भूगोलअनुसारको नेतृत्व आजको आवश्यकता

470
Shares

काठमाडौं नेपालको राजधानी भएको नाताले यो स्थान सतहत्तरै जिल्लाका नागरिकको आकर्षक केन्द्रस्थल भएको छ । त्यसैले विभिन्न समुदायको भाषा, कला, संस्कृति यहाँ पाइन्छ। साथै व्यापार व्यवसायलगायत शिक्षा, स्वास्थ्य, रोजगार आदिको सुविधा अन्य जिल्लाको भन्दा यहाँ बढी नै हुने गरेको छ। राजधानीमा सडक सञ्जाल, खानेपानी, सञ्चारको पहुँच राम्रो हुनुका साथै रोजगारको पनि बढी नै अवसर हुने हुन्छ। व्यापार व्यवसाय गर्न अनि राजनीतिक, प्रशासनिक कार्यका लागि यहाँ आउनेहरुको कम छैन । यस देशको बारेमा बुझ्न वा अध्ययन गर्न अथवा भ्रमण अवलोकनका लागि राष्ट्रिय, अन्तर्राष्ट्रिय जगतबाट आउन हवाई सेवाको राम्रो सुविधा भएकाले पनि राजधानी काठमाडौंलाई आममानिसले फरक ढंगबाट हेर्ने र बुझ्ने गर्दछन्। देशमा ठूला–ठूला राजनीतिक परिवर्तनको लागि अगुवाइ गर्ने थलोका रुपमा पनि काठमाडौंलाई लिन सकिन्छ । २००७ सालको राणाविरोधी प्रजातान्त्रिक आन्दोलन, २०४७ सालको बहुदलीय व्यवस्थाको जनआन्दोलन, २०६२ सालको माओवादी जनयुद्ध र सात दलीय गठबन्धनको संयुक्त आन्दोलनको केन्द्र पनि राजधानी हो । नेपालबाट सदाका लागि राजसंस्था हटाएर जनताको हक–अधिकार स्थापित गर्न आन्दोलन गरी सत्ता सञ्चालन गरेको ठाउँको रुपमा पनि राजधानीलाई लिन सकिन्छ ।

विश्व सम्पदाको दृष्टिकोणबाट हेर्दा नेपालको राजधानीमा धेरै धनी छ । सांस्कृतिक, ऐतिहासिक, पुरातात्विक सम्पदा रहेको देशको रुपमा चिनाउने भगवान् बुद्धको स्वयम्भु चैत्य, पशुपतिनाथको मन्दिर, चाँगुनारायणको मन्दिर, यें वसन्तपुर दरबार स्क्वायर, यल पाटन दरबार स्क्वायर, ख्वप भक्तपुर दरबार स्क्वायर आदि काठमाडौं उपत्यकामा नै रहेका छन् । साथै यस भेगमा मनाउने जात्राहरुमा टोखाको बिस्का नखः, भक्तपुरको बिस्का नखः, पाटनको कर्नामय (रातो मच्छिन्द्रनाथ) येया पुन्हिको नासद्यः (इन्द्र) जात्रा मुख्य हुन् । विश्वको फरक संस्कृति रहेको जीवित देवी कुमारी जात्रा यहाँ हुने गरेको छ । यहाँ चौरासी व्यञ्जन खानाको परिकार बनाउने गरिन्छ, जसलाई नेवारी खाना भनिन्छ । काठमाडौं उपत्यकामा आदिमकालदेखि राज्य सञ्चालन गरी बसोबास गर्ने नेवार समुदाय हुन् । नेवारी भाषा, भेषभुषा, कला, संस्कृतिले गर्दा नै आज विश्वमा फरक पहिचान राख्न सफल भएका छौं । कला, संस्कृतिको धनी देश नेपाल भनेर यहाँकै भाषाबाट देशको नाम रहेको विभिन्न लेख–रचना र दस्ताबेजमा उल्लेख भएको पाइन्छ ।

प्रत्येक वर्ष राजधानीमा देशका उच्च तहको निकाय राष्ट्रपति, प्रधानमन्त्री सरिक भई जीवित देवी कुमारीसहितको ञया पुन्हि (इन्द्रजात्रा) मनाइन्छ । नेपाल संवत् १०७ देखि लिच्छवि राजा गुणकामदेवले इन्द्रजात्राको परम्परा चलाएको भनी वंशावलीमा उल्लेख भएको छ । त्यस्तै घोडेजात्राको रोचक कथाअनुसार तिनख्यः (टुँडिखेल) को पूर्व–दक्षिण दिशामा रहेको एउटा रुखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने डर कायमै रह्यो । त्यसैले प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाई स्थानीय बालबालिकामाथि कुनै खतरा नहोस् भनेर परापूर्वकालदेखि मान्दै आइरहेको छ ।

यता वर्षभरि दिवंगत भएकाको आत्मा शान्तिको लागि निकालिने गुंपुन्हिको दोस्रो दिन सापारु काठमाडौंका राजा प्रताप मल्लले चलाएका थिए । आफ्नो छोराको मृत्युले आक्रान्त भइरहेकी रानीलाई आफ्नो छोरा मात्र मरेको होइन, अरुका पनि परिवारमा दिवंगत व्यक्ति रहेका छन् भनी देखाउने उद्देश्यका साथ प्रताप मल्ल राजाबाट सापारु सञ्चालन गरिएको हो । यस सापारुमा देश–विदेशमा समेत यहाँको कला–संस्कृतिबारे सन्देश दिने गरिन्छ । आन्तरिक वा बाहिरी पर्यटक आकर्षित गर्ने गरी यस पर्वलाई राष्ट्रिय पर्वको रुपमा बिदा नदिई सीमित ठाउँमा मात्र बिदा दिने गरिएको छ । त्यस्तै अन्य देशमा नभएको नेपालमा मात्र रहेकी जीवित देवी कुमारीलाई परापूर्वकालदेखि मानिदै आइरहेको भन्ने कुरा कति महत्वको छ । यी आधारहरुले राजधानीको संस्कृतिको पुष्टि गर्दछन्।

