यो वर्षको इन्द्रजात्रा : पहिलोपटक दर्जन बढी विशेषता

1.03k
Shares

–सबै बाजा खलःको एउटै धुन
–दिउँसै रथ तान्ने व्यवस्था
–सबै गुठीको अभिलेखीकरण
–ड्रोनबाट सुरक्षा निगरानी

काठमाडौं ।

आइतबारबाट शुरू भएको यो वर्षको इन्द्रजात्रामा दर्जन बढी विशेषता हुनेछन्। इन्द्रजात्रामा पहिलोपटक जात्रा तथा गुठी अभिलेखीकरण शुरू गरिएको छ। जसमा युवाको बढी सहभागिता रहेको छ। बाजा बजाउनेदेखि, रथयात्रा हुँदै स्वस्फूर्त स्वयंसेवा गर्नेमा युवाकै संख्या बढी छ।

इन्द्रजात्रा व्यवस्थापन गर्न गठित ८ वटा उपसमितिका संयोजक रहेका गणपतिलाल श्रेष्ठले यो वर्ष नयाँ प्रविधिदेखि शान्तरथ यात्रासम्मको योजना तयार भएको बताउनुभयो। ‘यो वर्ष हामीले नेवाः समुदायबाहेक रथयात्रामा रथ तान्न इच्छा राख्ने स्वदेशी र विदेशी पर्यटकलाई रथ तान्न दिने व्यवस्था गरेका छौं। त्यसका लागि सबै उपसमितिका पदाधिकारीले आ–आफ्नो किसिमको व्यवस्थापन गरेका छन्’ –संयोजक श्रेष्ठले भन्नुभयो। त्योभन्दा पनि अर्को विशेषता बाजा खलःले एउटै बोलबाट बाजा बजाउने भएका छन् । यसअघि फरकफरक गुठीले फरक–फरक धुन बजाउने परम्परालाई हटाएर व्यवस्थित जात्रा गर्न सबै बाजा खलःले एउटै धुनबाट बाजा बजाउने भएका हुन् ।

रथयात्रामा बालबालिका, ज्येष्ठ नागरिक, पर्यटकलाई समेत जात्रा हेर्न सहज रूपमा व्यवस्था गरेको छ । त्यसका लागि सबैलाई तोकेर रथयात्रा हेर्ने व्यवस्था मिलाइएको छ । संयोजक श्रेष्ठले यो वर्ष दिउँसो २ बजेबाटै रथ तान्ने गरी व्यवस्थापन गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘उज्यालोमै रथ तान्ने छौं ।’

‘जीवित देवी कुमारी, भैरव र गणेशलाई सिक्का चढाउने प्रथा रोकिने भएको छ । सिक्काले हिर्काउने परम्परा रोक्न प्ले कार्डसहितको युवा टोलीले रथ तान्ने स्थानमा सहभागिता जनाउनेछन् । इन्द्रजात्रा शुरू हुनुअघि समितिका पदाधिकारीले कोर क्षेत्रको घरघरमा माइकिङ गरिरहेका छन् । समितिले सिठ्ठी फुकेर दर्शनार्थी तर्साउने व्यवस्थामा रोक लगाएको छ । रथयात्रासँगै माइकिङ गरी भीड व्यवस्थापन हुनेछ’ –श्रेष्ठको भनाइ थियो । सुरक्षा अवस्थालाई ध्यानमा राखेर रथको चारैतिर न्यून मात्रामा जिम्मेवार व्यक्तिले मात्र सुरक्षा दिने व्यवस्था गरेको छ । सुरक्षा निगरानी गर्न सुरक्षाकर्मीको सहयोगमा ड्रोनले सुरक्षा निगरनी गर्ने व्यवस्था गरेको छ ।

काठमाडौं महानगरपालिकासँग समन्वय गरी गल्ली नामक मोबाइल एप्लिकेसनमार्फत् रथको रुटको बारेमा जानकारी दिनेछ । रथको चार पाङ्ग्रामा बत्ती जडान गरेको छ । जात्राको पहिलो दिन दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै कान्तिपुरी नगरीको परिक्रमा कार्य सकिएको छ । जसलाई उपाकु भनिन्छ । आइतबार उपाकुसँगै जात्रा शुरू भएको छ । इन्द्रजात्राको मुख्य दिन आज तल्लो टोलबाट जीवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिनेछ।

२ गते येःन्यां पुन्ही माथिल्लो टोल, ५ गते नानिचा यात्रा बीचको टोल र ५ गते शनिवार राती १० बजेर ३१ मिनेटमा इन्द्रध्वजा पतन गरेपछि इन्द्रजात्रा सकिनेछ ।

यसैबीच काठमाडौं महानगरपालिकाले इन्द्रजात्रामा विदेशी पाहुनालाई निम्तो दिएको छैन। कामपा उपत्यकाका मेयर र उपमेयरबाहेक अन्यलाई निम्तो दिइएको छैन। जात्रा मुख्य आयोजक कामपाका मेयर बालेन्द्र साह उपस्थित हुने हो वा होइन भन्नेबारे टुंगो लागेको छैन ।

सम्भवतः विदेश जाने कुरा भएको छ। कहाँ जाने कहिले जाने ? भन्ने विषयमा टुंगो लागेको छैन। यस विषयमा कामपाका अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र सम्पदा महाशाखा र कामपाका उच्च अधिकारीसँग जानकारी लिन खोज्दा सबैले अनविज्ञता देखाएका छन् ।