सहकारी संस्था : विरोधीलाई तर्साउने हतियार कि समृद्धिको अभियान ?

23.31k
Shares



आजको दिनमा सहकारीको नाम लिनासाथ रास्वपाका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामेछानेको नाम नै जोडतोडले लिने गरिन्छ । मानौं सहकारी भनेकै रवि लामिछाने हो भन्ने भाष्य स्थापना गर्न खोजिएको छ । मुलुकभरिको तथ्यांक हेर्ने हो भने सयौं सहकारी संस्थाहरु संकटग्रस्त छन्, हजारौं बचतकर्ताहरुको बचत जोखिममा परेको छ तर पनि यी सम्पूर्ण घटनाको कारक मात्र रवि लामिछाने मात्र हुन् झैँ गरेर संसद्देखि सडकसम्म आवाज बुलन्द पार्ने राजनीतिक प्रयासहरु भइरहेका देखिन्छन्।

सहकारीलाई संकटग्रस्त बनाउने अभियानमा प्रायः सम्पूर्ण दलका कैयौँ नेताहरुको नाम मुछिएको छ । यद्यपि यसमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई मात्र जोड्ने र सहकारीलाई नै आधार बनाएर रास्वपाको राजनीतिक भविष्य समाप्त पार्ने अभियान ठूला दलहरुले तय गरेको देखिन्छ । सहकारीको समस्या समाधान गर्ने उद्देश्यले उच्चस्तरीय संसदीय छानबिन समितिसमेत गठन भई उसले आफ्नो अध्ययन प्रतिवेदन तयार पारेर बुझाउन अन्तिम अवस्थामा आइपुगेको छ।

यो उच्चस्तरीय समितिमा पनि समग्र सहकारीको कुरा उठाइए पनि रवि लामिछानेको राजनीतिक भविष्य समाप्त पार्ने गरी कसरी बुँदाहरुको फुर्को थप्ने भन्नेमा नै विशेष चासो रहेको जस्तो देखिन्छ । सहकारीको नामलाई वास्तवमा आफ्ना विरोधीहरुलाई कसरी थान्को लगाउन सकिन्छ भन्ने हतियारको रुपमा प्रयोग गर्ने वर्तमान राजनीतिक शस्त्रले वास्तवमा सहकारीको बेथिति समाधान होला भन्ने आधारहरु देखिएका छैनन् । पूर्वाग्रहले समस्या समाधान हुँदैन, स्वतन्त्र र निष्पक्ष छानबिनले मात्र समस्या समाधान गर्ने बाटो भेटिन्छ । यो कुराको हेक्का अवश्य सबैमा छ होला ।

राज्यले अर्थतन्त्रको मेरुदण्डको रुपमा स्वीकार गरेको सहकारी अभियान आजभोलि आलोचित बनेको छ, सशंकित बनेको छ, सदस्यको शत्रुझैँ बनेको छ । के साँच्चै सहकारीको चरित्र यस्तै हुनुपर्ने हो त ? के सहकारी आफैँ अपवित्र हो कि अपवित्र बनाउने खेलको सिकार बन्दै गरेको हो ? त्यसको सूक्ष्म अध्ययन पनि हुनु आवश्यक छ । यद्यपि सहकारीलाई बदनाम गराउन कैयौँ सहकारीकर्मीहरु आफैँ लागिपरेका छन् । वास्तवमा ती सहकारीकर्मी नभई ब्वाँसा सहकारीकर्मीहरु हुन्, जसले सहकारीकर्मीको खोलमात्र ओढिरहेका छन् । अर्कोतर्फ सहकारीलाई नेताहरुले आफ्नो राजनीति गर्ने थलो बनाउने प्रयास गर्नाले पनि यस्ता अवस्था सृजना भएका हुन्, जसलाई इमानदार नेताहरुले समयमा नै हस्तक्षेप गर्नु आवश्यक छ, अन्यथा नेपालको सहकारी अभियानमा अझै ठूलो भुइँचालो आउन सक्ने सम्भावना देखिएको छ ।

