सामान्यले गर्‍यो रातारात २ सय ५० बढीको सरुवा

अझै ‘व्याकडेट’मा थप सरुवाको प्रयास

20.49k
Shares

–सरुवामा आर्थिक चलखेल  भएको आरोप 

–भदौ महिनामा मात्रै ६ सय बढीको जथाभाबी सरुवा 

–यस अघि गरिएको सयौँको सरुवा अझै  गोप्य 

–प्रवक्ता  बेखबर

–मुख्य सचिवकै अध्यक्षतामा बसेको  बैठकको निर्णय उल्लङ्घन 

काठमाडौँ। 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हिजो भदौ महिनाको अन्तिम दिन सोमबार एकै पटक २ सय ५० भन्दा बढी  कर्मचारीको अन्तरमन्त्रालयगत  सरुवा गरेको छ । मन्त्रालयले सोमबार राती एकै पटक त्यति ठुलो संख्यामा कर्मचारीको सरुवा गरेको हो  । रातको समयमा गरिएको सरुवा अपारदर्शी भएको र आर्थिक चलखेल समेत भएको भन्दै केही कर्मचारीले असन्तुष्टि  जाहेर गरेका छन् । 

 मन्त्रालयले विभिन्न सेवा समूहका खरिदारदेखि उपसचिवसम्मका २ सय ५० भन्दा बढी कर्मचारीको सरुवा गरेको हो । यो सरुवामा विभिन्न मन्त्रालय र निकायमा कार्यरत खरिदारदेखि उपसचिवसम्मका कर्मचारीहरु  परेका छन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिन त्यति ठुलो संख्यामा कर्मचारी सरुवाको निर्णय गरेपनि त्यसलाई औपचारिक सार्वजनिक भने  गरेको छैन । मन्त्रालयका एक अधिकारीले निजामती सेवा ऐन र नियमावलीमा उल्लेखित भदौमा सरुवा गर्ने तालिका अनुसार अन्त्ररमन्त्रालयगत सरुवा गरिएको र केहि सरुवा मिलान गर्नुपर्ने भएकाले तत्काल सार्वजनिक गर्न नसकिएको बताए । उनका अनुसार सोमबार २ सय ५० भन्दा बढी कर्मचारीको सरुवा निर्णय भएको छ । 

सामान्यले केही दिन अघि मात्रै विभिन्न गाउँपालिकाका लागि १ सय प्रमुख प्रशासकीय अधिकृतको पदस्थापन तथा सरुवा गरेको थियो । भदौ महिनाभरमा गरी मन्त्रालयले ५ सय भन्दा बढी कर्मचारीको अन्तरमन्त्रालयगत  सरुवा गरिसकेको छ । तर, अधिकांश सरुवा अपारदर्शी भएको आरोप मन्त्रालयको राजनीतिक र प्रशानिक दुबै नेतृत्व माथि लाग्दै आइरहेको छ । शुक्रवार पनि मन्त्रालयले राती अबेर २ सय ५० बढी  कर्मचारीको सरुवा गरे पनि त्यसलाई गोप्य राख्नुले चलखेल भएको सहजै विश्लेषण गर्न सकिने केही कर्मचारीको आरोप छ ।

 यस अघि गरिएका अधिकांश सरुवा समेत सार्वजनिक गरिएको छैन । सरुवा सूची सार्वजनिक नगरिनु, रातारात सरुवा गर्नु , एक पटक गरिसकेको सरुवा फेरि बारम्बार सच्याउनु , ब्याक डेटमा सरुवा गर्नु लगायतका प्रवृत्ति अत्यधिक देखिएकाले सरुवामा व्यापक आर्थिक चलखेल भएको दाबी मन्त्रालयका केही कर्मचारीको छ । 

 मन्त्रालयले निजामती सेवा नियमावली अनुसार भदौ महिनामा गर्ने अन्तरमन्त्रालयगत  सरुवाको लागि भदौ महिनाको पहिलो साता  इच्छुकहरुलाई निवेदन दिन समेत आब्हान गरेको थियो । त्यसपछि मन्त्रालयमा सयौँ निवेदन परेको थियो । सामान्यको नेतृत्वमाथि  सो निवेदनलाई आधार मानेर  भन्दा पनि सोर्स, फोर्स, पहुँच र आर्थिक लाभलाई हेरेर सयौँ कर्मचारीको सरुवा गरेको आरोप लागेको छ । सामान्यले यस अघि कर्मचारी सरुवा मापदण्ड बनाएर सोही अनुसार कर्मचारीको सरुवा गर्ने नीति बनाएको थियो तर मापदण्ड  बनाएर सरुवा गर्दा आर्थिक चलखेल गर्न नपाइने भएपछि मापदण्ड नै नबनाई धमाधम मनलाग्दी सरुवा गर्दै आएको थियो । केही  महिना अघि तत्कालीन  मुख्य सचिव डा वैकुण्ठ अर्यालको  अध्यक्षतामा बसेको सचिव बैठकले समेत  कर्मचारी सरुवा मापदण्ड बनाएर मात्रै  सामान्यले कर्मचारी सरुवा गर्नुपर्ने र मादपण्ड नवनाउदासम्म सरुवा नगर्ने  निर्णय गरेपनि सो निर्णय समेत बारम्बार उल्लङ्घन हुँदै आएको छ । 

   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार आज मंगलबार इन्द्रजात्राका दिन उपत्यकामा सार्वजनिक विदा भएपनि मन्त्रालयका केही  कर्मचारीहरु सरुवाको काम गर्नकै  लागि बिहानै देखि  मन्त्रालय गएका छन् । हिजो राती गरिएको सरुवामा केही  व्यवस्थापन गर्न तथा आज हिजोको व्याक डेटमा थप सरुवा गर्नका लागि मन्त्रालयमा केही कर्मचारीहरु बिहानै देखि तैनाथ भएको स्रोतको दाबी छ । 

 संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता कालीप्रसाद  पराजुलीले भने मन्त्रालयले हिजो (सोमबार) राती केही कर्मचारीको सरुवा गरेको जानकारी आफूले पाएपनि के कति संख्यामा सरुवा गरियो भन्ने बारेमा आफू बेखबर भएको बताए । ‘सरुवा चाहि निजामती सेवा नियमावलीको तालिका अनुसार नै भएको होला तर  के कसरी भयो , के कस्ता मापदण्ड अपनाइए र कति संख्यामा सरुवा भए  भन्ने बारेमा मलाई खासै जानकारी भएन । ’प्रवक्ता पराजुलीले नेपाल समाचारपत्रसँग भने । प्रवक्ता पराजुलीले सरुवा भएकाहरुको सूची आफुसँग पनि आइनसकेकाले थप केही  भन्न नसकिने बताउदै सोमबार राती  सरुवा भएकाहरुको सूची भोलि बुधवार सम्म  सार्वजनिक गर्न आफूले आवश्यक पहल गर्ने स्पष्ट पारे ।