इन्द्रजात्रामा गुठीयारको कठिनाई

564
Shares

–सरकारले उपलब्ध गराउने रकम अपुग

–सम्बन्धित निकायमा धार्मिक र सांस्कृतिक संवदेनशीलताको अभाव
–स्वयंसेवकको व्यवस्थापन तथा परिचालनमा कठिनाई
–धार्मिक आस्थाको भरमा मात्र गुठीयार र कलाकारको सक्रियता
–प्रशासनिक पहुँच र समन्वयमा कमी
–कानुनी र व्यवहारगत झन्झट

वि.सं २०६५ सालमा वसन्तपुर लगायत आसपास क्षेत्रमा भएको विरोध प्रदर्शन इन्द्रजात्रामा सहभागी हुनुपर्ने लाखे, सवःभक्कु, पुलुकिसि, श्वेत भैरवलागि बजेट कटौती गरेको कारणले मात्र भएको थिएन। अर्थमन्त्रालय अन्तर्गत कौशी तोषाखाना कार्यालयले पुजाआजा र बलि दिनका लागि वर्षेनी दिदै आएको राँगो नदिने सूचना पाएपछि विरोध शुरु भएको थियो।

विरोधकाबीच श्री कुमारीको रथयात्रा रोकियो र सम्पूर्ण जात्रा अवरुद्ध हुनपुग्यो। बलिका लागि राँगो नदिने आकस्मिक सूचना आन्दोलनको तत्कालीन कारणमात्र थियो। गुठीयारहरुले इन्द्रजात्रा मनाउने क्रममा वर्षेनी सामना गनुपर्ने समस्या, कठिनाईप्रति असन्तुष्टिले त्यो विरोधलाई केही हदसम्म मलजल गरेको थियो।

त्यो विरोध पछि सरकारले दिने रकम केही बढाईदिएकोले आज इन्द्रजात्रामा सहभागी हुनुपर्ने गुठीखलःहरुमा त्यस्तो आक्रोश त छैन, यद्यपि इन्द्रजात्राका विभिन्न सांस्कृतिक नाच तथा जात्रा सञ्चालनमा कठिनाई भोग्नुपर्दाको गुनासो भने कायमै छ। तर, जे, जस्तो समस्या भएपनि धर्म, संस्कृति र परम्पराप्रति आस्थाले गर्दा गुठीयारहरुको सक्रियता र सहभागितामा कमी आएको छैन। यसले गर्दा इन्द्रजात्राको रौनक र आकर्षण घटेको छैन। इन्द्रजात्रा केवल इन्द्रकै मात्र जात्रा होइन। श्री कुमारी, श्री भैरव र श्री गणेशको रथयात्रासंगै विभिन्न देवदेवीहरूको नाममा आयोजना गरिने विविध प्रकारका जात्राएवं पर्वहरूको सामुहिक नाम नै इन्द्रजात्रा हो।इन्द्रजात्रासंग सम्बन्धित विभिन्न नाच एवं सहायक जात्राहरुकालागि विभिन्न गुठीहरु बनाएको भएता पनि ती गुठीहरु सञ्चालनका लागि इन्द्रजात्राकै बेला सरकारबाट केही रकम प्रदान गर्ने बाहेक छुटै स्थायी स्रोतको व्यवस्था गरिएको छैन।

इन्द्रजात्राको सबैभन्दा महत्वपूर्ण र आकर्षण अंश हो, श्री कुमारीको रथयात्रा।यो रथयात्रा कार्यको प्रमुख नेतृत्व कुमारी घर नै रहेको हुन्छ।तर कुमारीको रथयात्राको लागि पनि कुनै छुट्टै गुठीको व्यवस्था गरिएको छ। कुमारीको नाउँमा विभिन्न ठाउँमा जग्गा जमिनहरु आयस्ताका रुपमा राखिएको भनिएता पनि ती जग्गा जमिनका बारे भने अहिले कसैलाई जानकारी नभएको इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम शाक्यले जानकारी दिनुभयो।

