विषादीको असर दीर्घकालीन, झोल मलकाे प्रयोग किसान र उपभोक्ता दुबैलाई हितकारी

7.9k
Shares

नवलपरासी।

एउटा किसानकाे जिद्दी स्वभाव, उ स्वयंलाई समेत कति हानिकारक छ भन्ने कुरा हुप्सेकाेटमा मञ्चित एक नाटकमा देखाइयो ।

गाउँका अधिकांश काक्राे तथा तरकारी खेती गर्ने किसान रहेको वडा नम्बर १ जुगेपानीमा तिनै किसान,जनप्रतिनिधि र सराेकार समूहलाई कृषि प्राविधिक तथा पालिका कृषि शाखाका कर्मचारीले कृषिजन्य उत्पादनमा विषादी न्यूनीकरण बारे नाटकीय ढङ्गले ज्ञान बाँडेका थिए ।

नाटकमा परम्परागत रूपमा खेतीपाती गर्दै आएका किसानले कृषि प्राविधिक,एग्राेभेट संचालक तथा घर परिवारकै सदस्यले दिएको विषादीको मात्रा,सुरक्षात्मक विधि जस्ता सुझाव नसुनी खेतीबालीमा जथाभाबी ओषधि हाल्दा बिरामी परेको देखाइएको थियो ।

किसानले विषादी प्रयोगका बारेमा निर्दिष्ट सावधानी न अपनाउदा, यसकाे असरले कालान्तरमा आँखा पोल्ने, शरीर गल्ने, निद्रा नलाग्ने जस्ता लक्षण सहित घातक तथा दीर्घ राेगकाे सिकार बनाउने विज्ञहरू बताउँछन् ।

नाटकमा खेतीबालीमा लाग्ने किरा मार्न हाम्रा गाउँ घर र वन जंगलमा पाईने निम,असुराे,तितेपाती लगायतका वनस्पति,गाैमुत्र आदिबाट तयार हुने झोल मल प्रयोग गर्दा किसानकाे स्वास्थ्य तथा बालीसहित उत्पादित बस्तु पनि सुरक्षित हुने बताइएको थियो।

कृषि ज्ञान केन्द्र नवलपरासी पूर्वका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार झोल मलकाे उचित मात्रामा हुने प्रयाेगले बाली बिरूवामा लाग्ने किरा नियन्त्रण हुनका साथै आवश्यक मल समेेत परिपूर्ति हुने गर्दछ ।

पूर्वी नवलपरासीकाे हुप्सेकाेट गाउँ पालिकाकाे मैदानी तथा पहाडी भागका अधिकांश वडाहरू कृषि तथा पशुपालनका लागि जिल्लामै प्रसिद्ध रहि आएको छ ।

यहाँकाे गिरूबारी क्षेत्र तरकारी तथा आलु खेतीमा कहलिएकाे छ भने जुगेपानीकाे सिङ्गै वडा काक्राे तथा तरकारी उत्पादनमा अब्बल मानिन्छ ।

हुप्सेकाेट गाउँ पालिका कृषि शाखाका एक प्राबिधिकका अनुसार जुगेपानी क्षेत्रको करिब २ सय हेक्टर जमिनमा व्यावसायिक काक्राे तथा तरकारी खेती हुँदै आएको छ ।

सोही अवसरमा यहाँको कृषि जन्य उत्पादन र किसानकाे कृषिकर्म प्रतिकाे लगावलाई हेरेर निर्वाहमुखी किसानलाई उत्पादनसंग जाेडेर व्यावसायिक बनाउँदै लैजाने नीति पालिकाले लिएको अध्यक्ष लक्ष्मी देवी पाण्डले बताइन ।

पाण्डेका अनुसार हुप्सेकाेट गाउँ पालिकाले कृषिमा आवश्यक स्राेत साधन जुटाउदै यहाँका व्यावसायिक किसानलाई स्थापित किसान बनाई, उनीह द्वारा उत्पादित तरकारी तथा काक्रो लगायतका फलफूल साेझै खान सकिने पूर्ण अर्ग्यानिक बनाउँदै लगिने छ ।

सचेतना कार्यक्रम कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले खेत बारीमा विषादी तथा मलकाे प्रयोगका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।