आजभोलि समाजमा आर्थिक अराजकता अति बढिरहेको छ । बैंक, वित्तीय संस्था, फाइनान्स वा सहकारीबाट कर्जा लिने र लिएको कर्जा तिर्नु नपरे हुन्थ्यो भन्ने प्रवृत्ति बढ्दै गएको छ । यसको लागि जिम्मेवार व्यक्तिहरुले नै दुरुत्साहन गरिरहेका छन् । केही वर्षअघि विश्वमा फैलिएको कोभिड महामारीको कारण अधिकांश व्यक्तिको आर्थिक अवस्था ज्यादै डामाडोल बनेको थियो । व्यक्तिका पेसा, व्यवसाय, उद्योगहरु प्रायः बन्दको अवस्थामा पुगेका थिए । त्यसको कारण साना वा ठूला ऋण लिएका ऋणीहरुलाई आफूले बुझाउनुपर्ने सावाँ तथा ब्याज बुझाउन कठिनाइ परिरहेको थियो । आज स्थिति क्रमशः अनुकूल हुँदै गएको छ, तर पनि ऋण र ब्याजको दायित्व पूरा गर्न व्यक्ति वा व्यवसायीहरुलाई गाह्रै भइरहेको छ । कति ऋणीहरु आज पनि साँच्चै कठिनाइमा छन भने केहीले कृत्रिम कठिनाइ सिर्जना गरिरहेका छन् ।

अस्थिर सरकारको कारण सत्ताको लागि आर्थिक पक्षलाई राजनीति बनाएर केहीले यो कृत्रिम खेललाई बढावा दिने कार्य पनि गरे भने कैयौँ व्यक्तिले आज बैंक वा वित्तीय संस्थाबाट लिएको ऋण तिर्नुपर्दैन भन्ने भ्रममा पारेर ऋणीहरुलाई सावाँ–ब्याज तिर्दैनौँ भन्ने अभियानमा पनि लगाइरहेका छन् । यो अभियानको कारण कैयौँ इमानदार मानिसहरु पनि कतै यो अभियानमा लागियो भने भोलि सावाँ–ब्याज छुट पो पाइने हो कि भनेर वित्तीय दायित्वबाट पर भागिरहेका छन् । यसो गर्न र गराउनमा केही राजनीतिक दलहरुको स्वार्थ पनि गाँसिएको देखिन्छ । ऋण तिर्दिन भनेर राज्यलाई ठाडै चुनौती दिएर हिँड्ने व्यक्ति स्वचालित हतियारसहित सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्दछन् । विडम्बना, त्यस्ता व्यक्तिलाई सरकार कानुनी नियन्त्रणमा लिने हिम्मत पनि गर्दैन भने हाम्रो समाज कतिसम्म आर्थिक अराजकतामा गाँजिएको छ भन्ने कुरा स्वतः स्पष्ट भइरहेको छ।


यो दुश्चर्कको पहिलो सिकारमा नेपालको सहकारी आन्दोलन परिरहेको छ । केही सहकारीका सञ्चालकहरुले बदनीयत राखेर कार्य अवश्य गरेका होलान् तर अधिकांश सहकारीहरु आज पनि सहकारीको मूल्य, मान्यता र आदर्शअनुसार नै चलिरहेका छन्। ती सहकारीका मूल्य–मान्यतालाई आत्मसात् गरी अघि बढेका सहकारीहरु पनि आज समाजको अविश्वास र राज्यको अक्षमताको सिकार भैरहेका छन् । एउटा सञ्चालकले सहकारीको रकम अपचलन गरेर सयौं कित्ता जग्गा किनिरहेको हुन्छ, सयौं गाडी खरिद गरिरहेको हुन्छ, करोडौं करोड रकम विदेशमा पु¥याइरहेको हुन्छ । त्यसको तुलना इमानदार सञ्चालकहरुसँग गरिनु न्यायोचित हुँदैन । कैयौँ सञ्चालकहरुले सहकारीको रकम अपचलन गरेर घरजग्गा कारोबारमा लगाइरहेको हुन्छ, आफ्नो लागि आलिसान महल खडा गरिरहेको हुन्छ, आफ्ना र आफन्तलाई पोषिरहेको हुन्छ र सहकारीको रकम फिर्ता गर्न आनाकानी गरिरहेको हुन्छ । त्यस्ता सञ्चालक र नीति एवं विधिमा चल्ने संस्थाहरुलाई एउटै तराजुमा राखेर जोख्नु उपयुक्त हुँदैन । तर यसो गराउने प्रयास भइरहेको छ ।

