नेपाल धर्म–संस्कृतिमा ज्यादै धनी छ। यहाँ मनाइने जात्रामध्ये इन्द्रजात्रा पनि एक हो। यो खासगरी काठमाडौं उपत्यकाको महान् पर्वको रुपमा रहेको छ। प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौंलगायत ललितपुर, दोलखा, भक्तपुर, धुलिखेल, आदि स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजाआजा गरी परम्परागतरुपमा मनाइन्छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोकाआगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजसहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाइन्छ । यसरी ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । हनुमानढोका दरबार क्षेत्रमा कालभैरवको विशाल मूर्तिअगाडि धार्मिक विधिअनुसार लिंगो ठड्याएपछि इन्द्रजात्राको चहलपहल शुरु हुन्छ। नेपाल भाषामा ‘योर्सी’ भनिने उक्त लिंगोमा मंगल सूचकका विभिन्न चिह्न अंकित पताका झुन्ड्याएको हुन्छ । लिंगोको फेदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिन्छ । लिंगो ठड्याउँदा नेपाली सैनिकको ब्यान्ड बाजा, गुरुजुको पल्टन र पञ्चेबाजा समूहले मंगलधुन बजाउँछन्।
यो इन्द्रजात्रामा इन्द्रध्वजा उत्थान गर्ने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ । यस अवसरमा हनुमानढोका दरबारक्षेत्रमा रहेको श्वेतभैरवको विशाल अनुहार सर्वसाधारणलाई देखाइन्छ । यसअघि तान्त्रिक विधिद्वारा पूजा गरी काभे्रपलाञ्चोकको नालास्थित जंगलमा छोडिएको बोकाले छोएको रुख काटी एकादशीका दिन विधिपूर्वक इन्द्रध्वजाको लिंगो तयार पार्ने गरिन्छ।
यस पर्वमा जीवित देवीका रुपमा रहेकी कुमारी, गणेश र भैरवको रथयात्रा गर्ने परम्परा छ । आठ दिनसम्म राजधानीका विभिन्न स्थानमा भक्कुनाच हलचोक (सवभकु), भक्तपुरको महाकालीनाच, मिजपातको मजियमत, लाखेनाच, दश अवतार तथा इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रुपमा पुलुकिसी नाच नचाउने गरिन्छ । यस उपलक्ष्यमा काठमाडौंबाट करिब चार कोस पश्चिम पर्ने दहचोकस्थित इन्द्रदहमा रातभर जाग्राम बसी भोलिपल्ट स्नान गरेर मेला भर्न जाने भक्तजनको घँुइचो लाग्ने गर्छ । त्यस्तै गरी कुमारी घरअगाडि रहेको त्रिलोकनारायण मन्दिरमा विष्णुले लिएको दश अवतार देखाइन्छ । यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बालेर नगर परिक्रमा गराइन्छ । यो जात्रा काठमाडौंका मानन्धर समुदायले गर्छन्।
यो यंलाथ्व पूर्णिमा जात्राको चौथो दिन पहने याः भनेर गणेश, भैरव र कुमारीको रथलाई कान्तिपुर नगरीको माथिल्लो भाग मरुबाट माथि असनसम्म परिक्रमा गराइन्छ । यंलागा चौथीका दिन नानिचा याः भनेर गणेश, भैरव र कुमारीको तीनवटै रथलाई किलागल परिक्रमा गराई बेलुकीको साइतमा लिंगो ढालेर जात्राको समापन गरिन्छ ।
इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिल्पंसत्तःको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ । संस्कृतिविद्हरुका भनाइअनुसार आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो पृथ्वीमा लिन आएका देवराज इन्द्रलाई मालीलाई नसोधी टिपेकोमा चोर साबित भई डोरीले बाँधी सबैलाई देखाएको भनी मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको मूर्ति प्रदर्शन गरिएको लोककथन छ।
यसै गरी इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ । यसर्थ इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शिर भनिने आकाश भैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभिन्न प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ । साथै धिमेबाजाको तालमा प्रसादका रुपमा भैरवको मुखमा जडित नालीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ ।
