सबैको सहभागितामा जात्रा सम्पन्न हुन्छ : गणपतिलाल श्रेष्ठ


आइतबारबाट इन्द्रजात्रा शुरू भइसकेको छ। मुख्यजात्रा आज हुनेछ। जात्रामा हजारौं स्वदेशी र विदेशी पर्यपटको सहभागिता रहनेछ । विदेशी पाहुनाहरू उपस्थिति हुने यो जात्रा ७ दिनसम्म चल्नेछ। जात्रामा ९० बढी संघ संस्थाको सक्रिय सहभागिता रहनेछ । ३१ गुठी खलःले जात्रा सम्पन्न गर्नेछ । आइतबारबाट लिङ्गो उठाएपछि शुरू भएको यो जात्रा नेपालकै प्रमुख जात्रा हो।
जात्राको अवधिमा काठमाडौं महानगरपालिकाभित्रका १६ वटा कोर वडामा निक्कै चहलपहल बढेको छ। जात्रा तयारीमा लागेका सबैजना शान्तिपूर्ण रूपमा जात्रा सम्पन्न गर्न लागेका छन्। व्यवस्थापनको जिम्मा पाएका मूल समितिका अध्यक्ष गौतम शाक्य, बाहिसहित ११ जनाको टोली सक्रिय छ। जात्राको १० वटा उपसमितिका संयोजक गणपतिलाल श्रेष्ठसँग नेपाल समाचारपत्रका ईश्वरराज ढकालले गरेको कुराकानी

इन्द्रजात्रा व्यवस्थापन गर्न कतिको गाह्रो छ ?

व्यवस्थापन टिममा इन्द्रजात्रा व्यवस्थापन समितिअन्तर्गत बाजा खलः व्यवस्थापन उपसमिति संयोजक पञ्च महर्जन हुनुहुन्छ । नानिचायाका दिन महिलाहरूले श्रीहरूको रथयात्रा गराउन संयोजक नानिहिरा प्रजापती हुनुहुन्छ । उहाँहरूको १३ जनाको टोली छ । शान्ति–सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापमा सहयोग गर्ने जिम्मेवारी दर्जन बढी टोलीले लिएको छ । सबै टोलीको संयोजन म स्वयंले गरेको छु । यो क्रम १५ वर्षदेखि जारी छ । व्यवस्थापन समितिमा नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी, स्थानीय क्लब, संघ–संस्था छन् । सबैको जिम्मेवारी बाँडफाँट भइसकेको छ । जिम्मेवारी बाँडफाँट गरी हस्तान्तरणको विधिअनुसार प्रमुख चुनौती रहेको कोर सिटीको ट्राफिक व्यवस्थापनमा गणबहालका रवि तण्डुकार, स्थानीय संघ–संस्था समन्वय उपसमितिमा प्याफलका दिपक महर्जन, नेपाल स्काउटबाट झोछेंका रञ्जनलाल श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी समन्वयमा अन्जना मास्के, प्रचार प्रसारमा समर्थ रञ्जित र सिद्धार्थ महर्जन, विपद् व्यवस्थापनमा केशव मिश्र, कुमारी घःमा व्यवस्थापनमा बालकृष्ण महर्जनको समूह, भैरवमा दिपेश रञ्जितको समूह र गणेशमा सुनिल महर्जनको समूह कार्यरत छन् । प्राविधिक रूपमा संयोजक जात्रा व्यवस्थापन तथा सम्बन्धित हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रतिनिधिका रूपमा अमित बज्राचार्य हुनुहुन्छ ।

टिममा कस्ले के जिम्मेवारी पाएका छन् । जात्रा सम्पन्न गर्न कत्तिको गाह्रो लागेको छ ?

