बहुसांस्कृतिक मुलुक नेपाल अथाह सांस्कृतिक सम्पदाका कारण विश्वमा परिचित छ । यतिबेला नेपालले विश्वसामू देखाउने हैसियत भनेकै आफ्नो सांस्कृतिक वैभव हो । नेपालका यी संस्कृति–सम्पदाहरूले नेपाल कुनै बेला यो क्षेत्रकै सर्वाधिक सम्पन्न मुलुक थियो भन्ने इतिहास पनि दर्शाउँदछ। नेपालको यो वैभव उजागर गर्न सक्षम यहाँका विभिन्न संस्कृतिहरू मध्ये एक इन्द्रजात्रा पनि हो । स्थानीय नेपाल भाषामा ‘यँयाः’भनिने पर्व इन्द्रजात्रा उपत्यकाका तीन वटै नगर र छेउछाउका नेवाःगाउँहरूमा पनि मनाइने भएपनि यसको उत्कृष्ट स्वरुप भने राजधानी काठमाडौंमै देख्न पाइन्छ।
लगातार आठ दिन आठ रात मनाइने यो जात्रामा कुनै बेला मुलुकको राजा र प्रजा एकैसाथ सहभागी हुने गर्दथे ।राजा महाराजाहरू समेत प्रत्यक्ष संलग्न हुने भएरै हुनुपर्छ, इन्द्रजात्रा धार्मिक–सांस्कृतिक रुपले मात्र होइन, राजनीतिक रुपले पनि उतिकै महत्वपूर्ण पर्व हो । इन्द्रजात्रा आजको मितिसम्म पनि यति भव्य हुनुको पछाडि यसको धार्मिक–सांस्कृतिक पक्षका साथसाथै राजनीतिक पक्षको पनि उतिकै भूमिका रहेको पाइन्छ।
इतिहास हेर्ने हो भने इन्द्रजात्रा लिच्छविकालदेखि नै प्रचलनमा रहँदै आएको देखिन्छ । लिच्छवि राजाहरू शिवदेव र अंशु वर्माले वि.सं. ६६१ मा पाटनको लेलेमा राखेको शिलापत्रमा इन्द्रजात्रा सम्बन्धी गुठीको आयस्ता व्यवस्था गरिएको उल्लेख छ। उक्त शिलापत्रमा त्यतिबेला प्रचलित अन्य विभिन्न गुठीहरूका लागि पनि आयस्ताको व्यवस्था गरिएको विवरण उल्लेख गरिएको छ।
राज्यले नै आयस्ता सहितको गुठी व्यवस्था गरिदिएकाले इन्द्रजात्रा त्यतिबेलै लोकप्रिय भइसकेको अनुमान गर्न सकिन्छ।
मल्लहरुको राज्य शुरु भएपछि इन्द्रजात्राको महिमा झनै विस्तार भयो । मल्ल राजाहरू इन्द्रजात्रालाई अत्यन्त भव्यपूर्वक मान्ने गर्दथे । राजा प्रताप मल्ल एकपटक हनुमानढोका दरवारमा बनाउन लागिएको पोखरीको लागि पानी खोज्दै जाँदा रानीवनमा अलि केही दिन बस्नुपर्ने अवस्था भएछ । त्यही बेला इन्द्रजात्रा पनि आयो । राजा प्रताप मल्लले रानीवनमै बसेर इन्द्रजात्रा मनाए (डानियल राइट, हिस्ट्रि अफ नेपाल) । त्यस्तै ने.सं. ८०८ तिर काठमाडौं र ललितपुरका काजीहरू मिलेर भक्तपुरमा हमला गरेका रहेछन् । लडाईं चलिरहेकै बेला इन्द्रजात्रा शुरु भयो । काजीहरू जम्मै लडाईं छोडेर इन्द्रजात्रा मनाउनतिर लागे । जात्रा सकेपछि फेरि लडाईं गर्न गए (पं. देवीप्रसाद लम्साल, भाषावंशावली, भाग २) । राजा जयप्रकाश मल्लका पालामा पनि इन्द्रजात्रा भव्य रुपमा मनाउने गरिन्थ्यो । गोर्खाका राजा पृथ्वीनारायण शाहले कान्तिपुर आक्रमणको तयारी गरिरहेको थाहा हुँदाहुँदै पनि उनले इन्द्रजात्रा मनाउन छोडेनन् ।
फलतःवि.सं. १८२५ को इन्द्रजात्राकै दिन पृथ्वीनारायण शाहले तीनतिरबाट घेरा हाली काठमाडौंमा आक्रमण गरे र सत्ता हात पारे। इन्द्रजात्रा पर्वलाई भव्य बनाउन विभिन्न मल्ल राजाहरूले विभिन्न नाचहरू पनि थपेको पाइन्छ । जयप्रकाश मल्लले त यही जात्राको अवसर पारेर जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवको रथ यात्रा चलाउने चलनै शुरु गरेका थिए ।
