मुकुन्द शर्मा राजोपाध्यायको जीवनी लोकार्पण


काठमाडौं ।

प्रजातन्त्रका अमर सेनानी स्वर्गीय मुकुन्द शर्मा राजोपाध्यायको जन्म जयन्तीको अवसरमा उहाँको जीवनी समेटिएको पुस्तकको लोकार्पण भएको छ ।

राजोपाध्यायको जीवनी समेटिएको पुस्तकको विमोचन प्रमुख अतिथिहरू नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, नेपाली कांग्रेसका सभासद ध्यानगोविन्द रञ्जित, महिला सांसद सपना राजभण्डारी, काठमाडौं क्षेत्र नं. ७ का सभासद गणेश पराजुलीले संयुक्त रूपमा गर्नुभयो । नेपाली कांग्रेसकी महिला नेतृ सिंहले प्रजातन्त्र सेनानीजस्ता व्यक्तित्वको पुस्तक विमोचन गर्न पाउँदा खुसी भएको बताउनुभयो । उहाँले राज्यबाट उहाँहरूजस्ता योद्धाको स्मरण गर्नुपर्ने पनि बताउनुभयो ।

कार्यक्रममा प्रजातन्त्र सेनानी संघका अध्यक्ष बालकृष्ण दाहालले पनि मन्तव्य राख्नुभयो । उहाँले निरंकुश पञ्चायती शासनविरुद्ध आन्दोलन गरेका व्यक्तिहरूलाई भ¥याङ बनाएर शीर्ष नेताहरूले शासन गरिरहेको पनि बताउनुभयो । २०१७ सालमा राजा महेन्द्रले बहुदलीय व्यवस्था समाप्त पारेर पञ्चायती व्यवस्था ल्याएपछि राजाको निरंकुश व्यवस्थाविरुद्ध आन्दोलन गर्दा राजोपाध्याय पनि पक्राउ पर्नुभएको थियो । १८ वर्षको उमेरमै जेल परेपछि उहाँको कारागारमै १० वर्ष जीवन बित्यो । यसपछि फेरि १० वर्ष भारतमा निर्वासन हुनुपरेको थियो ।

वरिष्ठ साहित्यकार हरि अधिकारीले लेख्नुभएको उक्त पुस्तकमा राजोपाध्यायले युवा अवस्थामै जेल जीवन बिताउनुपरेको र परिवारबाट तिरस्कार भएको साथै विभिन्न घटनाको उल्लेख गरिएको छ । १९९९ साल भाद्र ९ गते जन्मनुभएका राजोपाध्याय नेपाली कांग्रेसका नेता हुनुहुन्थ्यो । नेपालमा २०४६ सालमा राजा वीरेन्द्रले बहुदल पुनःस्थापना गरेपछि उहाँको कष्टकर जीवनमा केही खुसी आए पनि त्यो थोरै समय रह्यो । उहाँको निधन २०५१ सालमा ५२ वर्षको उमेरमा भएको थियो ।