युवा पुस्तामा मात्रै सीमित छैन आइटी शिक्षा 

0
Shares

सूचना प्रविधि अर्थात् आइटीसँग हुर्किँदै आएका अहिलेका युवापुस्ता आफ्ना  अभिभावक पनि आईटीमैत्री भइदिऊन् भन्ने चाहना राख्छन् । आफूले जानेका कुरा आफ्ना आमाबुवा, हजुरबुबा हजुरआमालाई पनि बताउन सकियोस् र आफ्नो उपलब्धि हेरेर खुसी होऊन् र सुझाव तथा मार्गदर्शन पनि गरून् भन्ने उनीहरूको चाहना हुन्छ । यिनै कारणले आजका युवापुस्ता आफ्ना अभिभावकलाई आईटीअनुकुल बनाउन मनोरञ्जका माध्यमबाट आइटीमा बानी पार्न खोज्छन् ।

 यतिमात्र होइन १० जोड २ को पढाइ सक्नासाथ बिदेसिने फेसन तथा बाध्यात्मक परिस्थिति दुवै अवस्थामा विदेश पुगेर सबैभन्दा पहिला सूचना सम्प्रेषण गर्ने माध्यम भनेको आइटी नै हो । उनीहरू फेसबुक, ह्वाट्सअप, भाइबर, मेसेन्जर, इन्ट्राग्रामजस्ता आइटी प्लाटफर्म प्रयोग गरेर भिडियो कलमार्फत् घरपरिवारसँग जोडिन्छन् । त्यसैले आईटीअनुकूल बन्नु युवा पुस्तालाई मात्र नभई उनीहरूका अभिभावकहरूका लागि जरुरी भइसकेको छ । 

आइटी क्षेत्रमा विभिन्न प्रकारका रोजगारीका अवसर पनि उपलब्ध छन् । विश्वव्यापीरूपमा द्रुत गतिमा विकसित हुँदै गएको यस क्षेत्रमा निरन्तर नयाँ प्रविधि, उपकरण र सञ्जाल अपडेट भइरहन्छन्, जसले युवा पुस्तालाई आकर्षित गरेको छ । आधुनिक समाजमा बिस्तारै डिजिटल प्रविधितर्फ मोडिँदै गएको छ । स्मार्टफोन, इन्टरनेट, सामाजिक सञ्जाल र अनलाइन सेवाको प्रयोगले युवा पुस्तालाई आइटिको महत्त्व बुझ्नमा सजिलो बनाएको छ । आइटी क्षेत्रले व्यक्तिको सृजनात्मकता र नवप्रवर्तनलाई प्रोत्साहन दिएको छ । नयाँ सफ्टवेयर, एप्लिकेसन र वेब विकासमा काम गर्न पाउँदा युवा पुस्ताले आफ्नो सृजनात्मक क्षमताको उपयोग गर्न पाउँछन् ।

आइटी क्षेत्रमा राम्रो तलब र सुविधा प्राप्त गर्न सकिने भएकाले पनि युवा पुस्तालाई आर्थिक स्थिरता र सामाजिक मान्यता प्राप्त गर्नमा यसले मद्दत गरेको छ । आफ्नो परिवारको आर्थिक हैसियत बढाउन मात्र नभई देशकै रेमिट्यान्स बढाएर देशको अर्थतन्त्र धान्नसमेत आइटी क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्न सुरु गरिसकेको छ । त्यसैले समयसापेक्ष शिक्षा प्रणालीमा पनि आइटिको महत्वलाई ध्यानमा राख्दै युवा पुस्तालाई प्राविधिक ज्ञान र सीपहरूको शिक्षा दिनु अपरिहार्य बन्दै गएको छ ।