राजा जयप्रकाश मल्ल श्री कुमारीको रथ सँगसँगै नै नगर परिक्रमा गरिरहन्थे । राजापनि रथमै हुने भएकाले सर्वसाधारण पनि कुमारीको पूजा गर्ने बहानामा जात्रामा सहभागी हुन्थे । यसरी धेरै मानिसले चढाएको पूजा ग्रहण गर्दै अघि बढ्दा रथयात्रा रातभर पनि चल्ने गर्दथ्यो ।
श्री कुमारीको रथ यात्रा चलाउने चलन जयप्रकाश मल्लले नै शुरु गरेका थिए । यो रथ यात्रा शुरुमा दुई दिनको मात्रै थियो । माथिल्लो भेग (थःने) र तल्लो भेग (क्वःने) मा रथ परिक्रमा गरेपछि जात्रा समापन हुन्थ्यो । जयप्रकाश मल्ल धार्मिक मात्र होइन स्त्रीलम्पट पनि थिए । काठमाडौंका विभिन्न ठाउँका महिलाहरूसँग उनको शारीरिक सम्बन्ध थियो । त्यस्तै एक महिला किलागल टोलमा पनि बस्दथिन् । उनको बोलाउने नाम ‘नानी’थियो ।
उनले आफ्नो घर मुनिबाट पनि रथयात्रा चलाउनु प¥यो भनी जिद्दी गरेकीले जयप्रकाश मल्लले उनको घरतिरबाट पनि रथ घुमाउने गरी जात्रा नै एक दिन थप गरेका थिए भन्ने जनश्रुति पाइन्छ । त्यही थप भएको रथ यात्रालाई ‘नानीचायाः’ भनिन्छ । इन्द्रजात्राको अन्तिमदिन यो यात्रा हुन्छ ।इन्द्र जात्रामा राजनीतिक हस्तक्षेपको यो प्रत्यक्ष उदाहरण हो ।
शाहकाल लागेपछि यसको भव्यता अझै बढ्न गयो । किनभने तत्कालिन नेपालमा शाहकालको आरम्भ नै इन्द्र जात्राको दिनदेखि शुरु भएको थियो । शाह राजाहरूले इन्द्र जात्रालाई धार्मिक–सांस्कृतिक पर्व भन्दापनि आफूले काठमाडौं जितेको विजयोत्सवका रूपमा बढी मान्दथे ।
आठ दिनसम्म मनाइने इन्द्र जात्राको प्रमुख दिन भनेको पूर्णिमाको पर्व हो । उक्त दिनलाई ‘यँयाःपुन्हि’ भनिन्छ । प्रमुख दिन पूर्णिमा भएपनि शाह राजाहरूले पूर्णिमाको अघिल्लो दिन सार्वजनिक बिदा दिने चलन चलाए, किन भने पृथ्वीनारायण शाहले पूर्णिमाको अघिल्लो दिन नै काठमाडौं जितेका थिए ।
त्यसपछि हरेक वर्ष इन्द्र जात्राका दिन पर्व मनाउने भन्दापनि काठमाडौं जितेको उत्सव मनाउन थालियो । शाह राजाहरू इन्द्र जात्राका दिन कुमारीको रथ यात्रा हुँदा अत्यन्त तडक भडक साथ हात्ती चढेर रथको पछि पछि नगर परिक्रमा गर्दथे । राजा चढ्ने हात्तीमा सुनको मोलम्बा गरिएको हौदा राखिएको हुन्थ्यो ।
राजाको पछि प्रधानमन्त्री र अरु भारदारहरू पनि आआफ्नो ओहोदा अनुसार हात्ती वा घोडा चढेर यात्रामा सहभागी हुन्थे । राणाकालमा त्यो तडक भडक झनै चुलिएको थियो । राणा प्रधानमन्त्रीहरू त्यति बेला नगर परिक्रमा गर्दै आउँदा कुनै घरको झ्यालमा सुन्दर महिलाहरू बसेको देख्यो भने त्यहाँ असर्फी छरेर जाने गर्दथे । यात्रामा आउने राजा र प्रधानमन्त्रीको दायाँ बायाँ हतियारले सुसज्जित सैनिकहरू पनि परेड गर्दै आउने गर्दथे । यो एक किसिमको सैन्य प्रदर्शन नै थियो । इन्द्रजात्रा शुरु हुने भाद्रकृष्ण द्वादशीकादिन हनुमानढोका दरवार परिसरमा इन्द्रध्वज (यःसिं) उठाउने गरिन्छ । पहिले पहिले यःसिं उठाउने कार्यमा पनि राजा स्वयं उपस्थिति हुने गर्दथ्ये ।
यो वास्तवमा इन्द ्रजात्रा भन्दा पनि गोर्खा राज्यले काठमाडौं जितेको उत्सवको प्रदर्शन थियो । २००७ सालमा प्रजातन्त्र आइसकेपछि इन्द्रजात्रामा गरिने यो विजय परेड बन्द गरियो । प्रजातन्त्र आइसकेपछि गठन भएको पहिलो सरकारले नै यो प्रदर्शन बन्द गर्ने निर्णय गरेको थियो । २००८भदौ २७ गते तत्कालीन गृह मन्त्रालयले गजेटमै प्रकाशन गरेर यो परेड बन्द गर्ने जानकारी गराएको थियो ।