इन्द्रजात्रामा सबैभन्दा पहिले सञ्चालन हुने नाच दीप्याखं अर्थात देवीनाच हुन्। यो काठमाडौंको किलागल टोलका नेवाः समुदाय अन्तर्गत स्थानीय ज्यापू जातिहरुले प्रदर्शन गर्ने नाच हुन्। दीप्याखंका गुठी त छ,तर गुठीकोे आयस्ताको रुपमा कुनै जग्गा भने राखिएको छैन। इन्द्रजात्रा अवधिभर प्रदर्शन गरिने देवीनाचको धार्मिक पुजाआजा र बलि दिनको लागि कोशी तोषाखाना कार्यालयले वार्षिक रुपमा ४ वटा राँगा, ४ वटा बोका र ८० हजार बराबर पुजा सामग्री अन्य जिन्सीहरु उपलब्ध गराउँदै छ।
नाचको लागि खटिने जनशक्तिको प्रशिक्षण, व्यवस्थापन, स्वयंसेवकहरुको खुवाउने लगायतको खर्चको हिसाब गर्ने हो भने सरकार उपलब्ध गराउँदै आएको रकम नगण्य रहेको देवीनाचका संयोजक नातिकाजी महर्जनको भनाई रहेको छ।संयोजक महर्जन अनुसार इन्द्रजात्राभरि यो नाच ७ वटा विभिन्न स्थानमा ७ पटक प्रदर्शन गरिन्छ।

यो नाचमा कुल ७ जना पात्र हुन्छन् , ती हुन्– भैरव, कुमारी, चण्डी, दैत्य कवं (कंकालं) बेताः(बेताल) र ख्याः(ख्याक)।यस विभिन्न विद्याका गुरुहरु पनि सात जना नै छन्। यसमा नाच्ने पात्रहरु, बाजा बजाउने,गीत गाउने, नाच सिकाउने प्रशिक्षक र व्यवस्थापक सबै गर्दा करिब ७० जनाको समूह बनेको हुन्छ।ती जम्मै जनशक्तिको व्यवस्थापन यहाँका गुठी र स्थानीयको श्रम र मिहिनतले भइरहेको छ।

‘सबैले एक पैसा पनि नलिइकन काम गरिरहेका छन्।बजार भाउ झन् झन् महँगीदै गएको छ।अहिलेसम्म धार्मिक आस्थाले चलिरहेको छ।आस्थाकै भरमा मात्र यसनाचलाई निरन्तरता दिनु कति कठिन होला ?’ संयोजक महर्जनले भन्नुभयो।
यो नाचको सञ्चालनको अरु कठिनाई के हुन् भने यसका लागि आवश्यक सामग्री जुटाउन कठिन हुनु। यो नाचमा सहभागी मुख्य देवीदेवताले लगाउने मुकुण्डो माथि विभिन्न प्रकारका फूलहरुले सजाइएको हुन्छ।अरु नाचको मुकुण्डो जस्तो यसको मुकुण्डो सुख्खा हुँदैन। यसको मुकुटमा सजाईने फूलहरु सबै नयाँ र ताजा नै हुनुपर्दछ। यस्तो पुष्पकलाले सजिएको मुकुट, भैरव,कुमारी र चण्डीले लगाउने गर्छन्। यसमा रातो रंगको ककचाः फूल, हरियो रंगको धुपी फूल, मगमग बास्ना आउने सेतो रंगको पंखा फूल, लाहुरे फूल, नाय्चा फूल, गोदावरी फूल आदि सजाउने गरिन्छ।कतिपय यी फूलहरु अहिले पाउन मुस्किल छ भने कति लोप पनि भइसकेको छ।भनेको फूल समयमै नपाउने, पाए पनि मह“गो हुने गरेको गुठीयारहरु बताउँछन्।

त्यसैगरी प्रत्येक १० वर्षमा नाचका सबै पात्रहरुको पोशाक फेर्ने गरिन्छ।पात्रहरु मध्ये भैरवले लगाउने पोशाकमा एउटा बाघको छाला पनि रहेको हुन्छ।भैरवले बाघको छाला कम्मरमा बेरी नाच्ने गर्दछ।प्रत्येक १० वर्षमा सबै पोशाक फेरिए पनि बाघको छाला फेर्न भने अहिले समस्या देखापरेको छ। दुर्लभ वन्यजन्तुका अंगप्रत्यंगहरु बेचबिखन गर्ने र घरमा राख्न समेत गैरकानुनी घोषित ‘साइटिस’ अन्तर्राष्ट्रिय महासन्धीका कारण दीप्याखंका भैरवलाई बाघको छाला पाउन मुश्किल परेको पनि संयोजक महर्जनले भनाई रहेको छ।

त्यसैगरी थुप्रै जनशक्ति चाहिने एउटा सांस्कृतिक नाच पुलुकिसी पनि हुन्।किवंदन्ती अनुसार पुलुकिसी भनेको स्वर्गको राजा इन्द्रको बाहन ऐरावत्त हात्तीको प्रतीक हुन्। किलागः त्वाः खलका सदस्य मचाराजा महर्जन (मकै) का अनुसार पुलुकिसी निकाल्न ४० देखि ५० जना जनशक्ति चाहिन्छ।त्यसको व्यवस्थापन, बाजा बजाउने र स्वयंसेवक गरी झन्डै सय जना मानिस आठ दिन खटिने गर्छन्।

सडकमा पुलुकिसी नाचेको देखिएपछि मात्रै इन्द्रजात्राको छनक आउने गर्दछ।पुलुकिसीको सेतो बुट्टेदार कपडाले छोपिएको भागभित्र दुई जना मानिस बसेको हुन्छ।पुलुकिसी बाहिर आउँदा एकजना पथप्रदर्शकले हात्तमा चिराग बाली उनलाई डोह¥याइरहेको हुन्छ।पुलुकिसी भित्र मानिस बस्ने गरी बाँसको संरचना र सेतो कपडाको भारले गर्दा एकै जना मानिस धेरै समयसम्म त्यहा“ बसिरहन सक्दैन।यसले गर्दा मानिसहरु पालैपालो गरिरहनुपर्ने हुन्छ। ‘ यसले गर्दा एक दिन पुलुकिसीको नाच देखाउन कम्तीमा ५० जना मानिसको आवश्यक हुन्छ। ती सबैको व्यवस्थापन, खाना खर्च लगायत अरु खर्चहरु स्थानीयले व्यहोर्दै आएको छ।’ गुठीयार कविन्द्र महर्जनले भन्नुभयो ‘ अर्कोतर्फ सम्बद्ध निकायमा धर्म, संस्कृति बुझेका कर्मचारी नहुँदा पनि रकम लिने क्रममा वा अरु लिने क्रममा थुप्रै व्यावहारिक समस्याहरु भोग्नुपरेको छ।’

महानगरपालिकाले पुलुकिसीको लागि करिब ७० हजार रुपैया“ उपलब्ध गराउ“दै आएको छ, जुन अपुग छ।,’ गुुठीयार महर्जनले भन्नुभयो ‘ त्यो रकम पुजाआजा सामग्री खरिद गर्नमै सकिन्छ।मानवीय स्रोत र साधन परिचालनको लागि त्यति रकम पुग्दैन।गुठीको काम भएकोले मात्र मानिसहरु परिचालन हुँदै आएको छ। युवाहरु विदेशीने क्रम र रोजगारीले गर्दा यसमा खटिने मानिसको कमी हुने सक्ने स्थिति पनि भविष्यमा आउने छ।त्यति बेला कसरी नाच सञ्चालन गर्ने ?’

त्यसगरी त्यंगलका मंगलमान डंगोल २०५३ सालदेखि दागिंको भेषमा निस्किरहेका छन्। उहाँभन्दा अघि सो कार्य उहा“का बुबाले गर्नुभएको थियो।इन्द्रजात्राकै दिन श्री कुमारीको क्वःनेया समापन हुने बितिक्कै मरुटोलको छ्वासपाखा भन्ने ठाउ“बाट दागिं निस्किन्छ। सेतो पहिरन र सेता मुकुण्डो लगाएर निस्किने दागिंलाई स्वर्गका राजा इन्द्रको आमा भन्ने गरिन्छ।दागिं सम्बन्धी कार्य गर्न एउटा दागि गुठी भन्ने एउटा गुठी राखिएको छ।यसमा १३ जना गुठीयारहरु छन्।

इन्द्रजात्रामा दागिं निकाल्ने सबै कार्य यही गुठी घरबाट हुने गर्दछ। जात्रा पछि दांगिको मुकुण्डो र पोशाकहरु सबै यही घरमा राखिन्छ।दागिंका लागि हाल महानगरपालिकाले ३५ हजार रकम उपलब्ध गराउ“दै आएको छ। त्यो रकम पुजाआजाको ठिक्क हुने गर्दछ। दागिं निकाल्नेमा सहयोग गर्ने करिब ७० ८० जनालाई समयबजी खुवाउने कार्य सबै गुठीयारहरुको आफ्नै खर्चले गर्नुपर्ने स्थिति रहेको पनि डंगोलले जानकारी दिनुभयो।‘ रकम भन्दा पनि पुस्तौदेखि गर्दै आएको धर्मसंस्कृतिको कामलाई जर्गेना गर्नुपर्छ भनेर लागिरहेका छौं ।’ डंगोलले भन्नुभयो।

त्यसैगरी इन्द्रजात्राको आकर्षण नाचको रुपमा रहेको लाखे नाच मजिपाः टोलका रञ्जितकार समुदायले सञ्चालन गर्दछ।यो नाच लगायतको लाखे सम्बन्धी कार्यहरु लाखें आजु गुठीबाट सञ्चालन हुँदै आइरहेको छ। तर गुठी रहेपनि गुठीको आयस्ताको रुपमा कुनै जग्गा जमिन भने राखिएको छैन।लाखेका नाममा विभिन्न ठाउँमा जग्गा रहेको सुन्न पाइएपनि हाल गुठीको हातमा भने लाखेननीको एउटा घर बाहेक कुनै पनि सम्पति नरहेको गुठीका अध्यक्ष राजीव रञ्जितले भन्नुभयो। लाखे नाचको लागि कौशी तोषाखानाले ९ हजार र महानगरपालिकाले १ लाख रुपैयाँ उपलब्ध गराउ“दै आएको छ।‘ त्यति रकम नाचको लागि आवश्यक पुरै खर्च धान्न कठिन छ।’ अध्यक्ष रञ्जितले भन्नुभयो।