आइतबारबाट शुरू भएको यो वर्षको जात्रा सभ्य, भव्य, सुव्यवस्थित बनाउन गतवर्षको समीक्षाअनुसार हामीले सुरक्षित र मर्यादित बनाउन केही महिनाअघिदेखि स्थानीय जनप्रतिनिधि, अग्रज संघ–संस्था, प्रशासनिक निकायहरूसँग धेरैपटक सहकार्य बैठक बसेका छौं । बैठकले गरेको निर्णय र सुझावका आधारमा रणनीति बनाएर अघि बढेका छौं । पक्कै पनि जात्रा सम्पन्न गर्न कठिन छ, सहज छैन । चुनौती धेरै तरिकाका हुन्छन् । जिम्मेवारी पूरा गर्ने सिलसिलामा सुरक्षाकर्मी, स्वयमसेवक नै हराउँछन् । तर, सुरक्षित र व्यवस्थित हुने भएकोले जात्राको उत्साहमा उल्लेखनीय जनसहभागिता बढ्न थालेको छ । धेरैलाई सहजीकरण गर्न जात्रामा रम्न रमाउन हामी हाम्रो विभिन्न जिम्मेवारी बहन गरी समूह अझ व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन खटिरहेका हुन्छौं ।

यो वर्षमा के कस्ता विशेषता छन् ।

जात्रा अवधिभर विगतका घटना र दुर्घटना जोखिम न्यूनीकरण गर्न उज्यालोमै रथयात्रा गर्नेछौं । लगभग ३ बजेभित्र गणेश, भैरव र कुमारीको रथयात्रा गराउने योजनामा छौं । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई सहजीकरण गर्नेछौं। त्यसका लागि बाजा खलः, ९० भन्दा बढी गुठी खलः सहभागी हुने छन् । जसको बोल एउटै गरी व्यवस्थित गर्न बाजा खलःका संयोजक पञ्च महर्जनले फरक व्यवस्थापन गर्दै हुनुहुन्छ । जसले जात्रामा उत्साह बढाउने छ । जात्राको अभिन्न अङ्ग भनेको बाजा नै हो । विद्युत् प्राधिकरणलाई जात्रा अवधिभर बत्ती ननिभाउन आग्रह गरेका छौं । घर–घरमा आफन्तजनको बाक्लो उपस्थिति हुने र रथयात्रा पनि सहज हुने भएकोले भैपरी आउने अवस्थामा वैकल्पिक बत्तीहरू व्यवस्थाको लागि स्थानीय जनप्रतिनिधिलाई आग्रह गरेका छौं । उहाँहरूले हाम्रो आग्रह स्वीकार गरिसक्नुभएको छ । यो वर्षको विशेषता भन्नाले दिउँसै रथयात्रा गर्ने, सिठी नफुकी माइकिङ गर्ने, देवतालाई सिक्काले हिर्काउन नदिने रहेका छन् ।

जात्रा सम्पन्न गर्न सरोकारवाला निकायहरू कति छन् ।

जात्रा सम्पन्न गर्न सयांै सरोकारवाला निकायको सहयोग गरेको छ । जसमध्ये प्रत्यक्ष रूपमा सहभागी हुने समुदायसँग जोडिएका छन् । भन्नुपर्दा सहयोग गर्ने निकायमा संस्कृति, पर्यटन तथा नागरिक उड्डययन, गृह मन्त्रालय छन् । त्यस्तै, जिल्ला प्रशासन कार्यालय, काठमाडौं महानगरपालिका, उपत्यका प्रहरी कार्यालय, नेपाली सेना समारोह निर्देशनालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय, प्रहरी परिसर काठमाडौं, रणभैरव गण, शार्दूलजङ गुल्म, जनसेवा, दरबारमार्ग, कालिमाटी, लैनचौर र स्वयम्भू प्रहरीवृत्त रहेका छन् । त्यस्तै, ट्राफिक प्रहरीवृत्त कालिमाटी, जनसेवा, स्वयम्भू, लैनचौर र दरबारमार्ग छन् । हनुमानढोका दरबार हेरचाह अड्डा, हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम, नेपाल स्काउट, सिद्धि गणेश ओपन स्काउट क्रु, नेपाल रेडक्रस सोसाइटी गणबहाल, महाबौद्ध, स्वयम्भू, क्षत्रपाटी, जुद्ध वारुणयन्त्र कार्यालय, कामपा प्रहरी बल, शसस्त्र प्रहरी बल बाघभैरव गुल्म छन् । कामपाको वातावरण व्यवस्थापन विभाग, सम्पदा तथा पर्यटन विभाग र महावीर सेक्युरिटी सर्भिसले थप सुरक्षा गर्ने व्यवस्था गरेको छ । यसका अलावा कामपाका ११ देखि २७ गरी १६ वटा वडाले इन्द्रजात्रामा सहयोग गरेका छन् ।

कामपा, गुठी र मन्त्रालयले गरेको साहयोगप्रति सन्तुष्ट हुनुहुन्छ ?