राज्यले प्रत्येक ऋणीलाई ऋण लिएपछि सावाँ–ब्याज तिर्ने दायित्व उसैको हुन्छ भनेर बुझाउन सकिरहेको छैन । कर्जा तिर्दैनौं भनेर खुल्ला आन्दोलन गरिरहेका अराजकहरुलाई कानुनको दायरामा ल्याएर अन्य ऋणीहरुलाई मर्यादाको पाठ सिकाउन सकिरहेको छैन । राज्यमा बढेको अराजकताको कारण ऋणीहरुले ऋण तिर्न आनाकानी गरिरहेका छन् तर सहकारीले पैसा खायो, अपचलन ग¥यो भनेर अनर्गल प्रचार गरिरहेको तथ्यलाई सही साबित गराउँदै संसद्लाई समेत यस्तै विषयमा प्रवेश गराएर दलहरुले आफ्नो राजनीतिक अस्तित्व देखाउने प्रयास गरिरहेका छन् । आज सहकारीको बदनाम नगरी, सहकारी आन्दोलनलाई असफल बनाउने प्रयास नगरी भाषणसमेत गर्न नसक्ने अवस्थामा पुगेका छन् हाम्रा नेताहरु । एउटा व्यक्तिको राजनीतिक चरित्र हत्या गराउने नाउँमा समग्र सहकारी अभियानलाई असफल बनाउने प्रयास गरिरहेका छन् स्वयं जिम्मेवार पक्ष, यो विडम्बना हो ।

हामीले पहिलो चरणमा नै सहकारीउपर बढेको यो अफवाहलाई मेटाउन सकेनौँ भने दोस्रो चरणमा मुलुकका फाइनान्सहरु, तेस्रो चरणमा अन्य वित्तीय संस्थाहरु हुँदै बैंकहरुमाथि समेत चौतर्फी आक्रमण हुनेछ । आर्थिक अराजकताको सिकार जब बैंकसमेत हुन पुग्छ तब राज्यले चाहेर पनि परिस्थितिलाई नियन्त्रणमा लिन सक्नेछैन । त्यो बेला राज्य नै असफल घोषण हुनेछ । राज्य नै असफल भयो भने कसले कसको लागि राजनीति गर्ने हो ? त्यसपछि त मुलुकको राजनीतिक दलहरुले राजनीति गर्न सक्ने क्षमतासमेत गुमाई नेपालको सार्वभौमसत्तासमेत समाप्त हुन सक्ने सम्भावना बढ्नेछ । तसर्थ आर्थिक अराजकताको जरोलाई सबैले मिलेर समाधान गर्नेतर्फ अघि बढौँ ।

आजको समयमा सहकारीलाई कमजोर बनाउने खेलहरु धेरैतर्फबाट भैरहेका छन्। सहकारीलाई कमजोर बनाउने खेल आफूलाई सहकारीकर्मी हुँ भन्ने जिम्मेवार व्यक्तिहरुबाट पनि भइरहेको छ। सहकारी अभियानको विशेष भूमिकामा रहेर काम गरेकाहरुबाट नै सहकारीको साख गिराउने कार्य गरेपछि यसको सुरक्षा कसले गर्ने ? प्रश्न खडा भएको छ। अर्कोतर्फ, आफूलाई सहकारीकर्मी भनी भ्रम छर्ने कैयौँ व्यक्तिले सहकारी सञ्चालन गरी सदस्यहरुलाई विभिन्न किसिमको प्रलोभनमा पारेर सदस्यलाई बचत गर्न लगाउने र त्यसरी बचत गरेको रकमलाई आफ्नो स्वार्थको लागि प्रयोग गर्ने अर्थात् अपचलन गर्ने गरेको घटना धेरै सुन्न र भोग्नुपरिरहेको छ।

