छ ।

सामाजिक सञ्जाल वा अन्य अनलाइन प्लाटफर्ममा आफ्नो गोपनीयता सेटिङलाई मजबुत बनाउनुपर्छ । आफ्नो ठेगाना, फोन नम्बर, स्कुल, कलेजको विवरण आदि सार्वजनिक गर्नुहुँदैन । धेरै साथी बनाउने धुनमा अपरिचित मानिसलाई साथी बनाउनुहुँदैन । अपरिचितसँग अनावश्यक च्याट गर्ने, फोटो तथा आफ्ना गोपनीयताका विषय शेयर गर्नुहुँदैन । अनलाइनमा अपरिचित व्यक्तिसँग सम्पर्क राख्दा सावधान रहनुपर्छ ।

अपरिचित व्यक्तिले पठाएका सन्देश, अनुरोध वा फाइललाई बेवास्ता गर्नुपर्छ । अनलाइन प्लाटफर्ममा व्यक्तिगत जानकारी आदान–प्रदान गर्नुहुँदैन र उनीहरूका मिठा र आकर्षक कुरामा विश्वास गर्नुहुँदैन ।
यदि कसैले साइबर बुलिङ ग¥यो वा अनुचित सामग्री वा सन्देश पठायो भने उसलाई तुरुन्त ब्लक गर्नुपर्छ । साथै त्यसबारे प्रहरीको साइबर सेल वा त्यस्तै खालका अन्य प्रशासनिक निकायमा तुरुन्तै जानकारी दिने वा उजुरी गर्ने गर्नुपर्छ । यसले गर्दा त्यस्ता व्यक्तिलाई कारबाही गर्न र अपराध नियन्त्रण गर्न सहयोग पुग्छ ।

साइबर बुलिङबाट बच्नका लागि इमेल र सामाजिक सञ्जालका आफ्ना खाता अरूले सजिलै थाहा पाउन नसक्ने पासवर्ड प्रयोग गर्नुपर्छ र पासवर्ड दुई–चरणमा प्रमाणीकरण गर्ने किसिमको राख्नुपर्छ । साथै यस्ता पासवर्ड आफ्ना परिचितलाई पनि शेयर गर्नुहुँदैन । साइबर क्याफे वा आफ्नो मोबाइल, आइप्याड वा कम्प्युटरबाहेक अरूको प्रयोग गर्दा राम्ररी लगआउट गर्न बिर्सिनुहुँदैन ।

सामाजिक सञ्जालमा पोस्ट गरेका कुराले तपाईंको मनोविज्ञानलाई अरूले सजिलै विश्लेषण गर्न सक्षम हुने मात्र होइन, तपाईं कहाँ कोसँग के गर्दै हुनुहुन्छ भन्नेलगायत व्यक्तिगत कुरासमेत अरूले थाहा पाई साइबर बुलिङ गर्नसक्ने भएकाले सामाजिक सञ्जालमा व्यक्तिगत जानकारी, फोटो वा विचार सार्वजनिक गर्दा यसले कसरी असर पर्न सक्छ भन्नेबारे राम्ररी सोच्नुपर्छ ।
साइबर बुलीले प्रायः प्रतिक्रियालाई प्रोत्साहन दिने र जालमा फसाउने भएकाले यदि कसैले अनलाइनमा अपमानजनक टिप्पणी गर्छ भने उनीहरूलाई प्रतिक्रिया दिनुभन्दा बेवास्ता गर्नु राम्रो विकल्प हुनसक्छ ।

साइबर बुलिङको सिकार हुँदा एक्लोपन वा निराश महसुस हुन सक्छ । यस्तो अवस्थामा आफ्ना भावना र अनुभवलाई अभिभावक, शिक्षक वा विश्वासिला मित्रसँग शेयर गर्नुपर्छ । यसो गर्दा सही सहयोग प्राप्त हुनसक्छ ।