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, गुठी संस्थान, काठमाडौं महानगर पालिकाले जात्राको विधिविधान निरन्तरताको लागि आ–आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्दै आएका छन् । तर पछिल्ला वर्षमा आवश्यकताअनुसार निकायहरूले समयसापेक्ष गुठी व्यवस्था चलाउन थोरै आयस्रोतले धान्न असहज रहेको गुनासो उठिरहेको हुन्छ । नामैले काफी छ इन्द्रजात्रा, जात्रा अवलोकन गर्न देश विदेशबाट हेर्न थुप्रै पर्यटकहरू आउँछन् । जात्रा सम्पन्न गर्न सम्बन्धित निकायले संवेदनशील हुनुपर्छ । आफ्नो उपस्थिति देखाउनुपर्छ जस्तो लाग्छ । किनकि जात्रापर्व देशकै चिनारी हो । त्यसमा सबै निकायको सहयोग अपरिहार्य छ ।
खर्च कति लाग्छ ? कसरी व्यवस्थापन गर्नुभएको छ ।

गुठी परम्परा भित्री व्यवस्थापन सम्बन्धित निकायहरूको सहकार्यमा हुने गरेको छ । बाहिरी व्यवस्थापन हामी आफंैले कम भन्दा कम खर्चमा गर्छौं र गरिरहेका छौं । भन्दा र सुन्दा अचम्म लाग्न सक्छ । हामी चिया, खाजा र खाना साथीभाइकै खर्चमा गरिरहेका छौं। विगत वर्षमा पनि त्यस्तै थियो । जात्रा सुव्यवस्थित गर्न भावनाले चलेका हौं । कुनै पनि सहयोग रकमले होइन । आवश्यक परे हामी आफैंले खर्च गरेर जात्रा चलाउन सक्ने आँट लिएका छौं । यो वर्ष हाम्रो त्यति खर्च भएको छैन ।
किनकि सबै बैठक हनुमानढोका दरबार क्षेत्रले उपलब्ध गराएको कार्यालयमा र प्रहरी वृत्त जनसेवामा बसेका छौं । त्यहाँको खाजा नास्ता नेपाली सेना र प्रहरीले नै व्यवस्था गर्ने गरेको गरेको छ । नेपाली सेना र नेपाल प्रहरी पनि सेवा भावनाले जोडिनु भएकोले सहज भएको छ ।
जात्रामा युवाको सहभागिता कत्तिको छ ।

जात्राको हरेक व्यवस्थापनमा युवा नै युवाको समूह छ । अझ हामीभन्दा साना भाइ बहिनी सक्रिय हुन थालेका छन् । पुस्तान्तरणका लागि अब हामी ढुक्क छौं । नयाँनयाँ सोच लिएर आएकालाई स्वागत र हामीले जानेका कुरा सिकाउने क्रममा छौं। यसपालिको जात्रा २३ वडाको आर्थिक सहयोगमा यँयाः (इन्द्रजात्रा) को गुठी एक अर्काको सम्बन्ध विधिविधानको अभिलेखीकरण गर्न युवा नै परिचालित छन् । इन्द्रजात्रा व्यवस्थापन समितिभित्र ३१ वटा गुठी खलः छन् । इन्द्रजात्रा पूर्ण हुन श्वेत भैरव गुठीलगायत अन्य थुप्रै छन् जुन व्यवस्थापन समितिले समेट्ने प्रयास गर्दैछ । यी सबै गुठी सञ्चालन गर्न अधिकांश युवाको सहभागिता रहेको छ ।
जात्रा व्यवस्थापन गर्न के के चुनौती छन् ? कसरी व्यवस्थापन गरिरहनुभएको छ ।