हल्चोकको पुतुवार जातिले निकाल्ने सबः भक्कु नाच सञ्चालनका लागि श्री हल्चोक आकाश भैरव गुठी बनाइएको छ।उक्त गुठीको आफ्नै द्यःछे“ रहेपनि आयस्ताको कुनै स्रोत भने छैन।नाचका देवगणहरुको मुकुण्डो र पोशाकका लागि तीन वर्षमा एकपटक कौशी तोषाखानाले सहयोग गरे पनि जात्रा सञ्चालनका लागि आउने रकम भने सधै अपुग रहेको श्री हल्चोक आकाश भैरव समाजका अध्यक्ष शेरबहादुर पुतुवारले जानकारी दिनुभयो।विभिन्न व्यक्ति र संस्थाले स्वेच्छाले दिने रकमले जसोतसो नाच चल्दै आएको पनि अध्यक्ष पुतुवारको कथन रहेको छ।

त्यस्तै इन्द्रजात्राका बेला भक्तपुरबाट महाकाली नाचका सात वटा समूह काठमाडौंमा आई नाच प्रदर्शन गर्ने परम्परा रहेको छ।महाकाली नाच समूहको पनि आफ्नै कुनै अलग गुठी रहेको छैन।नाच देखाए वापत प्राप्त हुने सहयोग नै यो नाचको आयस्रोत हो।इन्द्रजात्राको आरम्भ भएकै दिनदेखि कुमारी घरको अगाडि त्रैलोक्यमोहन मन्दिरको पछाडिको पेटीमा दश अवतार प्रदर्शन गर्ने चलन रहेको छ। दशअवतार सञ्चालन दिगु गुठीको अवस्थापनि अरु गुठी भन्दा भिन्न छैन।यसैगरी दबू प्याखं र खः प्याखं जस्ता नाचहरु लोप भइसकेका छन्।

इन्द्रजात्रा सञ्चालनको लागि हाल सरकारबाट हरेक वर्ष झन्डै १३ लाख ९३ हजार ६ सय ७० रुपैयाँ एकमुष्ठ निकासा हुँदै आइरहेको छ।यो रकम इन्द्रजात्रासंग सम्बन्धित सबै प्रकारको नाच, सहायक जात्रा, पूजाआजामा संलग्न भक्तजन समूह, बाजागाजा समूह आदि समेत गरी ३६ वठा गुठी खलःहरुमा विभाजन गरिन्छ।सरकारले उपलब्ध गराउने रकम पर्याप्त भएकोले हाल काठमाडौं महानगरपालिकाले पनि इन्द्रजात्राको लागि वार्षिक १० लाख रुपैया“ उपलब्ध गराउ“दै आएको समितिका अध्यक्ष शाक्यले जानकारी दिनुभयो।

६ वर्ष अघिदेखि चर्चामा आएको ५ करोड रुपैया“को अक्षयकोष बनाउने योजना अझै कार्यान्वयनमा नआएको पनि समितिका अध्यक्ष शाक्यले बताउनुभयो। संस्कृति मन्त्रालयबाट डेढ करोड, काठमाडौं महानगरपालिकाबाट २ करोड, वाग्मती प्रदेशबाट १ करोड र गुठी संस्थान कार्यालयबाट ५० लाख गरी ५ करोड रुपैया“ अक्षयकोष बनाउने सम्झौता भएको थियो।

त्यसमा वाग्मती प्रदेश र गुठी संस्थानबाट रकम नराखेकोले अहिलेसम्म अक्षयकोष सञ्चालनमा ल्याइएको छैन।सञ्चालनका लागि सबैबाट आश्वासन मिलेको छ। सञ्चालनमा आउनेमा विश्वस्त छौं।’ अध्यक्ष शाक्यले भन्नुभयो।

एकातर्फ सरकारले उपलब्ध गराउने रकम समयानुकूल वृद्धि नहुने र अर्कोतर्फ बजार भाउ भने हरेक वर्ष बढीरहने भएकोले प्राप्त रकमबाट जात्रा सञ्चालन गर्न कठिन हु“दै आइरहेको गुनासो सबै गुठी खलःहरुको रह“दै आएको छ।