उक्त गजेटमा भनिएको थियो, ‘…इन्द्रजात्रा बारेमा परापूर्वकालदेखि चलि आएको धर्म सम्बन्धी जात्राहरू साबिक बमोजिम गर्ने र विजय परेडको हकमा साम्प्रदायिक भावना जति सक्यो उति हटाउन श्रेय हुनाले सो अबदेखि बन्द गर्ने मन्त्रिमण्डलमा निर्णय भयो ।’
(गृष्मबहादुर देवकोटा, नेपालको राजनीतिक दर्पण, प्रथम भाग) । उक्त गजेटबाट इन्द्र जात्रालाई शाह–राणा शासकहरूले आफ्नो विजयउत्सवका रुपमा शक्ति प्रदर्शन गर्ने अवसर बनाउँदै आएको प्रष्ट हुन्छ ।
२०१७ सालमा प्रजातन्त्रको अपहरण भयो । त्यसपछि इन्द्र जात्रालाई पुनःगोर्खा शासकले विजयोत्सवकै रुपमा मनाउने प्रयास गरेको पाइन्छ । वि.सं. २०२५ सालमा इन्द्र जात्रा पर्वलाई पृथ्वीनारायण शाहले काठमाडौं जितेको २००औं वर्षको विजयोत्सवका रुपमा मनाउने कार्य भएको थियो । शासन सत्तामा शाह राजाको शक्ति बलियो भएको उक्त अवसरमा इन्द्र जात्रालाई पुनःगोर्खा विजयकै स्वरुप दिन थालिएको थियो ।
इन्द्र जात्रा मूलतःइन्द्रको जात्रा हो । इन्द्र स्वर्गका राजा हुन् । इन्द्रलाई अत्यन्त सुरवीर, लडाकु र निडर राजाका रुपमालिने गरिन्छ । त्यसैले मत्र्यलोकका राजाहरूले इन्द्रलाई आराधना गर्ने परम्परा चलेको देखिन्छ । खास गरी वैदिक दर्शन प्रति आस्थावान राजाहरूले इन्द्रको आराधना गर्नाले आफ्नो राज्य र शासनको सुरक्षा हुने एवं शत्रुले आक्रमण गर्न नसक्ने विश्वास गर्दछन् ।
इन्द्र स्वर्गको राजाभएको कारणले उनको जात्राले राजनीतिक रुप धारण गर्न पुग्नु स्वाभाविक हो । त्यसैले राजाहरूकालागि इन्द्रजात्रा गर्नुको तात्पर्य शक्ति आर्जन गर्नु हो । तर उपत्यकाका जनताले भने इन्द्रलाई राजाका रुपमा भन्दा पनि वर्षाका देवता र स्वर्गका अधिपतिका रुपमा मानेको देखिन्छ । इन्द्र स्वर्गका देवता भएको कारणले स्थानीयवासीहरूले स्वर्गबास भएका आफ्ना नातागोताहरूको सुखावती भुवनमाबास होस् भन्ने कामना गरी यो पर्व मनाउने गरेको पाइन्छ ।
यो पर्वसँग जोडिएको उपाकु वने, दागिं, बौमत आदि सांस्कृतिक कार्यहरू पितृसँग सम्बन्धित छन्। त्यस्तै भैरवको मुखबाट जाँड अर्पण गर्नु पनि मुलतःपितृको नाममा गरिएको तान्त्रिक विधिको तर्पण नै हो भन्ने विश्वास गरिन्छ। उपत्यकामा इन्द्र जात्रा मनाउने मौसम पनि धानवाली पाक्ने समयमा पर्न आउँदछ । इन्द्रलाई वर्षा गराउने देवताको रुपमा पुजिन्छ। धानवालीको लागि प्रशस्त पानी पारिदियो, अब वर्षा रोकिदिए हुन्छ भनेर प्रार्थना गर्न उपत्यकावासीले इन्द्र जात्रा मनाएको मानिन्छ।
यसरी इन्द्र जात्रा यसको धार्मिक मान्यताकै कारण पनि राजनीतिसँग नजिक रहेको देखिन्छ भने शासकहरूले पनि यसलाई त्यही रुपमा मनाउँदै आइरहेको पाइन्छ। लिच्छविकालदेखि नै इन्द्र जात्रासँग जोडिएको यो शासकीय सम्बन्ध मल्लकाल, शाहकाल हुँदै अहिले गणतान्त्रिक कालमा पनि जारी नै रहेको देखिन्छ। अहिले यो पर्व कुनै शासकको विजयोत्सव वा राज्य सत्ता बचाउने अनुष्ठानका रुपमा मनाउने नगरिए पनि राष्ट्राध्यक्ष लगायत राज्यसत्ताका सबै उच्च पदाधिकारीहरूको प्रत्यक्ष संलग्नता यसमा रहँदै आएको छ । त्यसैले इन्द्र जात्रा ‘राजादेखि रंकसम्म’ सबै वर्ग, सबै जाति र सबै क्षेत्रको साझा पर्वका रुपमा विद्यमान रहँदै आएको देखिन्छ ।
प्रतिक्रिया