जात्रा व्यवस्थापन गर्दा सुरक्षा र ट्राफिक चुनौती नै मुख्य हो । कहिलेकाहीँ रथयात्राको क्रममा प्राविधिक समस्या पनि आउँछ । ट्राफिक व्यवस्थापनमा रवि तण्डुकार हुनुहुन्छ । जसले ट्राफिक र भीड व्यवस्थापन गर्न अग्रज, स्थानीय क्लब, संघ–संस्थालाई समन्वय गरिरहनुभएको छ। ट्राफिक प्रहरी वृत्त जनसेवाको सहयोग र ट्राफिकको नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको टिम खटाउने गरी अभिलेख तयार गर्नुभएको छ। जसले गर्दा प्रशासनिक निकायमा पदीय जिम्मेवार व्यक्तिहरू परिवर्तन भए पनि ड्युटी परिचालन गर्न सहज बनाइदिएको छ। हरेक श्री रथको पछाडि र मुख्यमुख्य चोकमा रेडक्रसको थुप्रै टोली परिचालन हुनेछन् । एम्बुलेन्स र खुला मुख्यमुख्य स्थानमा रेडक्रस, महानगर प्रहरी र सेनाको टोली चार दिशामा रहने छ । देवी देवतालाई जथाभावी सिक्का नचढाउन प्लेकार्ड प्रयोग गरिने छ । रथ यात्रामा प्रहरीले यो वर्षबाट सिठ्ठी फुक्ने छैन । मिनिमाइज गरी ह्यान्ड माइकबाट सहजीकरण गरिने छ।

यो वर्षबाट नेपाल प्रहरीको धिमे बाजासमेत उपस्थिति हुने भएको छ । विगतमा नेपाली सेनाको शार्दूलजङ गुल्म अर्थात् गुरुज्यूको पल्टनले आफ्नो बानेदार टोलीसँगै नेवाः सभ्यताअनुसार परम्परागत सांस्कृतिक धिमे टोली सहभागी गराइने छ। यसपालि आन्तरिक तथा बाह्य पर्यटकले पनि रथ तान्न चाहेमा सहजीकरण गरिने छ। कुमारी रथको घमाः कुमारी माजुको अनुहार नै छेकिने गरी धेरै जना असम्बन्धित चढ्ने र घःमा समेत क्षति हुने दुर्घटना निम्त्याउने भएकोले जोखिम न्यूनीकरण गर्न सम्बन्धित बाहेक सबै हटाउने निर्णय लिएका छौं र रथ माथि जो पायो त्यही बस्ने प्रवृत्ति हटाएका छौं ।

व्यवस्थापन र सुरक्षा चुनौती के–के छन् ।

यसपालि सुरक्षा चुनौती भनेको जात्राको अवसर पारेर विभिन्न विषयमा विरोध र कोही अमुक व्यक्तिको जयजयकार गराउने जात्रा बिथोल्ने समूहहरू सक्रिय भएको खबर आएको छ । हाम्रो जात्रा पर्व देशको गौरव र अस्तित्वसँग जोडिएको छ । विश्वले यतिखेर नियालिरहेको अवस्थामा जात्रा नै बिथोल्न सक्ने सम्भावना भएकोले यहाँको सम्पूर्ण समुदायलाई सचेत गरिसकेका छौं ।
जात्रापर्वमा यस्तो फोहोरी राजनीतिकरण जसले गर्छ सबै समुदायले नै संयमित भएर नियन्त्रणमा लिई सुरक्षाकर्मीलाई बुझाउने जमर्को गरेका छौं । जात्रामा देवी देवताको जय जयकार गर्ने हो यो ठाउँमा जसले जात्रा बिथोल्न खोज्छ त्यसलाई हदैसम्मको कारबाही गर्न प्रहरीलाई हामीले पूर्व अनुरोध गरिसकेका छौं । सुरक्षालाई ध्यानमा राखेर यो वर्षबाट ड्रोन क्यामरा प्रयोग गर्ने भएका छौं । दर्जनौं स्थानमा सीसी क्यामरा जडान गरेका छौं । सयौंको संख्यामा सादा पोशाकका परिचालन गरेका छौं । रथमा चौबिसैघण्टा २४ सुरक्षाकर्मी खटाइएको छ । रथ खाली भएको समयमा श्रीहरूको आसनमा बसी फोटो भिडियो बनाउनेलाई समेत निरुत्साहित गर्न गरी सुरक्षा व्यवस्थालाई मजबुत पारेका छौं ।