लिंगो गाडेको तेस्रो दिन अर्थात् यलाथ्व चतुर्दशीका दिन जीवित देवी कुमारी, भैरव र गणेशलाई रथमा राखी काठमाडौं पुरानो कान्तिपुर नगरीको तल्लो आधा भाग परिक्रमा गराइन्छ । यो जात्रा गर्नुअधि हनुमानढोकाको गद्दी बैठकमा राष्ट्रप्रमुख उपस्थित भई गणेश, भैरव र कुमारीको पूजा गरेर जात्रा हेनुपर्ने प्रचलन छ । कान्तिपुरका अन्तिम मल्ल राजा जयप्रकाश मल्लले जीवित देवी कुमारीको रथ जात्रा चलाए र आफू पनि स्वयं रथमा बसी नगर परिक्रमा गर्ने गर्दथे भन्ने लोककथन छ । यसै दिन बेलुकी गणेश, भैरव र कुमारीको रथ परिक्रमा सकिएपछि मरुटोलबाट वर्षभरिमा मृत्यु भएका व्यक्तिका परिवारजनले सतबीज छर्दै कान्तिपुर नगरी परिक्रमा गर्छन् । यसपछि बहुमत निकाल्ने भनी बाँसलाई माला उनेर लामो बनाई त्यसमा बत्ती बालेर नगर परिक्रमा गराइन्छ ।
इन्द्रजात्राको अर्को महत्वपूर्ण सांस्कृतिक पक्ष मृतकको सम्झना पनि हो । यसर्थ पर्वको अन्तिम दिन मात्या नामक कार्यक्रम गरिन्छ । जसमा मानिसहरूले दीप प्रज्वलन गरी आफ्ना दिवंगत पुर्खाहरूलाई पूजाआजा गर्छन्। यो दिन बितेका प्रियजनहरूलाई सम्मान गर्ने र सम्झने दिन हो।
इन्द्रजात्राको परम्परागत रीतिरिवाजको संरक्षण एवं प्रवद्र्धन गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । मुलुककै पहिचान बोकेको इन्द्रजात्राको सञ्चालन, संरक्षण र संवद्र्धनका लागि स्थानीय समुदाय मात्र नभएर राज्य नै लाग्नुपर्ने जरुरी छ । यो अनौठो र जीवन्त पर्व भविष्यमा अनन्तकालसम्म मनाइरहने सुनिश्चितता राज्यले गरिदिनुपर्छ ।
काठमाडौं उपत्यकामा मनाइने एक जीवन्त र प्राचीन पर्व इन्द्रजात्रा देशको समृद्ध सांस्कृतिक र धार्मिक भाव झल्काउने प्रमाण पनि हो । हिन्दू पौराणिक कथाहरूमा जडित यो आठ दिनको पर्वले स्वर्गका राजा र वर्षाका देवता इन्द्रलाई सम्मान गर्दछ । यो पर्व गहिरो धार्मिक प्रकृतिको भए तापनि यसले नेवार जातिको अनौठो परम्परा र रीतिरिवाजहरू झल्काउने एउटा महत्वपूर्ण सांस्कृतिक कार्यक्रमको रूपमा पनि काम गर्छ । यसैले गर्दा इन्द्रजात्रा, देशको सबैभन्दा ठूलो धार्मिक पर्व पनि हो।
अन्त्यमा भन्नुपर्दा, इन्द्रजात्रा नेपाली जनताको लागि ठूलो धार्मिक र सांस्कृतिक महत्व बोकेको एक अनुपम र जीवन्त पर्व हो। यो समुदायको लागि उत्सव, कृतज्ञता र प्रार्थनामा एकजुट हुने र आफ्नो सांस्कृतिक सम्पदा र परम्परालाई सम्मान गर्ने समय हो। यो पर्व नेपालको समृद्ध सांस्कृतिक र धार्मिक विविधताको प्रतिविम्ब हो । साथै गहिरो आस्था र रीतिरिवाजको प्रमाण हो । विभिन्न चुनौतीका बाबजुद पनि इन्द्रजात्रा एक महत्वपूर्ण र प्यारो पर्वको रूपमा सदियौँदेखि सञ्चालित छ। भावी पुस्ताका लागि यसको परम्परागत रीतिरिवाज र अनुष्ठानहरूको संरक्षण र प्रवद्र्धन गर्ने प्रयासहरू भइरहेका छन्।
जुन इन्द्रजात्रा एउटा चाड मात्र होइन, यो नेवार समुदायको समृद्ध सांस्कृतिक सम्पदा र परम्पराको उत्सव पनि हो । साथै गैरनेवारको पनि श्रद्धायोग्य पर्व हो । यो समुदाय एकजुट हुने, मनाउने र आफ्नो सांस्कृतिक र धार्मिक विश्वासको सम्मान गर्ने समय हो। नेपालले आधुनिकीकरण र परिवर्तनको क्रम जारी राख्दै इन्द्रजात्राको परम्परागत रीतिरिवाजको संरक्षण एवं प्रवद्र्धन गर्नु सबैभन्दा महत्वपूर्ण कुरा हो । मुलुककै पहिचान बोकेको इन्द्रजात्राको सञ्चालन, संरक्षण र संवद्र्धनका लागि स्थानीय समुदाय मात्र नभएर राज्य नै लाग्नुपर्ने जरुरी छ । यो अनौठो र जीवन्त पर्व भविष्यमा अनन्तकालसम्म मनाइरहने सुनिश्चितता राज्यले गरिदिनुपर्छ ।
प्रतिक्रिया