एसोछेवग्याल भन्ने चीनका एक लेखकले आफ्नो वृत्तान्तमा यहाँको कुरा उल्लेख गरेका छन् । सो वृत्तान्तमा उल्लेख गरेअनुुसार लगभग ११ औं शताब्दीमा गुरु रिम्पोछेले तत्कालीन समयका ख्वप (भक्तपुर) देशका कुमारी र एकजना डाकिनीसहित तिब्बतमा तान्त्रिक गुरुसँग शास्त्रार्थ गर्न ल्हासा आएको कुरा उल्लेख गरिएको पाइन्छ। त्यस्तै लेखक ओम धौभडेलले लेख्नुभएको ‘संस्कृतिको उपज कुमारी पूजा’ भन्ने लेखमा लिच्छवि राजा आनन्ददेवको पालामा ख्वप देशको त्रिपुरा दरबारमा ज्यापु (माकःज्यु) जातिकी सुपुत्री कन्यालाई दरबारको कुमारीको रुपमा विराजमान गरी मान्दै आइरहेको उल्लेख गरिएको छ ।
कुमारी परम्परा मान्ने चलनबारे भारतबाट प्रकाशित हुने साप्ताहिक हिन्दुस्तान पत्रिका १९८६ वर्ष ९ अंक १ मा उल्लेख भएअनुसार नेपालमा कुमारी परम्परा मान्ने चलन शिवदेव राजाको पालादेखि चलेको भनी उल्लेख भएको छ। तर कुन शिवदेव राजाको पालादेखि भन्ने यकिन गरिएको छैन । किनकि शिवदेव भन्ने राजा चारजना रहेकामध्ये शिवदेव प्रथम मानदेवभन्दा चार पुस्ताअगाडि, शिवदेव द्वितीय विक्रम संवत् ६०२ देखि ६३९ सम्म, शिवदेव तृतीय विक्रम संवत् ७२८ देखि ७६१ सम्म र शिवदेव चौथोले विक्रम संवत् ११५९ देखि ११६९ सम्म राजा भई आफ्नो कार्यकाल चलाएको देखिन्छ।

त्यस्तै लेखक ओम धौभडेलले लेख्नुभएको ‘नेपालमा कुमारी पूजाको प्रचलन’ र ‘द कल्टअफ कुमारी’ भन्ने किताबको पृष्ठ नं. ३ मा लेखक मिछेल अलेनले कुमारी पूजाको चलन राजा अनन्त मल्ल १३ औं शताब्दीमा चलाएको भनी उल्लेख गरिएको पाइन्छ। यतिको महत्व रहेको राजा जयप्रकाश मल्लको पालादेखि कुमारी रथ बनाई जात्रा गर्ने कुमारी परम्परालाई जोगाइराख्न २०६४ सालमा सर्वोच्च अदालतमा मुद्दा खेप्नुपर्‍यो। तत्कालीन समयका प्रधानमन्त्री बाबुराम भट्टराईका पालामा वसन्तपुरमा हुने इन्द्रजात्रा व्यवस्थापनको लागि राज्यको तर्फबाट दिने सेवा–सुविधा रोक्ने मन्त्रिमण्डलको निर्णय भयो। उक्त निर्णय बदर गराउन आन्दोलन नै गर्नुपरेको घटना सेलाउन नपाउँदै धार्मिक, सांस्कृतिक, कलाकृति, मठमन्दिर, फले, पाटी, पौवा, बाटोघाटो, पुल आदिसँग सम्बन्धित गुठी विधेयक २०७४/७५ सालमा तत्कालीन केपी शर्मा ओली सरकारले संसद्मा दर्ता गराएपछि यहाँको जनसमुदायको आक्रोशको सीमा नै रहेन । जताततै आन्दोलन भयो। सरकारले सो विधेयक नै खारेज गर्नुपर्‍यो।

यस्ता घटना हुनुपछाडिको मूल कारण नै यहाँको समुदायमा राजनीतिक चेतनाको कमी हो भन्नेमा द्विविधा नहोला । देशमा प्रजातन्त्र, बहुदलीय व्यवस्था हुँदै हाल गणतन्त्र आएको छ। तर राजनीतिको नाममा भूगोलअनुसारको नेतृत्व चयन गर्नुको सट्टा अन्य व्यक्तिहरु पार्टीको जिल्ला संगठनदेखि केन्द्रसम्म अनि सांसददेखि मन्त्रीसम्म हुन पुगेको देखिन्छ । संस्कृति संरक्षण, विकास निर्माण, नीति निर्माण गर्ने निकायमा भूगोलअनुसारको नेतृत्व नहुँदाको पीडा अहिलेसम्म हामीले भोगिरहनुपरेको अवस्था छ । अब भने बेलैमा सचेत हुन जरुरी भइसकेको छ। साथै देशको राजधानी भएकाले पनि राजनीतिक प्रतिनिधित्वमा होस् वा प्रशासनिक कार्यमा, अन्य स्थानबाट भन्दा बढी संख्यामा प्रतिनिधित्व राजधानीवासीको हुनु जरुरी छ। अनि मात्र राजधानीको मर्म कायम हुने गरी शोभा बचाइराख्न मद्दत मिल्नेमा दुईमत नहोला।