जात्रा सम्पन्न गर्न सबैलाई के अपिल गर्नुहुन्छ ।

सबैलाई अनुरोध हाम्रो जात्रा पर्व हाम्रो सभ्यता नै देशको पहिचानसँग जोडिएको छ यसको महत्व र गरिमालाई अझ हामी सबै मिलेर उचाइमा चिनाउन पुर्‍याउन सबैको सहयोगको अपेक्षा लिएका छौं । सबैले आ–आफ्नो कर्तव्य पूरा गर्न जुटिरहेका छौं । जात्रा अवधिभर हामीले पानी समेत पिउन पाउदैनौं । जात्रा नसकुन्जेल सबैको अनुहारमा सहभागी हजारौंलाई कसरी अझ व्यवस्थित गरी जात्रामा हर्ष उल्लास र रौनकता दिन हामी लागिरहेका हुन्छौं ।

हाम्रो अनुहारमा हाँसो र आत्मसन्तुष्टि तब आउँछ जब जात्रा घटना र दुर्घटना मुक्त भई सु–सम्पन्न हुने गर्छ त्यसैले अग्रज, क्लब, संघ–संस्था, गुठी, खलः पुचः सबैलाई विगतदेखि गरिरहनुभएको योगदानको उच्च सम्मान गरेका छौं । यो वर्ष पनि सबैको साथ पाउने अपेक्षा लिएका छौं । सबैलाई अनुरोध छ कि विकृतिका कुराहरू देख्नेबित्तिकै मात्र सामाजिक सञ्जालमा राखेर समाज अराजकतातिर लैजानुभन्दा विकृति हुन नदिन हामी आफैं पनि सचेत र जिम्मेवार बनौं अरूको अधिकारको कुरा गर्दा आफ्नो दायित्व नभुलौं । ती सहयोगी हातहरूलाई सबैले सहयोग गरून् ।

सहयोगी संस्था
– संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालय
– गृह मन्त्रालय
– गुठी संस्थान
– जिल्ला प्रशासन कार्यालय काठमाडौं
– काठमाडौं महानगरपालिका
– उपत्यका प्रहरी कार्यालय
– नेपाली सेना समारोह निर्देशनालय
– उपत्यका ट्राफिक प्रहरी कार्यालय
– जिल्ला प्रहरी परिसर काठमाडौं
– रणभैरव गण
– शार्दूलजङ गुल्म
–सशस्त्र प्रहरी बल बाघभैरव गुल्म
–प्रहरी वृत्त जनसेवा
–प्रहरी वृत्त दरबारमार्ग
–प्रहरीवृत्त कालिमाटी
– प्रहरी वृत्त लैनचौर
–प्रहरी वृत्त स्वयम्भू
– हनुमानढोका दरबार हेरचाह अड्डा
– हनुमानढोका दरबारक्षेत्र संरक्षण कार्यक्रम कार्यालय
– नेपाल स्काउट
– सिद्धिगणेश ओपन स्काउट क्रुु
–नेपाल रेडक्रस सोसाइटी गणबहाल,
– नेपाल रेडक्रस सोसाइटी महाबौद्ध
–नेपाल रेडक्रस सोसाइटी स्वयम्भु
–नेपाल रेडक्रस सोसाइटी क्षेत्रपाटी
– जुद्ध वारुणयन्त्र कार्यालय
–काठमाडौं महानगरपालिका प्रहरीबल
– कामपा वातावरण व्यवस्थापन विभाग
– सम्पदा तथा पर्यटन विभाग
– महावीर सेक्युरिटी सर्भिस
– कामपाका ११ देखि २७ गरी १६ वटा वडा

कस्को के जिम्मेवारी
१ गणपतिलाल श्रेष्ठ : मूल समितिअन्तर्गत ८ उपसमिति संयोजक
२.कोर सिटीको ट्राफिक व्यवस्थापन रवि तण्डुकार
३.स्थानीय संघ–संस्था समन्वय दिपक महर्जन
४.नेपाल स्काउट रञ्जनलाल श्रेष्ठ
५.नेपाल रेडक्रस सोसाइटी अन्जना मास्के
६.प्रचारप्रसार समर्थ रञ्जित र सिद्धार्थ महर्जन
७.विपद् व्यवस्थापनमा केशव मिश्र
८. कुमारी घःमा व्यवस्थाप बालकृष्ण महर्जन
९.भैरवमा दिपेश रञ्जित
१०.गणेशमा सुनिल महर्जनको समूह
११.प्राविधिक संयोजन जात्रा व्यवस्थापन अमित बज्राचार्य
१२. बाजा खलः पञ्च महर्जन कार्यरत छन् ।