सानो–सानो पूँजी संकलन गरेर, सानै खाले कर्जा प्रवाह गरेर पछाडि पारिएका व्यक्तिहरुको जीवनस्तर उकास्नको लागि सहकारी अभियान प्रयोग हुनुपर्नेमा सहकारीलाई घरजग्गाको कारोबार, कम्पनीहरुको शेयर खरिद कारोबार, ठूला–ठूला प्रतिष्ठानहरु खोल्नको लागि समेत प्रयोग गर्ने बैंकिङ अभ्यास भएपछि सहकारी धर्मराउनु स्वाभाविक नै हो । कैयौँ सहकारी अग्रजहरुलाई लागेको छ, सहकारीमा समाजको प्रशस्त पैसा जम्मा हुनुपर्छ अनि विकास गर्नुपर्छ । सहकारीले सदस्यहरुको विकासमा ध्यान दिने हो, प्रत्यक्षरुपमा राज्यको विकासमा होइन । व्यक्तिको विकास नै राज्यको विकास हो भन्ने सोच हुनुपर्नेमा धेरै धनराशी जम्मा गर्ने र गराउने अभियानलाई प्राथमिकतामा राखेपछि वास्तवमा नेपालको सहकारी अभियान धर्मराएको हो । ठूला–ठूला कर्जा व्यक्तिले बैंकबाट नै लिने हो भने साना–साना कर्जाको लागि सहकारीमा सहज वातावरण बनाउनुपर्दछ । तर यहाँ व्यक्तिले करोडौं करोड बचत गरेको हुन्छ, करोडौं बचत भएपछि बाध्य भएर सहकारीले करोडौं करोड एउटै व्यक्तिलाई लगानी गर्नुपर्ने हुन्छ, जुन कदापि उचित अभ्यास होइन । यस्ता कार्यले गर्दा सहकारीको मूल्य, मान्यता र सिद्धान्तअनुसार चलेका हजारौं हजार सहकारीसमेत आज विभिन्न किसिमको आक्रमणमा परिरहेको देखिन्छ ।

सहकारीहरु सञ्चालकको कारण त्यसमा पनि सीमित व्यक्तिको नितान्त व्यक्तिगत स्वार्थको कारण धराशायी बनिरहेको देखिन्छ। वास्तवमा सहकारीमा रहने कैयौँ सञ्चालकहरु स्वयंलाई सहकारीको बारेमा पर्याप्त जानकारी नै हुने गरेको छैन । शून्य सहकारी शिक्षा भएका व्यक्ति सहकारीका सञ्चालक भएपछि अप्ठेरो अवस्था त आउने नै भयो । त्यसैले सीमित व्यक्तिको लहैलहैमा लागेर सहकारीको सञ्चालक बन्ने गरेको र ती सीमित व्यक्तिले सहकारीको बचत दुरुपयोग गरिरहँदा ती सञ्चालकहरुमध्येका कैयौँ सदस्यहरुलाई कारोबारको बारेमा जानकारी नै भइरहेको हुँदैन । जो सहकारीको नेतृत्व गरिरहेको हुन्छ, ऊ कुनै न कुनै रुपमा समाजमा आफ्नो छुट्टै प्रभुत्व जमाएर बसेको हुन्छ । उसको प्रभुत्वलाई सबैले विश्वास गरिरहेका हुन्छन् । यस्ता कार्यले गर्दा सहकारीलाई बदनाम गराउन मलजल पुगिरहेको हुन्छ । यसो भन्दैमा सम्पूर्ण सहकारीको अवस्था यस्तै हुन्छ भन्ने होइन, कैयौँ सहकारीहरुमा नियमित सहकारी शिक्षा तथा तालिमहरु प्रदान गरेर सम्पूर्ण समिति, उपसमितिका पदाधिकारीलाई सक्षम बनाइरहेका हुन्छन् भने आफ्ना सदस्यहरुलाई पनि सहकारीप्रति चनाखो बन्नको लागि नियमित सहकारी शिक्षाहरु प्रदान गरिरहेका हुन्छन् ।

राज्यले प्रत्येक ऋणीलाई ऋण लिएपछि सावाँ–ब्याज तिर्ने दायित्व उसैको हुन्छ भनेर बुझाउन सकिरहेको छैन । कर्जा तिर्दैनौं भनेर खुल्ला आन्दोलन गरिरहेका अराजकहरुलाई कानुनको दायरामा ल्याएर अन्य ऋणीहरुलाई मर्यादाको पाठ सिकाउन सकिरहेको छैन । राज्यमा बढेको अराजकताको कारण ऋणीहरुले ऋण तिर्न आनाकानी गरिरहेका छन् तर सहकारीले पैसा खायो, अपचलन गर्‍यो भनेर अनर्गल प्रचार गरिरहेको तथ्यलाई सही साबित गराउँदै संसद्लाई समेत यस्तै विषयमा प्रवेश गराएर दलहरुले आफ्नो राजनीतिक अस्तित्व देखाउने प्रयास गरिरहेका छन् ।

