काठमाडौंमा श्रमिक बालबालिकाको उद्धारमा एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनको अग्रता

0
Shares

काठमाडौँ ।

नेपालमा आर्थिक अभाव तथा गरिवीका कारण बालबालिकाहरु घर छोडेर बालश्रमिक बन्न बाध्य हुँदैछन् ।
यस अवस्थामा राज्यका तिनै तहको सरकारले बाल अधिकारका बिषयमा बनेका नियम कानूननको पालना गर्ने गराउँने निकायलाई तदारुकताका साथ अघि बढाउँनुपर्ने देखिन्छ ।

हरेक दिन जस्तो बालबालिका हराएको, अपहरणमा परेको, चोरी डकैतीमा प्रयोग गरिएको जस्ता घटनालाई गम्भीरतापूर्वक लिनुपर्छ । राष्ट्रिय श्रम शक्ति सर्वेक्षण प्रतिवेदनअनुसार करिव २१ लाख ४० हजार बालबालिका आर्थिक रूपमा सक्रिय छन् । प्रतिवेदनअनुसार १६ लाख बालबालिका श्रमिककै रूपमा कार्यरत छन् भने तीमध्ये ६ लाख २० हजार बालबालिका निकृष्ट प्रकारको श्रममा संलग्न छन् ।

कानुनले १८ वर्षमुनिका बालबालिकाले काम गर्दा त्यसलाई बालश्रम भन्छ । बालबालिका सम्बन्धी ऐन २०७५ को ७ मा संरक्षणको अधिकार तोकिएको छ । ऐनको क्रमसङ्ख्या ९ मा १४ वर्ष मुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन वा घरेलु कामदार वा कमलरीको रूपमा राख्न नहुने व्यवस्था गरिएको छ ।

यसै सन्दर्भमा सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि सिन्धुपाल्चोकका १३ वर्षीय एक बालकलाई मयुर यातायातमा सहचालकको रुपमा काम गर्दै आएका बालकलाई काठमाडौँ महानगरपालिकाले उद्धार गर्यो र घर फर्काउँन खोज्यो । उनी घरको अवस्था सम्झेर फर्कन मानेनन र महानगरपालिकाकै रोहबरमा एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा आश्रयको लागि पठाएकाे छ ।

उद्धारपछि बालक भन्छन् पढाईलाई निरन्तरता दिने चाहना राखे ‘एस्थर बेन्जामेनले पढ्न सहयोग गरेको छ ।’ त्यसतै भोजपुरका १४ वर्षिय एक बालक साथी लहै लहैमा लागेर काठमाडौं आए । ललितपुर महानगरपालिकाको महालक्ष्मी नगरपालिकामा रहेको ग्रिल कारखानाबाट हालै उनको उद्धार गरि ललितपुर महानगरले एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनमा पठायो । उनी भन्छन ‘तिन महिना ग्रिल कारखानामा काम गरे पारिश्रमिक पनि पाइन र पढ्न पनि पाइन ।’ अहिले पढ्न पाउँदा धेरै खुसी लागेको छ ।

यस्तै कथावेथा सिन्धुलीका अर्का १४ वर्षीय बालकको छ । उनकी आमाले छोडर गएपछि बुबासँग भक्तपुर आएर इँटा भट्टामा काम गर्दै थिए । उनीसँगै उनका सानो भाइ र बहिनी पनि त्यही इँटा भट्टामा बुबाकै साथमा काम गर्न थाले । बालक भन्छन ‘मेरो बुबा दैनिक ज्याला मजदुरी गर्थे र उनको कमाईले खानपनि नपुग्नेभएपछि हामी तीनजना बालबालिका पनि पढाई छोडेर बुबासँगै काम गर्न थाल्यौ ।’ उनीहरुको पिडालाई पनि एस्थर बेन्जामिन्सले उद्धार गरेका कारण पुनः पढ्न र खान बस्न पाएका छौ ।

यस्ता थुप्रै बालबालिकाहरुलाई एस्थर बेन्जामिन्स मेमोरियल फाउन्डेसनको चाइल्ड सेफ हाउसमा देख्न सकिन्छ । फाउन्डेसनका उद्धार संयोजक दिलु तामाङले अहिले घरपरिवारको समस्याका कारण बालबालिका घर छोडेर विभिन्न किसिमको श्रममा लाग्न बाध्य भएको बताउँछन् । यसरी घरछोडेका बालबालिका विगतलाई सम्झेर घर फर्कन चाहदैनन तामाङ भन्छन् । यो संस्थाले ‘बालबालिकाहरूलाई परिवारमा फर्कने चाहना नगरेसम्म र सुरक्षित वातावरण नभएसम्म घर नपठाउँने अठोट गरेकोछ ।’
यो फाउन्डेसनले पहिला पनि विभिन्न क्षेत्रका करिब १ हजार बालबालिकाको उद्धार गरिसकेको छ ।

