सांस्कृतिक नगरी काठमाडौंको विभिन्न जात्रापर्वमध्ये सबैभन्दा बढी महत्त्वपूर्ण जात्रा हो, येँयाः अर्थात् काठमाडौंको जात्रा । केही वर्षयता इन्द्रजात्रामा युवा वर्गको सक्रियता बढ्दै गएको पाइएको छ। उनीहरु इन्द्रजात्रामा रमाउने मात्र नभई व्यवस्थापनमा पनि सक्रिय छन् ।
यस पर्वलाई येँयाः, ञन्याः आदि नामबाट पनि चिनिन्छ । इन्द्रजात्रा भनेकोे खासमा येँयाः पुन्हिको एउटा अंश मात्र हो। संस्कृतिविद्हरुका अनसनेपाल भाषामा ‘ये“ भनेको काठमाडौं हो।‘या’ भनेको उत्सव र पुन्ही’ भनेको पूर्णिमा। पूर्णिमामा काठमाडौंमा हुने उत्सव हो। कसै कसैले यसलाई आकाश भैरवको जन्मदिनका रूपमा पनि मनाउँछन् । इन्द्रजात्रा भनेर जति हामी देख्छौं वा बुझ्छौं, त्यो यो उत्सवको केही अंश मात्र हो । यस पर्वको दौरान विभिन्न ठाउँमा विभिन्न सांस्कृतिक नाच प्रदर्शन गरिन्छ। एक सातासम्म मनाइने यस पर्व नेपाल संवत् अनुसार ञंलाथ्व द्वादशीदेखि यंलागाः तृतीया-चौथी सम्म मनाइने गरिन्छ ।
यही संस्कृति जर्गेनामा आजभोलि युवाहरु उपस्थिति खचाखच रहने गर्दछ । इन्द्रजात्राको रथयात्राको अवधिभर करिब ३ सय भन्दा बढी युवाहरु परिचालन हुने गरेका छन् ।
हनुमानढोका दरबार परिसरमा शनिवार बिहान ८ बजेर २६ मिनेट जाँदाको शुभ साईतमा करिब ३३ फिट अग्लो यःसिद्यः(ईन्द्रध्वजोत्थान) ठड्याइपछि इन्द्रजात्रा शुरु भएको छ। यःसि द्य ठड्याएपछि इन्द्रजात्रामा प्रदर्शन गरिने मजिपाः लाखे, हल्चोकको आकाश भैरव, किलागलको पुलुकिसि, देवी नाच, महाकाली नाच, आकाश भैरव, समयबजी सजाएर राख्ने लगायतका परम्परागत सांस्कृतिक मूर्ति, नाच लगायतका धार्मिक गतिविधि हुने गर्दछन्। ती हरेक गतिविधिमा सहयोगीदेखि लिएर रमाउने, नाच्ने र बाजा बजाउनेमा युवा वर्गको उल्लेख्य हिस्सा रहेको छ । मानौं जात्रामा युवा वर्गको गज्जबको आकर्षण रहेको छ।
इन्द्रजात्राको महत्व, आकर्षकको रुपमा रहेको जीवितदेवी श्री कुमारी, जीवितदेवहरु श्री गणेश र श्री भैरवको रथयात्राको पहिलो दिन क्वःनेयाः (काठमाडौंको भित्री शहरको तल्लो भाग) मा आज मंगलबार सञ्चालन हुने गर्दछ। रथ यात्रा सम्पन्न भएपश्चात् राति वर्षभरि बितेकाहरूको सम्झनामा रथ यात्रा भएकै बाटो हुँदै ‘ दागी’ र त्यसपछि ‘ बौंमतः’ ल्याउने परम्परा रहेको छ। तिनको व्यवस्थापन र सफलतापूर्वक सम्पन्न गर्न युवाहरुको भरथेग रहेको छ ।
इन्द्रजात्राको मुख्य आकर्षण भाद्र शुक्ल चतुर्दशी अर्थात् मंगलबार प्रारम्भ हुने कुमारी रथयात्रा हो । जीवित देवीका रूपमा रहेकी कुमारीलाई रथमा राखेर अन्य दुई रथमा गणेश र भैरवलाई अगाडि लगाई काठमाडौं परिक्रमा गराइन्छ। पहिलो दिन मरुटोलको दक्षिणी भागमा पर्ने क्वने (तल्लो टोल) र असोज ३ गते दिन उत्तरी क्षेत्रको थःने (माथिल्लो टोल) परिक्रमा हुन्छ। अन्तिम दिन अर्थात् असोज ५ गते शनिवार नानिचाया’ भनेर मध्यभागको इन्द्रचोक, किलागलतिर घुमाइन्छ।
इन्द्रजात्रामा युवाहरु जात्रामा रमाउने, नाच्ने मात्र सीमित छैनन् । जात्रा व्यवस्थापनमा उल्लेख्य हिस्सा युवावर्गकै रहेको छ ।
प्रतिक्रिया