सहकारीमा सदस्य बनेर व्यक्तिले आफ्नो जुनसुकै समस्या समाधान गर्नको लागि संस्थामा कारोबार गरिरहेको हुन्छ । संस्थाले आफ्नो सदस्यको प्रत्येक समस्या समाधान गर्नको लागि सक्दो भूमिका निर्वाह गरिरहेको हुन्छ । बैंकसँग कारोबार गर्नको लागि विभिन्न झमेला सामना गर्नुपर्ने भएकोले सदस्यहरुले आफ्नो सम्झेर सहकारीमा नै कारोबार गर्न चाहन्छन् भने सहकारीले पनि सदस्यहरुलाई खुल्ला हृदयले सहयोग र विश्वास गरिरहेको हुन्छ, तर त्यो हुलमा केही सदस्यहरुले सहकारीको विश्वासलाई कमजोरी ठानिदिन्छन् र इमानदारितालाई तिलाञ्जलि दिने गर्दछन् । आफूले लिएको कर्जाको सावाँ र ब्याज नियमितरुपमा बुझाउनुपर्दछ भन्ने कर्तव्यलाई केही सदस्यहरुले बिर्सिदिन्छन् र सहकारीलाई कमजोर बनाउने प्रयास गर्दछन् । यसरी सहकारीलाई कमजोर बनाउने अभियान चलाइरहँदा तिनै व्यक्तिले सहकारीबाट लिएको ऋण नतिरे पनि हुन्छ भनेर अफवाह फैलाइरहेका पनि हुन्छन् । यस्ता घटनाले इमानदार सदस्यहरुलाई पनि नियमितरुपमा सावाँ–ब्याज नबुझाउन प्रेरित गरिरहेको हुन्छ । तसर्थ सहकारीबाट कर्जा लिएर नतिर्ने वा तिर्न नचाहने व्यक्तिहरुलाई सामाजिकरुपमा नै बहिष्कार गर्नुपर्ने हुन्छ, ताकि प्रत्येक व्यक्ति समाजप्रति जवाफदेही बन्न प्रेरित हुन् ।

सहकारीको सदस्य भएको व्यक्तिले सहकारीलाई विश्वास र माया गर्न पनि सिक्नुपर्ने हुन्छ। अफवाहको पछाडि लागेर आफू सदस्य बनेको संस्थाको अहितमा कुनै पनि कार्य गर्नुहुँदैन। आजभोलि कैयौँ संस्थामा सदस्यहरुलाई बचत फिर्ता लिनुपर्ने आवश्यकता नभए पनि हल्लाको पछाडि लागेर बचत फिर्ता लिने लहर पनि चलेको छ। संस्थामा बचत भएको रकम संस्थाले सदस्यहरुमा नै लगानी गरेको हुन्छ। लगानी गरेको रकम नउठाई सहकारीले बचतकर्ताको बचत फिर्ता गर्न सक्ने अवस्था रहँदैन। तसर्थ सदस्यले सहकारीको अवस्था विश्लेषण गरी कतिसम्म बचत गर्दा उत्तम हुन्छ भन्ने कुरा पहिले नै सोच्नुपर्ने हुन्छ। ब्याजको प्रलोभनमा आफ्नो सम्पूर्ण रकम संस्थामा बचत गर्नाले पनि समस्या आउन सक्छ। संस्थाले सदस्यहरुको बचत अभ्यासलाई अध्ययन गरेर कम्तीमा १५ प्रतिशत तरलता राखेको हुन्छ। एकैपटक धेरै सदस्यले बचत फिर्ता लिन आएमा संस्थाले भनेबमोजिम बचत फिर्ता गर्न सक्दैन। त्यो अवस्थामा थप अविश्वास पैदा हुन्छ। तसर्थ सहकारीमा सञ्चालक र सदस्यहरु सबैले समाजलाई अध्ययन गरेर कारोबार गर्नुपर्ने हुन्छ । यति मात्र ध्यान पुर्‍याउन सकियो भने पनि संस्थाले कुनै पनि अप्ठेरो अवस्थाको सामना गर्नुपर्ने अवस्था आउँदैन । तर हाम्रो अभियान भनाइ र गराइमा पूर्ण विपरीत छ । तसर्थ सहकारी समृद्धिको आधार हो कि विरोधीलाई तर्साउने हतियार हो, स्पष्ट गरिनु आवश्यक छ ।
(लेखक काफ्ले अधिवक्ता हुनुहुन्छ ।)