विशेष गरी भारतका सर्कस हाउसहरू र नेपालमा जोखिमपूर्ण क्षेत्रबाट संस्थाले बालबालिकालाई उद्धार गरेको जनाएकोछ ।
फाउन्डेसनका कार्यकारी निर्देशक आत्माराम थापाले बाल अधिकारको क्षेत्रमा उल्लेखनीय काम भइरहेको भए पनि बालश्रम मुक्त समाज निर्माण गर्न सरकार, नागरिक समाज र गैरसरकारी संस्थाहरुसँग तीनै तहको समन्वय र सहकार्य महत्वपूर्ण हुनेमा जोड दिन्छन् । उनको कामको अनुभवमा बालबालिकालाई हिंसा र दुर्व्यवहारबाट जोगाउनुपर्छ । राज्यको नीति तथा समाजको सजगताकै कारणे पछिल्लो ५ महिनामा विभिन्न क्षेत्रमा बाल श्रमिकको रूपमा कार्यरत ५१ जना बालबालिकाको काठमाडौँ महानगरले उद्धार गरेको जनएको छ ।

सन् २०२१ को नेपाल बाल श्रम प्रतिवेदनअनुसार १० लाख ८० हजार बालबालिका श्रममा छन् । कुल बालबालिकामध्ये १६ प्रतिशत बालश्रममा रहेको तथ्याङ्कले देखाउँछ । त्यसमा पनि दुई लाख बालबालिकालाई अत्यन्त जोखिमपूर्ण श्रम शोषण भएको देखिन्छ । कर्णाली प्रदेशमा २५ प्रतिशत, सुदूरपश्चिममा २१ प्रतिशत र कोसी प्रदेशमा १८ प्रतिशत बालबालिका श्रम शोषणमा रहेका छन् । समग्रमा दलित समुदायका बालबालिका २० प्रतिशत श्रम शोषणमा परेका छन् ।

उपत्यका आसपासमा विभिन्न क्षेत्रबाट आई बसोबास गर्ने र बालश्रममा लागाएको पाईएपछि १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई उद्धार गरेको काठमाडौँ महानगर बाल कल्याणकी अधिकारी शान्ता पहाडी बताउँछिन् ।
उनका अनुसार पछिल्लो समय जोखिममा रहेका २७ जना बालिका र २४ जना बालकको उद्धार गरिएको छ । तीमध्ये २३ जनालाई अस्थायी संरक्षण गृहमा राखिएको छ भने २८ जनालाई परिवारमा पुनर्मिलन गराइयो । उनले सडक बालबालिका र विभिन्न क्षेत्रमा काम गर्ने केही बालबालिकालाई पढाइलाई निरन्तरता दिन र घर फर्काउन गाह्रो भएको बताइन् । उनी भन्छिन् ‘घर फर्कन गाह्रो भएको केही बालबालिकालाई महानगरले आश्रय स्थलमा पठाएको छ ।’


छात्रावास र यातायात क्षेत्रमा काम गर्ने बालबालिका जोखिममा रहेको र राज्यबाट संरक्षण आवश्यक रहेको बताइन् । जोखिममा रहेका बालबालिकालाई रातो, पहेँलो र हरियो गरी तीन रङ्गमा वर्गीकरण गरिएको छ । १८ वर्ष मुनिका बालबालिका, जसले दिनको ८ घण्टा भन्दा बढी काम गर्नुपर्छ, यौन हिंसा र दुर्व्यवहारको सामना गर्नुपरेको छ वा भोगिरहेको छ भने रातो श्रेणीमा वर्गीकृत गरिएको छ । दिनमा दुईदेखि पाँच घण्टा काम गर्नुपर्ने र फोहोर मैला र दुर्व्यवहार गर्ने, पेट भरी खान नपाउने र पर्याप्त सुत्न नपाउने बालबालिकालाई पहेँलो वर्गमा राखिएको छ ।

त्यस्तै शारीरिक र मौखिक दुर्व्यवहार नगरिएका र पर्याप्त शैक्षिक सामग्री उपलब्ध गराइएका, परिवारसँग नियमित सम्पर्कमा रहेका, पर्याप्त खानामा पहुँच भएका र सुत्नको लागि ओछ्यान र कोठा भएका बालबालिकालाई हरियो श्रेणीमा वर्गीकरण गरिएको छ ।