लिङ्गो ठड्याएर इन्द्रजात्रा सुरु


काठमाडौं ।

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ।

हनुमान ढोका अगाडि इन्द्रध्वजासहितको लिङ्गो ठड्याएपछि यो जात्रा सुरु भएको हो। यो जात्रामा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजा अर्चनाका साथ आठ दिनसम्म मनाइन्छ।

इन्द्रध्वजाको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ। काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल र दोलखालगायत स्थानमा धूमधामका साथ इन्द्रजात्रा मनाउने प्रचलन छ।

असोज १ गते मङ्गलबार इन्द्रजात्राको मुख्य दिन हो। उक्त दिन राष्ट्रप्रमुखले गणेश, भैरव र कुमारीको दर्शन गर्ने परम्परा छ। सरकारले उक्त दिन काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ।