सर्पको टोकाइबाट बच्न र सर्पलाई बचाउन तिलोत्तममा सर्प महोत्सव आयोजना


बुटवल। 

नेपालमा जङ्गली वन्यजन्तु र अन्य जीवहरुबाट भन्दा सर्पसँग बच्न जोखिम बढ्दै गएको छ । बर्सेनि सर्पको टोकाइबाट धेरै मानिसको मृत्यु हुने गरेको पाइन्छ । वातावरण संरक्षणमा महत्त्वपूर्ण  मानिने सर्पबाट कसरी बच्ने, सर्पदंशको शिकारबाट कसरी बच्ने र टोकाइ भइहाले त्यसको उपचार कसरी गर्ने भन्ने ज्ञानको सचेतना नभएका कारण धेरै मानिसहरुको ज्यान अकालमै जाने गरेको सर्प विज्ञ कमल देवकोटा बताउँछन् । 

आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्रमा  आगामी असोज १ र २ गते आयोजना गर्न लागिएको नेपाल सर्प महोत्सवको बारेमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विज्ञ देवकोटाले नेपालमा ९० प्रजातिका सर्परहेको र त्यसमध्ये २० प्रतिशत सर्पहरु विषालु भएको बताए । सर्पको विषबाट विभिन्न औषधिहरु समेत बन्ने गरेको बताउँदै सर्पलाई मार्नुभन्दा त्यसको संरक्षणमा जोड दिए । नेपालमा सर्पका प्रजाति, मानव सर्प द्वन्द्व न्यूनीकरण, सर्पदंश व्यवस्थापन र सर्प संरक्षणको महत्त्वमा केन्द्रित रही जैविक विविधता संरक्षण सम्बन्धी विभिन्न सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका  देवकोटाले जनचेतना जगाउनका निम्ति वनबाटिकामा नेपाल सर्प महोत्सव गर्न लागिएको स्पष्ट पारे ।

पत्रकार सम्मेलनमा धरान स्थित वीपी मेमोरियल हस्पिटलले तयार गरेको एक तथ्यांकले सर्पले वार्षिक ४० हजार जनालाई टोक्ने र ३ हजारको मृत्यु हुने गरेको बताइएको थियो । महोत्सवमा सर्प र सर्पदंशको क्षेत्रमा लामो समयदेखि काम गरेका अनुभवी विज्ञहरुले महोत्सवमा सेभ द लाइभ्स, थिएटर इन एजुकेसन, सेभ स्नेक्स सेभ नेचर, मानव सर्प सह अस्तित्व, सेभ द किङ्ग लगायतका बारेमा जानकारी गराउँदै सर्पहरुको विभिन्न महत्व, पर्यावरणीय महत्त्व, चिकित्सकीय आवश्यक्ता, धार्मिक तथा सांस्कृतिक महत्त्व, सांस्कृतिक नृत्य प्रदर्शन, सर्प संग्रहालय नमूनाको प्रदर्शन, सर्प समाउने र उद्धार गर्ने तरिका, कला प्रदर्शनी र नेचर वाल्क र हर्पिंग गरिने जनाईएको छ ।

महोत्सवको आयोजना शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रले भएको छ । तिलोत्तमा नगरपालिका, डिभिजन बन कार्यालयको सहयोगमा हुने महोत्सवको सबै तयारी पूरा भएको शंकरनगर बन विहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बेलप्रसाद शर्माले जानकारी गराए ।
सर्पको टोकाइबाट आफू पनि बच्ने र सर्पलाई पनि बचाउ भन्ने उद्देश्यले महोत्सव गर्न लागिएको वनबाटिकाका उपाध्यक्ष एवं सर्प उद्धारकर्मी खिमलाल पाण्डेले बताए ।