नेपाल अर्बुद रोग निवारण संस्थाले मनायो  ४२औँ वार्षिकोत्सव 


काठमाडौं।

 नेपालमा क्यान्सर रोगको क्षेत्रमा क्रियाशिल अर्बुद रोग निवारण संस्था (एनसीआरएस) ले ४२औँ वार्षिकोत्सव मनाएको छ। क्यान्सर रोगको क्षेत्रमा चार दशकयता क्रियाशिल एनसीआरएसले काठमाडौंमा एक विशेष कार्यक्रमको आयोजना गरी  वार्षिकोत्सव मनाएको हो।

काठमाडौँको प्रज्ञा प्रतिष्ठानमा आयोजित वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमका प्रमुख अतिथि उर्जा, जलश्रोत तथा सिञ्चाई मन्त्री दिपक खड्काले क्यान्सर सम्बन्धि जनचेतना फैलाउने काममा यस संस्थाले महत्वपूर्ण भूमिका खेलेको बताए। देशभरका क्यान्सर रोगीका लागि उपचारको थलो बनेको भक्तपुर क्यान्सर अस्पतालको स्थापना र सञ्चालन यस संस्थाको महत्वपूर्ण कार्य भएको भन्दै उनले प्रशंसा गरे।

कार्यक्रममा संस्थाका अध्यक्ष महेश श्रेष्ठले क्यान्सर जस्तो प्राणघातक रोगको उपचार सेवा सुलभ बनाउन सरकारसँग माग गरे। संस्था क्यान्सर रोग विरुद्ध सचेतना फैलाउने र उपचारको क्षेत्रमा ४२ वर्षदेखि निरन्तर लागिरहेको बताउँदै अध्यक्ष श्रेष्ठले स्तरीय सेवा विस्तारमा भने अझै धेरै काम गर्न बाँकि रहेको बताए। उनले सरकारले उपचरात्मक पाटोमा ध्यान दिएर जनचेतना फैलाउने पाटोमा भने सामाजिक संस्थाहरुको साथ लिएर अगाडी बढ्नु पर्ने सुझाव दिए।

संस्थाका महासचिव दिपेन्द्र वान्तवाले हाल देशका ४८ जिल्ला शाखाहरुमा रहेका १५ हजार भन्दा बढी स्वयंसेवकले क्यान्सर रोगबारे सचेतना अभियानमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउँदै आगामी दिनमा देशभर स्वयम्सेवक मार्फत जनचेना अभियान सञ्चानल गर्ने तयारी रहेको बताए।
नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले क्यान्सरको क्षेत्रमा संस्थाले गरेको योगदानको प्रसंसा गर्दै आगामी दिनमा पनि संस्थासँग सहकार्य गरेर अघि बढ्ने बताए।

कार्यक्रममा संस्थाले नेपाल वायुसेवा निगम र यतिकेम प्रालिलाई विशेष सम्मान गरेको थियो। त्यस्तै उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत नौ जना क्यान्सर विशेषज्ञहरुलाई पनि सम्मान गरिएको थियो। यस्तै क्यान्सर सम्बन्धि रोग उपचारका विज्ञ नौ जना चिकित्सकहरुलाइ पनि सो कार्यक्रममा सम्मान गरिएको थियो। 

कार्यक्रममा डा. महेश खकुरेल, डा. प्रकाशराज न्यौपाने, डा. प्रदिप वैद्य, डा. उज्वलराज चालिसे, प्रभुराम वैद्य लगायतले संस्थाको कामको प्रशंसा गर्दै शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा विशेषज्ञ चिकित्सकहरु, विद्यालयका विद्यार्थीहरु, पत्रकारहरु र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको कार्यक्रममा सहभागिता थियो। यसका साथै संस्थाको ४२औँ वार्षिकोत्सवको अवसरमा देशभरका जिल्ला शाखाहरुमा विभिन्न कार्यक्रम आयोजना गरी मनाएको छ।